गृहपृष्ठ गुरु भर्सेस गोरु बहस

गुरु भर्सेस गोरु बहस

गुरु (शिक्षक)लाई सर्वज्ञानी, सदगुरु, महापुरुष मान्ने गरिन्छ । ज्ञान सिकाउने गुरुलाई विद्यार्थीहरुले ब्रम्ह्माको स्थानमा पूजा गर्ने गर्दछन् । गुरु एउटा पुज्यनीय संस्था, आस्थाको केन्द्र र श्रद्धाका पात्र हुन् ।

एउटा असल गुरु वा शिक्षकले गुरु आचरणलाई आत्मसाथ गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । साधारणतयः गुरु भनेर मानवीय गुरु या कुनै ज्ञानी व्यक्तिलाई बुझिने चलन भए पनि मानव या मानवेत्तर कुनै पनि प्राणी या प्राकृतिक चिज वस्तुबाट जोकोहीले पनि केही ज्ञानगुनका कुरा सिक्छ भने त्यो चिज या वस्तु उसका लागि गुरु बन्दछ । जब पुजनीय गुरु (व्यक्तित्व)ले अशोभनीय, निच, र घिनलाग्दो अवतार धारण गरी आफ्ना शिष्यहरुबाट नाजायज स्वार्थ या फाइदा लिन्छन् भने त्यस्ता निचलाई बुझाउन हेयात्मक रुपमा गोरु (पशु) अलंकार दिइन्छ ।

अक्टोबर ५ का दिन मनाइने विश्व शिक्षक दिवस मनाउने गरिन्छ । यसै सेरोफेरोमा लेखिएको यस आलेखमा ‘गुरु भर्सेस गोरु बहस’मा आधारित रहेर केही तथ्य र तर्कहरु पेश गर्ने जमर्को गरेको छु ।

मैले क्याम्पसका दिनहरुदेखि नै ‘गुरु भर्सेस गोरु बहस’लाई विभिन्न बसाइमा र सामाजिक सञ्जालमा कुराग्राफी (गफगाफका माध्यमले गरिने विषय अध्ययन) बहस बनाउने गरेको छु । सन् २०१५ मा एमए मानवशास्त्रको विद्यार्थी हुँदा फेसबुकमा एउटा स्टाटस राखेको थिएँ, ‘गुरु पुर्णिमाको अवसरमा सबै गुरुजनहरुमा हार्दिक श्रद्धा नमन र गुरुरुपी गोरुहरुलाई गुरु बनाइदिन भगवानसँग प्रार्थना गर्दछु ।’

केही दिनपछि चियागफमा एक जना गुरुले सुनाउनु भाथ्यो, ‘भाइको स्टाटस त कडा आयो त, पुरै स्टाफ रुममा चर्चा परिचर्चा भयो । हामीलाई गोरु भन्ने हैन यो कस्तो पागल रहेछ भनेर धेरै गुरुहरु रिसाए । मैले भने भाइले यहाँ गुरुलाई श्रद्धा भनेका छन् यो गुरुरुपी गोरुमा केही अर्थ छ ।’ त्यो चियागफपछि मेरो ‘गुरु भर्सेस गोरु बहस’मा एउटा सत्य त छ । लुकेको सत्य छ । एउटा नजरअन्दाज गरिएको यथार्थ छ भन्ने आत्माविश्वास बढ्यो ।

गुरु

साधारणतयः ज्ञानी व्यक्ति अथवा मानवीय गुरुको मात्रै चर्चा गर्ने चलन छ तर नयाँ कुरा वा ज्ञान सिकाउनेलाई गुरु मान्ने हो भने मानवेत्तर गुरुहरुको पनि उत्तिकै महत्व दिनु पर्दछ । किराँत समुदायका प्रचलित मुन्धुमले विभिन्न प्राकृतिक वस्तुहरु, खोलानाला, वनजंगल, आगो, पानी, हावा, घाम, जुन, पहाड, पशुपक्षीहरु, किराफट्यांग्रा आदिलाई गुरुको रुपमा व्याख्या गरेको पाइन्छ । किराँत राई जातिले नाच्ने साकेला नाच र लिम्बू जातिले नाच्ने केलाङमा पनि विभिन्न जीवजन्तुहरुको चाललाई अनुकरण गरिन्छ । आदिवासी समुदायहरुले विभिन्न जनवारका हाउभाउलाई नक्कल गरी शिकार गर्ने गरेको पनि पाइन्छ ।

चिनियाँ मार्सल आर्टसहरुमा पनि बाँदर, बिरालो, चिल, भ्यागुत्तो, सर्प आदि विभिन्न जनवारको शिकारको दाउपेचलाई प्रयोग गरेको देखिन्छ । त्यस्तै विश्वप्रसिद्ध वैज्ञानिक न्यूटनसँग जोडिएको स्याउको कथा पनि प्रसिद्ध छ । यसर्थमा न्यूटनका लागि स्याउ महागुरु हो ।

उहिले गुरुकुल परम्परामा ज्ञान सिकाउने गरिन्थ्यो । सीमित ज्ञानी मानिससँग शिष्यहरु ज्ञान सिक्न जान्थे । यो सिक्ने सिकाउने परम्परा पनि सीमित जात, वर्गमा सीमित थियो । हिजोआज औपचारिक शिक्षालाई ज्ञान सिकाइको मुख्य माध्यम मान्ने गरिन्छ । औपचारिक शिक्षाको अवसरले ज्ञान सिकाइमा सर्वसाधरण जनताको पहुँच बढेको, एक जना शिक्षकले धेरै जना विद्यार्थीहरुलाई पढाउने र एउटा विद्यार्थीले पनि धेरै जना शिक्षकसँग शिक्षा लिने हुँदा गुरु र शिष्यहरुबीच दुरी पनि बढ्दै गएको पाइन्छ ।

के हो गुरु आचरण ?

महात्मा गान्धीको एउटा किस्सा छ । एक जना महिला आफ्नो बच्चा लिएर गान्धीकोमा पुग्छिन् । गान्धीलाई आफ्नो बच्चालाई धेरै चिनी नखानका लागि सम्झाइदिन आग्रह गर्छिन् । गान्धीले ति महिलालाई केही दिनपछि बच्चा लिएर पुनः आउन भन्छन् । ति महिला केही दिनपछि पुनः बच्चा लिएर गान्धीकोमा पुग्छिन् । गान्धीले ति बच्चालाई बाबु धेरै चिनी खानु राम्रो हैन भनेर सम्झाउँछन् । यति कुरा अस्ति नै भनिदिएको भए पनि भइहाल्ने थियो भन्ने प्रश्न आउँछ । गान्धी भन्छन्, ‘अस्ति म आफैँ चिनी खाँदै थिएँ । आफैँले खाइराखेको कुरा अरुलाई नखाउ भनेर कसरी भन्नु ?’ यो छोटो किस्साले गुरु आचरणको महिमा र हिजोआज गुरुको महिमा गुम्दै जानुका धेरै गाँठोहरु फुकाउँछ ।

गुरु भर्सेस गोरु

हिन्दू शास्त्र महाभारतमा एउटा कथा छ, राजगुरु द्रोर्णाचार्यले अर्जुनलाई सर्वोकृष्ट धनुबाज बनाउने प्रतिज्ञा गरेका थिए । तर एक दिन जंगलमा एउटा कुशल धनुबाज एकलव्यको बारेमा थाहा पाएपछि गुरु द्रोर्णाले यस्तो कुशल धनुविद्या कहाँ कसरी सिके ? भन्नेबारे सोधखोज गर्दा एकलव्यले आफ्नो गुरु हजुर नै हुनुहुन्छ भनी प्रणाम गरेपछि द्रोर्णाको अर्जुनलाई सर्वोकृष्ट धनुबाज बनाउने प्रतिज्ञामा संकट देखेर द्रोर्णाले एकलव्यको बुढीऔंलो गुरु दक्षिणा मागेका थिए । यस कथामा गुरु द्रोर्णाचार्यलाई दोहोरो अर्थमा व्याख्या गरिएको छ । अर्जुनका लागि सद्गुरुको रुपमा भने एकलब्यका लागि द्रोर्णाचार्य लालच, स्वार्थले भरिको गोरुको रुपमा व्याख्या गरिएको छ ।

आधुनिक औपचारिक शिक्षाले गुरु र शिष्यको गुणानात्मक वृद्धि त गर्‍यो तर गुरु र शिष्यको माहिमा र गुरुप्रतिको श्रद्धा भने स्वाट्टै घटाएको पाइन्छ । शिक्षकको महिमा प्रतिष्ठामा आँच पुर्‍याउने केही

आधारहरु : 

क. प्रमाणपत्रकै आधारमा शिक्षक बन्न पाउने ।
ख. चिनजान, नातागोताको आधारमा शिक्षक बन्न पाउने ।
ग. राजनीतिक आडमा शिक्षक बन्ने ।
घ. थोरै तलबमै पाइने भएकोले कामचलाउ शिक्षक राख्ने ।
ङ. शौख, प्रतिष्ठाका लागि विषय ज्ञान नभए पनि शिक्षक बन्ने ।

हामीलाई पढाउने थोरै शिक्षकहरुलाई मात्र हामी अत्यन्त श्रद्धा गर्छौं । सम्झिरहन्छौं । नाम लिइरहन्छौं । कतिपय शिक्षकहरुको त सायद नामै पनि बिर्सिसक्यौं होला । हामीलाई पढाउने शिक्षकहरुमध्ये पनि थोरैले मात्र हामीलाई आफ्नो विद्यार्थी भनेर चिन्नुहुन्छ होला । शिक्षक र विद्यार्थीबीचको बढ्दो दूरी पनि त हो कारक तत्व जसले गुरुको महिमामा ह्रास ल्याएको छ ।

हिजोआज खासगरी सामुदायिक विद्यालयका शिक्षकहरु शिक्षा/दिक्षामा कम र राजनीतिक, व्यापारजस्ता अन्य गतिविधिमा बढी सक्रिय भेटिन्छन् । भनिन्छ, पञ्चायतकालमा कम्युनिष्ट पार्टी हुर्काउने शिक्षकहरु नै थिए रे । यसबाहेक कतिपय शिक्षकहरु विद्यालय नै नगइ जागिर खाइरहेका, राजनीतिक झण्डा बोकेर कुदिरहेका, भट्टीमा जाँड खाएर बाटोमा लडिरहेका, कोही तासजुवाको खालमा दिनरात बिताइरहेका, कोही घरेलु हिंसामा पक्राउ परेका, कोही लैंगिक हिंसामा तानिएकादेखि कतिपय त आफ्नै विद्यार्थीलाई पास गराइदिने लोभलालच देखाएर, फेल गराइदिने डर देखाएर नाजायज फाइदा लिने गरेकोजस्ता घटनाहरु पनि यत्रतत्र सर्वत्र देख्न र सुन्न पाइन्छ ।

जब शिक्षकले आफ्नो मर्यादा, प्रतिष्ठा भुलेर निच अवतार लिन्छन् तिनैलाई हेय, तुच्छ पशु भन्ने अर्थमा गोरु उपनाम दिने गरिएको हो । सामुदायिक विद्यालयको शिक्षाको स्तर आजको विचरा हालतमा पुर्‍याउनुको पछाडि यस्तै धेरै गोरु शिक्षकहरुको हात भएको ठिक साँचो सावित भइसकेको छ ।

अर्कोतिर पछिल्लोसमय झरीको च्याउजस्ता खुलेका निजी विद्यालयहरुले भने चिनजानको आधारमा, थोरे पैसामा काम गर्ने भएकाले विषयविज्ञभन्दा पनि काम चलाउ शिक्षक राख्ने गरेको पाइन्छ । एकपटक सामाजिक अध्ययनको सोधकर्ताका रुपमा म सुदुर गाउँमा थिएँ । बेलुकीपख बच्चाहरु आँगनमा खेलेको हेरिरहेको थिएँ । केही बच्चाहरु मेरो नजिक आए । बच्चाहरुको नाम सोध्ने केही गफ गर्दै तिनीहरुसँग घुलमिल गर्न थालेँ । एउटी बच्ची अलि बोलक्कड रहिछन् । आफ्नो कुरा सुनाउन थालिन् । ‘मेरो नाम सविना । यो मेरो भाइ विकास । घरमा मेरो अर्को पनि सानो भाइ छ । म बोर्डिङमा पढ्छु । यो पब्लिक स्कूलमा पढ्छ । म गरल हो….. ।’ गरल…? मैले बुझिनँ । ‘गरल भनेको के हो ?’ सोधेँ । उसले दुई तीनपटक गरल…ग…र..ल.. भनेर सम्झाउन खोजिन् । तर यो गरल के थियो मैले बुझिनँ । सोच्दै थिएँ कि यो कुनै आञ्चलिक भाषा होला । कसैलाई सोध्नु पर्ला पछि । अनि उसले ‘म जीआइआरएल- गरल हो, अनि यो बीओवाइ- बोए हो’ भनेको सुनेँ । हैट ! निजी स्कूलको शिक्षा । अनि निजी स्कूलको अंग्रेजी माध्यमको शिक्षाको मोहान्ध बन्दै गइरहेको समाजको भविष्य सम्झेर उराठ लाग्यो । सामाजिक सञ्जालतिर पाइने गुगललाई गुलगुले, डेन्जरसलाई डंगरुस, नेचरलाई नेटुरे, फिउचरलाई फुटुरे भनेको भिडियोहरु याद आयो ।

अन्त्यमा,

कुनै पनि नयाँ कुरा सिकाउने मानव या मानवेत्तर गुरु हुनसक्छन् । औपचारिक शिक्षाको ‘पपुलारिटी’सँगै शिक्षक र विद्यार्थीको संख्या गुणानात्मक रुपमा बढेको छ । व्यक्तिका जीवनमा धेरै शिक्षकहरुबाट शिक्षा लिने र एउटै शिक्षकले धेरै विद्यार्थीलाई शिक्षा दिने क्रमले शिक्षक र विद्यार्थीबीचको दूरी बढ्दै गएको छ । कतिपय शिक्षकहरुले आफ्नो गुरु आचरणबाट विचलित भइ गोरु अवतार धारण गरी गुरुको पूजनीय छवि धमिल्याउने काम पनि गरिआएको पाइन्छ ।

धेरै विद्यार्थीहरुको भविष्य एउटा शिक्षकको हातमा हुन्छ । एउटा असल शिक्षकले विषयज्ञानमा दक्खल, गुरु आचरणले सही शिक्षादिक्षा दिए मात्र विद्यार्थीहरुले अन्तर्मनदेखि नै गुरु र ब्रह्मा, गुरु र विष्णुः, गुरु र महेश्वरको गुरु मन्त्र जप गर्नेछन् ।

प्रकाशित समय १४:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु