गृहपृष्ठ ‘राष्ट्र बैंकमा एउटा कम्प्युटरले पाँच जनाको जागिर खाइदियो’

‘राष्ट्र बैंकमा एउटा कम्प्युटरले पाँच जनाको जागिर खाइदियो’

हाँस्य कलाकार शिवहरि पौडेलको ३० वर्षे बैंकिङ करिअर

हाँस्य कलाकार शिवहरि पौडेल चिरपरिचित नाम हो । २०३२ सालमा मकवानपुरमा जन्मिएका उनी केही वर्षयता कलाकारितामा राम्रोसँग जमेका छन् । आमदर्शक र श्रोताले असाध्यै रुचाएका शिवहरि कुनै समय बैंकका कर्मचारी थिए ।

धेरैलाई थाहा नहुन सक्छ, शिवहरि नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी हुन् । नेपाल राष्ट्र बैंकमा ३० बर्षको कार्यकाल बिताएर उनले केही वर्षअघि मात्र अवकास प्राप्त गरेका थिए ।
उनले २०४१ सालदेखि लगातार २०७१ सालसम्म नेपाल राष्ट्र बैंकमा काम गरेका थिए । राष्ट्र बैंकमा जागिर सुरु गरेको ६ बर्षपछि उनी बिहान बेलुकाको समय कलाकारिता क्षेत्रमा अभ्यस्त हुन थालेका थिए । अब्बल वाककला भएका उनले दर्जनौँ ठूला पर्दाका चलचित्रदेखि तितो सत्यजस्तो चर्चित हाँस्य टेलिश्रृङखलामार्फत आफूलाई एक सफल कलाकारका रुपमा उभ्याइसकेका छन् । उनै पूर्वबैंकर तथा अहिलेका चर्चित कलाकार पौडेलसँग गरिएको कुराकानीका आधारमा उनले भनेका कुरा जस्ताको त्यस्तै ।

१० रुपैयाँ तलब राख्न नेपाल बैंक खाता
मैले २०४१ सालमा नेपाल आयल निगममा जागिर खाएँ, त्यो पनि अस्थायी कोटामा । मेरो तलब १० रुपैयाँ थियो । त्यति बेला आयल निगमले सबै कर्मचारीको तलब बैंकमै राख्दिन्थ्यो । त्यही १० रुपैयाँ तलब राख्न नेपाल बैंकमा मेरो खाता खोलिएको थियो । ०४१ सालबाटै मैले बैंकिङ कारोबार सुरु गरेँ । त्यतिबेला म १७ बर्षको थिए ।

डेढ बर्ष आयल निगममा काम गरिसकेपछि खरिदार पदमा ०४२ पुस १७ गते नेपाल राष्ट्र बैंकमा नाम निकाले र त्यहिबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेँ ।

०५२ सालमा राष्ट्र बैंक ल्याइएको एउटा कम्प्युटरले ४/५ जनाको जागिर खाइदियो
त्यो बेला नेपालको बैंकिङ प्रणाली अत्यन्तै सीमित स्थानमा मात्र थियो । धेरै मानिसलाई बैंक के हो भन्ने नै थाहै थिएन । जब मैले नेपाल राष्ट्र बैंकमा जागिर सुरु गरेँ, त्यहाँबाट नेपालको बैंकिङ प्रणालीलाई अझ नजिकबाट नियाल्ने र अनुभव गर्ने मौका पाएँ । त्यसबेला बैंकका काम ज्याँदै झन्झटिला थिए । बैंकमा राखेको पैसा निकाल्न कम्तिमा पनि ५ घण्टा समय लाग्थ्यो । त्यो पनि कागजी प्रकृयाहरु पूरा गर्न निकै अप्ठेरो हुन्थ्यो । लामो समय कुरेपछि मात्र नामको अघिल्लो अक्षरका (अल्फावेट)का आधारमा खातामा भएको रुपैयाँ निकाल्न सकिन्थ्यो । मैले राष्ट्र बैंकमा जागिर सुरु गर्दा बैंकमा एउटा पनि कम्प्यूटर थिएन । सबै कामहरु ढड्डाबाटै हुने गर्दथे । काम गर्दै जाँदा २०५२ सालपछि राष्ट्र बैंकमा एउटामात्र कम्प्युटर भित्रिएको थियो । त्यो बेला राष्ट्र बैंकमा काम गर्ने कर्मचारी ३० देखि ४० जनाजति थिए । जब कम्प्युटर प्रयोग भयो, तब राष्ट्र बैंकमा काम गर्ने ४/५ जनाको जागिर खोसियो । कम्प्युटरको प्रयोगले काम गर्न पनि सहज बनायो । सुरुमा चेकका रेकर्डमात्र कम्प्युटरमा राख्ने गरिन्थ्यो । त्यसपछि बैंकमा सर्भर राख्ने चलन आयो । ढड्डामा रहेका रेकर्डहरु कम्प्युटरमा रहन थाले भने हस्ताक्षर, डेविट र क्रेडिटका कामहरु पनि कम्प्युटरबाटै हुन थाले ।

तोरी राखेको भाडाँ पैसा पुरेर राखिन्थ्यो
मेरो परिवारमा पहिलो खाता मैले नै खोलेको थिएँ । मेरो बुबा आमालाई बैंक के हो भन्ने थाहा थिएन । मेरो बुबाले भएको पैसा सन्दुस र बाकसमा राख्ने गर्नुहुन्थ्यो । मेरो बुबा बैंकमा कारोबार गर्न त परै जाओस बैंकमा खाता नखोल्दै बित्नुभयो । उहाँले जीवनको सबैभन्दा ठूलो रकम २६ सय रुपैयाँ कपडामा पोको पारेर तोरी राखेको भाडामा पुरेर राख्नुहुन्थ्यो । त्यसबेला गाउँमा बैंकहरुको उपस्थिति नै थिएन । सायद त्यसैले होला गाउँमा मान्छेलाई बैंकबारे थाहा थिएन । बैंकमा कारोबार गर्नलाई वीरगञ्ज र हेटौंडा जानुपर्दथ्यो । त्यसैले पनि मानिसहरुले टाढा–टाढा धाएर बैंकको सेवा लिनुभन्दा घरमै पोको पारेर पैसाको जतन गर्ने गर्थे । त्यो बेला धेरै पैसा भएको धनि मान्छेमात्र बैंकमा जान्छन् भन्ने चलन थियो । बैंकमा कारोबार गर्ने व्यक्तिलाई ठूलो मान्छे भनिन्थ्यो । पैसा नभएका मानिसहरु बैंकमा जानै डराउँथे ।

बैंककै सहकर्मीले उक्साएर कलाकार भएँ
सानोमा मलाई कलाकारितामा लाग्छु भन्ने सोच थिएन । मलाई आफूमा भएको प्रतिभाबारे थाहा पनि थिएन । कहिले–कहिले स्कूल र कलेजका कार्यक्रममा क्यारिकेचर (बोलिको नक्कल) गर्थेँ तर मलाई म हाँस्य कलाकार नै बन्छु जस्तो लाग्दैन्थ्यो । कलाकारिता सानैदैखिको उद्देश्य होइन । पछि मात्र आफ्नो प्रतिभा जाँच्न थालँे । राष्ट्र बैंकमा जागिर खाएको ६ बर्षपछि आँखा अस्पतालमा काम गर्ने एकजना साथीले तिमी हास्ँय क्षेत्रमा लाग भनेर मलाई सुझाव दिए । उनले त्यसो भनेपछि मलाई कलाकारितामा लाग्न हौसला मिल्यो ।

खुब संघर्ष गरेँ
बिहानै ४ बजे उठेर खाना बनाउँथे । खाना बनाएर कलेज जान्थे । कलेजबाट फर्किएपछि हतार–हतार तरकारी बनाउँथे र हतपत खाएर जागिरमा जान्थेँ । समयको अभावले गर्दा कलाकारितातर्फ त्यति ध्यान दिन पाइन । कहिले–कहिले साना कार्यक्रममा क्यारिकेचर गर्दा केहि मानिसहरुले पनि मलाई कलाकारितामा जानुस् भनेर सुझाएका थिए । सानोमा आफ्नो प्रतिभा कलाकारितामा छ भनेर ध्यानै दिईएन । पछि राष्ट्र बैंकमा जागिर खाएपछि मात्र कला क्षेत्रमा लाग्ने जोस् जाग्यो । सहकर्मीहरुबाट पनि कलाकारिता क्षेत्रमै लाग्नुपर्छ भन्ने खालका सुझावहरु आउन थाले । तर, कलाकारिता क्षेत्रमा लाग्नको लागि छुट्टै समय थिएन मसँग । जागिर गर्दै कलाकारितामा लाग्नको लागि समय व्यवस्थापन गर्न निकै अप्ठेरो परेको थियो । विस्तारै–विस्तारै राष्ट्र बैंकमा काम गर्ने क्रममा बिदाको समय कलाकारितालाई दिएँ । जसोतसो बिहान र बेलुकाको समयलाई सदुपयोग गर्दै त्यो बेलाका चर्चित कलाकार सुनिल पोख्रेल, लय संग्रौलालगायतका चर्चित कलाकारबाट सिक्ने तथा विभिन्न तालिम लिने अवसर पाएँ । पहिलोपटक लय संग्रौलाको ‘एक्लो छैन’ भन्ने फिल्ममा अभियन गरँे । त्यो अभिनयले मलाई साँच्चै नै कलाकार बन्नको लागि प्रेरणा दियो । पहिलो अभिनय एकदमै राम्रो भयो भन्ने प्रतिक्रिया सबले दिए ।

मैले अरुबाट आएको सकारात्मक प्रतिक्रियाबाटै कलाकारिता क्षेत्रमा आफ्नो उचाई राख्न सफल भएँ । कलाकारिता क्षेत्रमा केही गर्ने मनोबल बनिसकेकाले राष्ट्र बैंकमा काम गर्दा कहिल्यै बिदा बसिनँ । बरु बिदाको दिन बैंकमा गएर काम गर्थेँ। त्यसबापत मलाई बिहान राष्ट्र बैंकबाट बेलाबेला स्टेज कार्यक्रममा जानको लागि छुट् हुन्थ्यो । राष्ट्र बैंकमा काम गर्दा कहिल्यै पनि कलाकारिताबाट काममा असर पर्यो भनेर कसैले टिका–टिप्पणी गरेनन् । बेलुकाको समय छुट्याएर अभ्यास गर्न तिर लाग्थेँ।

प्रकाशित समय १८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु