गृहपृष्ठ यसरी थाहा पाउन सकिन्छ सेयर बजारको न्यूनतम विन्दु
यसरी थाहा पाउन सकिन्छ सेयर बजारको न्यूनतम विन्दु
सेयर किन्नेलाई लाग्छ– मैले सही मूल्य र समयमा सेयर किनेँ । सोही समयमा बेच्नेलाई पनि लाग्छ– मैले सही समय र मूल्यमा बिक्री गरेँ । तर, त्यो कति सही र कति गलत समय र मूल्य थियो भन्ने भविष्यले अवश्य पनि निर्धारण गर्नेछ ।
अर्कोतर्फ एउटा भनाइ छ– सेयर बजारमा हर समय किन्ने र बेच्ने कसै न कसैले गल्ती गरिरहेका हुन्छन् । किनेपछि बजार बढे किन्नेले सही गर्यो, बेच्नेले गल्ती गर्यो । बेचेपछि मूल्य घटे बेच्नेले सही गर्यो तर किन्नेले गल्ती गर्यो भन्ने हो । कसै न कसैले गल्ती गर्ने वा कसै न कसैले सही गर्ने यो बजारबाट फाइदा निकाल्ने सपना देख्नेहरुबाट मेरो मेसेन्जरमा सयौं यस्ता जिज्ञासाको ताँती लाग्छ, जसमा धेरैले राखेको एउटा साझा जिज्ञासा हो– कुनै गणितीय माध्यमबिना सेयरको न्यूनतम विन्दु कसरी थाहा पाउने ? वा निरन्तरको गिरावटपछि सेयर बजार बढ्न सक्ने संकेत कसरी थाहा पाउने ?
बढेपछि घट्ने वा घटेपछि बढ्ने सेयर बजारको प्राकृतिक नियम हो । यही उतार–चढावका बीच सही समयमा बजारमा छिरेर निस्कनु नै सेयर बजारमा गरिने लगानीको सुन्दरता हो ।
सेयर बजार न्यूनतम विन्दुतर्फ जाँदै छ भन्ने गणितीय आधार हुनसक्छन् । प्राविधिक विश्लेषण जस्ता रेखाचित्रको प्रयोग पनि हुन्छ । कम्पनीका नाफा–नोक्सानको प्रयोग गरेर आधारभूत विश्लेषणको पनि प्रयोग गर्न सकिन्छ । तर, त्योभन्दा भिन्न सेयर बजारका बारेमा कमै ज्ञान रहेर पनि बजार न्यूनतम विन्दुमा पुग्दै गरेको वा पुगेको अनुमान लगाउन सक्ने विधिका बारेमा म कुरा गर्दै छु ।
सेयर बजार न्यूनतम विन्दुतर्फ जाँदा नाफामै रहेका कम्पनीको सेयर अंकित मूल्यभन्दा तल किनबेच हुने गर्छ । जस्तो अहिले दोस्रो बजारमा कारोबार भइरहेका धेरै कम्पनीको सेयर मूल्य अंकित मूल्यनजिक छ भने केहीको त्योभन्दा पनि तल छ । विशेक्ष गरी म्युचुअल फन्डका इकाइहरुको मूल्य तिनको अंकित मूल्यभन्दा धेरै तल डिस्काउन्टमा कारोबार भइरहेको छ । जसले लगानीकर्तालाई राम्रो डिस्काउन्टमा युनिट किन्ने अवसर प्रदान गरेको छ । एउटा विवेकी लगानीकर्ताले डिस्काउन्टमा रहेका म्युचुअल फन्डको मात्र अलग्गै पोर्टफोलियो बनाएर आगामी बढ्दो बजारको फाइदा लिन सक्छ ।
बढेपछि घट्ने वा घटेपछि बढ्ने सेयर बजारको प्राकृतिक नियम हो । यही उतार–चढावका बीच सही समयमा बजारमा छिरेर निस्कनु नै सेयर बजारमा गरिने लगानीको सुन्दरता हो ।
सेयर बजार न्यूनतम विन्दुतर्फ पुग्दै गर्दा सहरदेखि गाउँसम्मका लगानीकर्तामा व्यापक निराशा छाउने गर्छ । जसको प्रभाव प्राथमिक निष्कासन (आईपीओ) मा पनि परिरहेको हुन्छ । परिणामस्वरुप कम्पनीका निष्कासनहरु पूरा बिक्री हुन छाड्छन् । प्राथमिक निष्कासन नबिकेका समाचार बाक्लिँदै जान्छन् । पछिल्लो समय कम्पनीका प्राथमिक निष्कासन तथा थप निष्कासनमा पनि मागभन्दा कम आवेदन परेका समाचार सार्वजनिक भएका छन्, जुन दोस्रो बजार बियरिस ट्रेन्डको अन्त्यतिर पुगेको अर्को संकेत हो ।
सेयर बजार न्युनतम विन्दुतर्फ पुग्दै गर्दा लगानीकर्ताका समस्या समाधानका नाममा राजनीतिक पार्टी खुलेझैं लगानीकर्ता संघ–संगठनहरुको जन्म बाक्लिँदै जान्छ, जसको लर्को नेता, मन्त्री र नियामक निकायमा बढ्दै जान्छ । पछिल्लो समय सेयर बजारमा यस्ता संगठन खुल्ने र पार्टीका नेताका दैलो चहार्ने क्रम बढेको छ, जसले बजार न्यूनतम विन्दुतर्फ पुग्दै गरेको संकेत दिन्छ ।
यसैगरी, सेयर बजारमा हुने कारोबार भोल्युम तथा सेयर बजारमा संलग्न संस्थाका गतिविधिले पनि बजारको न्यूनतम विन्दुलाई संकेत गर्छन् । जस्तो सेयर बजार न्यूनतम विन्दुमा पुग्दा सेयरको कुल दैनिक कारोबार न्यून हुँदै जान्छ । दैनिक दुई अर्बसम्मको कारोबार भएको बजारमा अहिले दैनिक कारोबार २० करोडभन्दा तल झरेको छ । बजार बियरिस ट्रेन्डको अन्त्यतिर पुग्दा सेयर बजारमा संलग्न संस्था जस्तो ब्रोकर कम्पनीले कर्मचारी कटौती गर्ने सेवा बन्द गर्ने जस्ता काम गर्छन् । अहिले प्रायः ब्रोकर कम्पनीले ५० प्रतिशतबराबर कर्मचारी कटौती गरिसकेका छन् । यस्तै, यस्ता संस्था खर्च धान्न नसकेर किनबेच हुने र मर्जमा जाने गर्छन् । कानुनी व्यवस्था भए अहिले धेरै ब्रोकर कम्पनी बैंकसँग मर्ज भएर काम गर्ने सोचमा रहेको पाइन्छ ।
यस्तै अर्को महत्वपूर्ण विशेषता बजार न्यूनतम विन्दुतर्फ पुग्दै गर्दा नेप्से परिसूचकमा धेरै ठूला अंकका उतारचढाव देखिँदैनन्, जसका कारण नेप्सेको रेखा विस्तारै तेर्सो हिँड्ने गर्छ, जुन अहिले हामी प्रस्ट देख्न सक्छौं ।
भट्टराई सेयर बजार विश्लेषक हुन् ।
प्रकाशित समय १५:२७ बजे

















