गृहपृष्ठ पुरुष लिंगको पुजा गर्ने समाजमा रजस्वला चाहिँ पाप !
पुरुष लिंगको पुजा गर्ने समाजमा रजस्वला चाहिँ पाप !
धर्मका व्याख्याता, महिला अधिकारकर्मी र स्वयं राज्य संयन्त्र गम्भीर बन्नुपर्छ
महिनावारी एक प्राकृतिक नियम हो । यो नियम मानवसृष्टिको उत्पतिसँगै सुरु भएको हो र मानवसृष्टिको अन्त्यसम्म चलिरहन्छ । तर, यसलाई कतिपयले गलत अथ्र्याएका छन् । यही समाजले रजस्वला भएका महिलालाई ‘नछुने’ भन्छ ।
पश्चिम नेपालमा महिनावारी हुँदा छोरीबुहारीलाई पशु बाँध्ने गोठमा सुत्न पठाउने चलन छ । यसरी सुत्न दिँदा ती महिलाको मनोदशा वा पीडा कस्तो होला? त्यसरी गोठमा सुत्दा संंक्रमण हुनुका साथै सर्पले डस्ने, बलात्कारजस्ता घटना भएका समाचार सञ्चारमाध्यममा आइरहेका छन् । तर पनि कतिपय मानिसको सोच भने बदलिएको छैन ।
रजस्वला नहुने हो भने यो संसारमा जन्मको प्राकृतिक नियम पनि तोडिन्छ । कतिपय ‘उग्रवादी’ पुरुषले रजस्वलालाई पाप मान्छन् भने आफू धर्तीमा आउनु पनि पाप नै हो भन्ने मान्न सक्नुपर्छ । त्यसो भए रजस्वला भएका पापी महिलासँग अरु समय किन सुत्छन् ?
प्राकृतिक र स्वाभाविक क्रियालाई पनि नारित्वको सीमाका रूपमा हेरिनु विडम्बना नै हो । यही विषय किन पुरुषको सन्दर्भमा लागू हुँदैन? पुरुषको त लिंगले पनि सामाजिक सन्दर्भमा विशिष्ट महत्व पाउँछ । त्यही सामाजिक सन्दर्भले महिलाको धर्मलाई एउटा अभिशाप मान्छ ।
सन १८९६ मा हैवलक एलिसले एक सय २५ छात्रामाथि अध्ययन गरे । त्यतिबेला आफ्नो पहिलो मासिक धर्मबारे ३६ जना अनभिज्ञ थिए । ३९ जनालाई यसबारे हल्का आभाष थियो र करिव आधाभन्दा बढी अञ्जान थिए । सिमोन द बोउवारले लेखेको ‘द सेकेन्ड सेक्स’ पुस्तकमा उल्लेख गरिएको यो तथ्यांकलाई आधार मान्ने हो भने मासिक धर्मबारे अधिकांश केटीलाई थाहा हुँदैन भन्ने बुझ्न सकिन्छ । तर, यता पुरुषहरु यसलाई पापका रुपमा बुझ्छन् र त्यही व्यवहार गर्छन् ।
आज युग परिवर्तनसँगै हाम्रो सोचमा पनि परिवर्तन भएका छन् । यस्ता कुरा विद्यालयमै पनि पढाइन्छ । तर पनि पहिलो पटक मासिक धर्म हुँदा नारीले सजिलै स्वीकार गर्न सक्दैनन् । त्यसमाथि समाज, धर्म र परम्पराले रजस्वला भएका स्त्रीमा ग्लानिको भावना पैदा गरिदिन्छन् ।
महिलाको प्राकृतिक रुपमा भएको घटनालाई अनेक धार्मिक कुरासँग जोड्नु पर्छ भन्ने छैन । भगवान शुद्ध हुन्छन् भनेर सिकाउने अनि भगवानको रुप देख्ने महिला फेरी अशुद्ध कसरी भईन ? पाप धर्म त कर्मले गर्दा हुने हो नकी कसैको रगतले । कुरानले रजश्वला प्राकृतिक नियम भएको व्याख्या गरे पनि केही निश्चित कामहरू गर्न प्रतिबन्ध लगाएको छ । जसलाई अल्लाहले भन्नु भएको थियो भन्ने कुरा भगवानकै नाममा छोडेर अरूलाई बोल्न नसक्ने बनाईदिन्छन् । हिन्दु धर्ममा रजश्वला भएकी महिलालाई पुजापाठमा सामेल मात्र नगराईएको छैन कि पुजाको प्रसाद समेत चोख्खिएपछि खानु पर्ने बनाईएको छ । हामीले यो प्रथालाई महिलाको समस्याका रुपमा मात्रै चित्रित गरेका छौं । तर, यो त मानवीय ज्यादती होइन र ?
महिलाहरु महिनावारी हुँदा पशु जस्तै गोठमा रात बिताउनु पर्ने बाध्य किन पारिन्छ ? महिनावारी हुनु पाप नै हो भने देवीहरुको रुपमा पूजिने सरस्वती, दुर्गा, लक्ष्मी, पार्वती, सीता जस्ता देवीहरु पनि त महिला नै हुन् । उनीहरुको मूर्ती भएका मन्दिरहरु अनगिन्ती छन् । ती देवीहरु पनि त प्राकृतिक परिधिभित्र थिए । उनीहरु पनि महिनावारी हुन्थे । तर, कसैलाई थाहा छ, कुनै पनि देवी भगवती महिनावारी भएर छाउपडीमा बसेको ? कुनै शास्त्रमा लेखेको छ, आजको जस्तो विभेद ?
रजस्वला हुँदा हिन्दु समाजमा मन्दिर प्रवेश नगर्नु भनेर भनेको छैन । तर, घरमै नबस्नु भन्ने नियम कसले बनायो ? यही पुरुषवादी समाजले होइन ? नेपाली जनजिब्रोमा रजस्वला हुँदाको अवधीलाई पर बस्नु भनिन्छ । वास्तवमा यो पिरियड मा दिएको छुट्टी हो । मासिक धर्मका बेला पाठेघरको मुख फुल्ने हुन्छ । उक्त समय उनीहरू कमजोर हुनुका साथै धेरै किसिमका पीडासमेत हुन्छ । त्यसैले महिनावारी हुँदा आरामको आवश्यकता पर्छ । रोगहरूको संक्रमण पनि त्यसबेला सजिलै हुनसक्छ । यसकारण त्यस्तो संक्रमणबाट जोगिन चिकित्साविज्ञानले पनि महिनावारीमा बार्नु आवश्यक छ भन्छ । यसलाई उल्टो पाल्टो व्याख्या गरेर घरबाट टाढा राख्ने, छुन पनि नहुने, पाप भन्ने र त्यो समयभित्र मान्छे नै होइन जस्तो व्यवहार गर्नु कतिको पच्ने कुरा हो ?
आजको वैज्ञानिक युगमा पनि हामी आफूले मान्दै आएका परम्परा, संस्कार, धर्म, संस्कृतिलाई बिनाआधार अँगालिरहेका छौँ । विस्तारै कतैकतै कतिपय चलनलाई रुढीवाद भनेर सुधारका साथै वहिष्कारसम्म पनि हुन थालेको छ । यसको अर्थ सबै संस्कार–संस्कृति खराब वा त्याग्य नै छन् भन्ने होइन । केही चलनमा थोरै परिवर्तन हुनु आवश्यक छ भने केही राम्रा पनि छन्। तर महिनावारीका सन्दर्भमा ‘यो गर्नु यो नगर्नु’ भनेर वञ्चित गर्ने चलन समाजमा जिवितै छ । यसबारे समाजका अगुवा, धर्मका व्याख्याता, महिला अधिकारकर्मी र स्वयं राज्य संयन्त्र गम्भीर बन्नुपर्छ । महिला रसस्वलाई पाप र दण्डको कसिबाट बाहिर निकाल्नै पर्छ । होइन भने, मुलुकमा जति नै परिवर्तन किन नहोस्, त्यो सार्थक र पूर्ण हुने छैन ।
प्रकाशित समय १७:२९ बजे

















