गृहपृष्ठ बुवालाई सधैँ सम्मान गरौँ

बुवालाई सधैँ सम्मान गरौँ

धेरै पढेको छु मैले, आमासम्बन्धी लेखेका लेख, कथा, रचेका कविता र गजलहरु । साहित्य सर्जकहरुले पनि कतै आमा र बाबुबीच भेदभाव गरेका त छैनन् ? नभए कवितामा आमाको ममताबारे बयान गर्दा बाबाको किन गरिँदैन ? साँच्चै आमाको च्यातिएको गुन्युबारे बोल्दा बाबाको फाटेको कमिजबारे किन बयान गरिदैँन । मेरो विचारमा आमालाई भन्दा बाबालाई ओझेल पारिएकै छ । तर मेरा लागि दुबैजना सम्मानयोग्य हुनुहुन्छ, दुबै बराबर हुनुहुन्छ ।

आज ‘बुवाको मुख’ हेर्ने दिन अर्थात् ‘फादर्स डे’ । हुर्काउने, पढाउने, बढाउने र योग्य व्यक्ति बनाउने बाबालाई सम्मानसाथ सम्झने दिन । सारा दुःख लुकाएर सन्तानको खुसीका लागि निरन्तर खट्ने बाबालाई सम्मान, इज्जत दिन कत्ति कन्जुस्याइँ नगरौँ ।

कुसे औँशीका दिन बुवाको मुख हेर्ने गरिन्छ । यो दिन बुवालाई मिठा मिठा खानेकुरा, राम्रा राम्रा कपडा दिने गरिन्छ । आफ्ना लागि बुवाले गरेका त्याग र माया अनि पूरा गरेको दायित्वलाई आज छोराछोरीले विशेष रुपमा सम्झिने गर्छन् । बुवा नभएकाहरुले सम्भव भएसम्म काठमाडौंको गोकर्ण गएर श्राद्ध र पिण्ड दिने चलन छ । त्यहाँ जान सम्भव नभएमा नजिकका मन्दिरमा गएर बुवाको सम्झनामा पण्डितलाई दान दिने गरिन्छ । यस्तै विवाहित छोरीहरु मिठा परिकारसहित बुवाको मुख हेर्न जाने गर्छन् । अविवाहित छोरीहरुले घरमै बुवालाई उपहार दिने, आशीर्वाद लिने गर्छन् ।

जीवनमा एउटा सच्चा अभिभावकको भूमिका खेल्ने, हरेक मोडमा साथ, सहयोग र अगुवाइ गर्ने बुवा नै हुन्छन् । शब्दमै कति गहिरो नाता छ, कति मिठो आभाष गराउँछ, जब हामी बुवा शब्द उच्चारण गर्छौं । बुवामा न कुनै खोट भेट्टाउँछौँ न त कुनै स्वार्थ । यस्तो अभिभावको सम्मान गर्नु हरेक सन्तानको कर्तव्य हो । तर उहाँहरुको सम्मान गर्न यही एक दिन भने पर्याप्त हुँदैन ।

मलाई लाग्छ, छोराछोरीले आफ्ना अभिभावकलाई एक दिनमात्र सम्मान र इज्जत गरेर उहाँहरुले हाम्रो जीवनमा लगाएको गुन तिर्न सकिँदैन । जब हामी आमाको पेटमा हुन्छौँ, त्यतिबेलादेखि नै एउटा असल पिताले आफ्नो जन्मिन लागेको सन्तानको खुसीका लागि सोच्न थालिसकेको हुन्छ । त्यससम्बन्धी कदम चाल्न थालिसकेको हुन्छ । सन्तान प्राप्ति हुँदा कुन चाहिँ बाबु खुसी हुँदैन होला ?

परिवारको खुसीका लागि बुवा दिनरात परिश्रम गर्छन्, पारिवारिक हैसियत कमजोर भए पनि छोराछोरीको भविष्य राम्रै होस् भनेर राम्रा स्कुलमा हालिदिन्छन् । अरुका अगाडि आफ्ना सन्तान नहेपिउन् भनेर नसकी नसकी राम्रै खुवाइरहेका हुन्छन्, बरु आफ्नो शिरमा फाटेको टोपी, ज्यानमा टालेको कपडा होस् तर सन्तानको शरीरमा नयाँ कपडा जुटाइदिन्छन् बुवा ।

सन्तानले जे माग्यो, कहिल्यै नाइँ नभन्ने नै आमाबुवा हुन् । जसले कहिल्यै सन्तानको कुभलो चाहेको हुँदैन । छोराछोरी राम्रोसँग पढुन्, ज्ञानी बनुन्, भविष्यमा आफ्नो शिर झुकाउनुपर्ने नराम्रो काम नगरुन् भन्ने चाहना प्रत्येक अभिभावकको हुन्छ ।

समाजमा देख्ने गर्छु, जब छोराछोरी आफैँ केही गर्न सक्षम हुन्छन् तब अभिभावकलाई बिर्सिन्छन्, बेवास्ता गर्छन् । छोराछोरी भए पनि निःसन्तान जस्तो भएर कयौँ अभिभावक बस्नुपरेको छ । बाल्यकालदेखि सिकाउँदै योग्य व्यक्ति बन्नेसम्म योगदान दिने अभिभावकलाई सन्तानले पराइ जस्तो व्यवहार देखाउँछन् । सानो उमेरमा सन्तानबिना बाँच्न नसक्ने अभिभावकलाई ठूलो भएपछि सन्तानले नै एक्लै जिउन बाध्य पारिदिन्छन् । काम, व्यस्तता र समय अभाव देखाउँदै शिक्षित व्यक्तिले पनि आमाबुवालाई आफूबाट अलग राख्ने गर्छन् ।

जब छोराछोरी आफैँ केही गर्न सक्षम हुन्छन् तब अभिभावकलाई बिर्सिन्छन्, बेवास्ता गर्छन् । छोराछोरी भए पनि निःसन्तान जस्तो भएर कयौँ अभिभावक बस्नुपरेको छ ।

नेपालीमा एउटा उखान छ, ‘आमाबुवाको माया छोराछोरीमाथि छोराछोरीको माया ढुंगामुढामाथि’ । साँच्चै हो, पसिना बगाएर बुवाले नै जोडेको घरमा बुवा नै अटाउँदैनन् । सम्पत्तिको त कुरा छोडौँ, त्यही सम्पत्तिका लागि लड्न र मार्न पछि पर्र्दैनन् ।

काम गर्न सक्ने अवस्थासम्म त सन्तानले नहेरे पनि ठिकै होला तर वृद्ध भइसकेपछि हेर्नुपर्ने दायित्व सन्तानकै हो । तर, हाम्रो समाज ठिक विपरीत छ । जब अभिभावक शिथिल भएर काम गर्न नसक्ने अवस्थामा पुग्छन्, तब सन्तानका लागि बाबुआमा बोझ बन्ने गर्छन् । कयौँ बाबुआमाले रुँदै घर छाड्नुपरेका थुप्रै उदाहरण पाउन सकिन्छ । धेरैका आमाबुवा वृद्धाश्रममा सन्तानलाई सम्झिँदै बररर आँसु खसालिरहेका हुन्छन् । भित्रसम्म गढिसकेका आँखाबाट झरेका आँसुले ती छोराछोरीलाई किन पोल्दैन ? मुजैमुजा भएका निधार, भित्र पसेका गाला, शरीरभरि देखिने नशा अनि लगलग कामिरहेको शरीरले पनि सन्तानको मन पग्लिँदैन । ती पनि भोलि सन्तानका बाबुआमा बन्नेछन् । हाम्रा छोराछोरीले कस्तो संस्कार सिक्नेछन्, जब हामी नै आफ्ना आमाबुवालाई यस्तो व्यवहार गर्छौं ? अनि वर्षमा एकदिन मनाइने बुवा दिवसमा चाहिँ सामाजिक सञ्जाल रंग्याइन्छन् । वर्षको एकदिन मनाइने बुवा दिवस देखावटी नबनोस् । संस्कृति या परम्पराभन्दा पनि फेसन जस्तो नबनोस् ।

हामी धेरै दिवसहरु मनाउँछौँ । आमाको मुख हेर्ने दिन, बुवाको मुख हेर्ने दिन, नारी दिवस, जन्म दिवस, शिक्षा दिवस यस्तै यस्तै । यस्ता दिवसहरुको आफ्नै विशेषता र महत्व छ । यो सत्य हो, यस्ता अवसरहरुले कति सम्बन्धहरु अझ प्रगाढ हुने गर्छन् । अझ भनौँ, यस्ता दिवसहरुले आत्मीयता बढाउन मद्दत गरिरहेका हुन्छन् । तर, यत्ति हो, अरु बेला हालखबरसम्म नसोध्ने अनि सामाजिक सञ्जालमा तस्बिरहरु छरपष्ट पार्नुको भने कुनै अर्थ हुँदैन ।

सबै छोराछोरीले आफ्ना अभिभावकलाई नराम्रो गरेका छन्, रुवाएका छन्, कर्तव्य भुलेका छन् भन्ने पनि होइन । समाजमा यस्ता सन्तान पनि छन् जसले अभिभावकलाई ईश्वरसमान पुज्छन् । उहाँहरुकै आज्ञाअनुसार चल्छन् । ती सन्तानले आफ्नो बुवाई वर्षमा एकदिन होइन, निरन्तर माया दिएका हुन्छन्, हेरविचार गरेका हुन्छन्, बिरामी हुँदा, दुख पर्दा सन्तानको कर्तव्य निभाएका हुन्छन् । उनीहरुले आफू सफल हुनुको पछाडि अभिभावककै श्रेय ठान्छन् ।

बुवालाई मान, इज्जत दिन केहीले छेकेको हुँदैन । धर्म, भूगोल, समय, परिस्थिति केहीले पनि  । छेक्छ त केवल हाम्रै घमण्डले, हामीभित्र उत्पन्न भएको अभिभावकप्रतिको स्वार्थीपनले । यस्ता खराब कुरालाई जीवनमा कहिल्यै हाबी हुन नदिऔँ । हामी सबै असल सन्तान बन्ने कोशिस गरौँ, आमाबुवाप्रति निभाउनुपर्ने कर्तव्य पालना गरौँ र आफ्ना सन्तानलाई असल संस्कार दिऔँ । सबै बाबुहरुलाई बुवा दिवसको शुभकामना ।

प्रकाशित समय २१:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु