गृहपृष्ठ युवा नेतृत्व कि युवा विचारको नेतृत्व ?

युवा नेतृत्व कि युवा विचारको नेतृत्व ?

दुई वर्षअघि सन् २०१८ मे १० का दिन मलेसियाको सम्भावित राजनीतिक संकट छिचोल्दै चुनाव जित्दा महाथिर विन मोहम्मद सय वर्ष पुग्न आठ वर्षमात्रै बाँकी थियो । ९२ वर्षीय वृद्ध किन चुनावी मैदानमा ओर्लिए ? दुई दशकभन्दा बढी मुलुकको सत्ता हाँकेर सन् २००३ मा राजनीतिबाट सन्यास लिएका महाथिर १५ वर्षपछि के आँटले उत्रिए ? यसको अन्तर्यबारे म अनभिज्ञ छु । मूलतः म यहाँ वृद्ध नेताप्रतिको मतदाताको भरोसालाई सम्मान गरिरहेको छु । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उद्धृत उनको युवा जोश सम्झिरहेको छु‑ ‘हो ! म अझै जीवित छु ।’

मेरो देशमा पनि नयाँ दलको चर्चा भइरहन्छ । विवेकशील नेपाली, साझा पार्टी यसका पछिल्ला उदाहरण हुन् । युवा नेतृत्वको कुरा उठिरहन्छ । यतिखेर मेरो देशमा युवा नेतृत्वको चर्चा उत्कर्षमा छ । सञ्चारमाध्यमहरूले युवा नेतालाई अन्तर्वार्तामा बोलाइरहेका छन्, लेखमार्फत विचार पस्किन आह्वान गरिरहेका छन् । सञ्चारमाध्यमको समेत साथ पाउँदा युवा नेताहरू थप उत्साहित भइरहेका छन् । नागरिक पनि युवा नेताले युवा नेतृत्वको कुरा गर्दा खुब चाख दिएर सुन्छन् । कतिपय हो मा हो मिलाउँछन् त कतिपय दिशाहीन बन्छन् ।

आमनागरिकको स्व‑प्रतिनिधित्व गर्दै चर्को स्वर गर्ने युवा स्वयं युवा नेतृत्व खोजिरहेको छु कि युवा विचारको नेतृत्व खोजिरहेको छु ? भन्नेमा प्रस्ट छैन । के युवा नेताले मात्रै युवा विचारको नेतृत्व गर्न सक्छ ? के ‘६० वर्षमुनिको’ कुनै पनि व्यक्ति युवा विचारले परिपूर्ण हुन्छ ? किनकि मुलुकको विकासका लागि आमनागरिकलाई युवा नेताकै नेतृत्व चाहिएको हो कि युवा विचारको नेतृत्व चाहिएको हो भन्नेमा कुनै युवा नेताले सोचेको पाइँदैन ।

अन्य कुरा यथावत् रहेमा, फागुनमा महाधिवेशन गर्ने तयारी चलिरहँदा कांग्रेसभित्र युवा नेतृत्वको निकै चर्चा भइरहेको छ । २०७२ साल फागुन अन्तिम साता वृद्ध नेता कृष्णप्रसाद सिटौलाको प्यानलमा रहेर महामन्त्रीमा अर्का ६० पुग्न लागेका नेता शशांक कोइरालासँग पराजित भएका गगन थापा यसपटक वृद्ध नेताहरूलाई स‑सम्मान घर पठाउने तयारीमा छन् । स‑सम्मान जान मानेनन् या पठाउन सकिएन भने सभापतिमा उठ्ने र हराएर घर पठाइदिने उनको घोषणा छ । उनको तयारीमा अरु युवा नेताले साथ पनि दिइरहेका छन् । सामाजिक सञ्जालसँग बहन सिद्धहस्त गगन थापाको यसपटकको राजनीति पनि पटक‑पटक अनुहार देखिएका वृद्ध नेताहरू सभापति शेरबहादुर देउवा, २०७२ मा सभापतिमा पराजित वरिष्ठ नेता रामचन्द्र पौडेललगायत अरु धेरै नेतालक्षित छ ।

हो, यहाँनेर धेरै प्रश्न उठ्छन् । गगन थापा देउवासँग पार्टी सञ्चालन गर्नसक्ने क्षमता अब देख्दैनन् । अरु वृद्ध नेताहरूसँग पनि त्यो कुशलता छैन । देउवासँग नेतृत्व गर्न सक्ने क्षमता नभएकै कारण गएको तीनै तहको चुनावमा पार्टीले अप्रत्यासित हार व्यहोरेको हो । ‘युवा नेता आउनुपर्छ’ भन्ने मूल एजेन्डाले आफूलाई नेतृत्वमा पुर्‍याउँछ भन्ने आशा । देश नबनेको र भ्रष्टाचार बढेको चिन्ता । मैले नेतृत्व पाएँ भने देश बनाइदिन्छु भन्ने जोश । अथवा, पार्टी हाँक्ने रहर ।

वृद्ध नेताकै पछाडि लागेका भरमा आफ्नो दुनो सोझिइरहन्छ भन्ने सोच बनाएकाहरूबाहेक सबै गगन थापाको यो ‘एकल’ आन्दोलनमा सहभागी भइरहेका छन् ।

वृद्ध नेताकै पछाडि लागेका भरमा आफ्नो दुनो सोझिइरहन्छ भन्ने सोच बनाएकाहरूबाहेक सबै गगन थापाको यो ‘एकल’ आन्दोलनमा सहभागी भइरहेका छन् । यद्यपि, अहिलेसम्म ती कति छन् भन्ने स्पष्ट छैन । अर्को कुरा, उनीहरू धेरै भए पनि महाधिवेशनसम्म गगनकै भइरहन्छन् कि भोट हाल्ने बेलामा वृद्ध नेताका हुन्छन् भन्ने टुंगो छैन । यो नेपाली राजनीतिकै अनुपम उदाहरण हो । खैर, यतातिर नजाऔँ ।

नयाँ दल खोलेर मुलुक परिवर्तन गर्न चाहने रविन्द्र मिश्रहरू महाथिरले सन् २०१६ मा नयाँ दल ‘बर्साटु’ घोषणा गरेको दुई वर्षभित्रै सत्ता हात पारेको सम्झेर बसुन् । अनि गगन थापाहरू महाथिरले अवलम्बन गरेका अधिनायकवादी तर व्यावहारिक नीतिहरूले मलेसियालाई उनकै शासनकालमा एसियाकै आर्थिक शक्तिका रूपमा स्थापित गर्न सहयोग पुर्‍याएको सम्झिँदै पुनः प्रधानमन्त्रीमा नियुक्त हुँदै गर्दा बधाई दिएको स्मरण गरुन् र भनुन्, ‘राजनीतिक नेतृत्व र मुलुकको तीव्र आर्थिक विकासका लागि युवा नेताको नेतृत्व होइन, युवा विचारको नेतृत्व चाहिएको हो र त्यो युवा विचारको नेतृत्व म गर्न सक्छु ।’

गगन थापामा त्यो सामर्थ्य छ कि छैन ? फरक दल, सरकार या त वृद्ध नेताको विरोध गर्नु र उत्कृष्ट युवा विचारसहित पार्टी या देश सञ्चालन गर्न सक्नु धेरै भिन्न कुरा हुन् । छोटो समयमा सूचना प्रविधि र सञ्चार क्षेत्रमा भएको अनपेक्षित परिवर्तनका कारण नेपाल धेरै अगाडि पुगिसकेको छ । अहिलेको पिँढीले नेतृत्वसँग गर्ने आशा अप्रत्यासित ढंगले बढेका छन् । यसको अन्दाज जसले गर्न सक्दैन, त्यो सबै वृद्ध (फेज आउज) हो र यो पुस्तालाई नेतृत्व गर्न सक्ने नेता कोही छ भने त्यो युवा हो । उमेरले युवा र वृद्ध निर्धारण गर्दैन । त्यसकारण गगन थापाले वृद्ध नेताहरूलाई लल्कार्नुअघि युवा नेताको परिभाषा र चित्र कोर्नुपर्छ ।

हाम्रा केही नेताहरू वैचारिक रुपमा बलिया छन् । तर, सशक्त रुपमा प्रस्तुत हुन नसक्दा ‘कुहिराको काग’ बनेका छन्, पार्टीभित्र ‘वैचारिक नेता’को उपाधि पाएर मग्न मस्त छन् । त्योभन्दा धेरै नेतृत्वको गोटी बन्न नसक्दा राजनीतिक मूलधारबाटै बाहिरिनुपरेका उदाहरण छन् । सम्भवतः यसबारे गगन थापा परिचित छन् किनकि गएको महाधिवेसनमा कृष्णप्रसाद सिटौलाको गुटसँग अंकमाल गर्नु उनको रहरमात्रै थिएन ।

समय विगतको जस्तो छैन । विगतमा केही नेता बने, केही बनाइए । बनाइएका नेतासँग देश त धेरै परको कुरा, गाउँपालिकाको पनि विकास गर्न सक्ने क्षमता थिएन । तर नेतृत्व तहमा पुगे, पुर्‍याइयो । देशको नेतृत्व गर्न बाध्य भए, बाध्य बनाइयो । नेपाल उनीहरूको चलखेल गर्ने बलियो मैदान बनिरह्यो । अहिले आफ्नै क्षमताले नेता उदय भइरहेका छन् तर तिनीहरू नेतृत्व तहमा पुग्न सकेका छैनन् ।

विचारले प्रबल र सशक्त विचार भएका नेताहरू नेतृत्व तहमा आउने हो भने मुलुक अरु कुनै देशको गोटी बन्ने छैन । जबर्जस्त विकासको चरणमा प्रवेश गर्नेछ । गगन थापालाई आफूसँग भरोसा छ, वैचारिक छु भन्ने लाग्छ र सशक्त रुपमा प्रस्तुत हुनसक्ने आँट छ भने कसैको ‘लगौँटी’ बन्नु पर्दैन न त चर्को स्वरमा कसैको विरोध गर्नुपर्छ‑ देउवा, पौडेल कसैको पनि । भरोसा छैन भने पार्टीपंक्तिले शेरबहादुरको ठाउँमा गगनलाई पाउनुमा कुनै गर्व नगरे हुन्छ । चर्को स्वरले केही हुँदैन, गला मात्रै बस्छ । कार्यकर्ता भ्रममा पर्छन् । नेपाली कांग्रेस झनै भासिन्छ ।

अहिले देश रोइरहेको छ । नेता नभेटेरै रोएको हो । पाँच वर्षको म्यान्डेट पाएर सरकार चलाइरहेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको शैलीले देश नबन्ने निश्चितप्रायः भइसकेको छ । कांग्रेसका बूढा नेताको शैली जनताले देखिसकेका छन् । युवा नेताबाट जनताले युवा विचारको अपेक्षा गरेका छन्, युवा विचारको नेतृत्वको अभिलाषा पालेका छन् न कि ठिटो । भ्रम नपालौँ, कसैलाई भ्रममा नपारौँ ।

प्रकाशित समय १६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु