गृहपृष्ठ सेयरको अनलाइन कारोबार र उल्लु बनेका लगानीकर्ता

सेयरको अनलाइन कारोबार र उल्लु बनेका लगानीकर्ता

rabindra-newskarobar

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयरको अनलाइन कारोबार सुरु गरेको छ । यससँगै सेयर कारोबार नेप्सेको हलबाट ब्रोकरको कार्यालय हुँदै अब लगानीकर्ताको हात–हातमा पुगेको छ । सेयर किन्ने निर्णयमात्र नभई आफ्नो निर्णयको कार्यान्वयन आफैं गर्ने अधिकार पनि लगानीकर्ताले प्राप्त गरेका छन् । अनलाइन कारोबारको सुरुवातले सेयर बजारको प्राविधिक पक्षलाई एक कदम अगाडि बढाएको छ ।

तर, अनलाइन कारोबारको अधिकतम उपयोग गर्न भने लगानीकर्ताले पाउने छैनन् । आफ्नो आदेश राख्न र बजारको गहिराइ हेर्न पाउनुले मात्रै अनलाइन कारोबारको सन्तुष्टि लगानीकर्ताले पाउन सक्दैनन् । त्यसभित्र धेरै कुरा लुकेका हुन्छन् । जुन नेप्सेले दिन सकेको छैन ।

प्राविधिक रुपमा भएको परिवर्तनले लगानीकर्ताको आत्मविश्वासमा केही वृद्धि हुनेछ । यससँगै सेयर बजारमा अर्को बुलको आधार बन्ने पनि छ तर यो परिवर्तनले लगानीकर्तालाई सन्तुष्टि भने तत्काल दिन सक्ने छैन ।

उदाहरणका लागि अनलाइन कारोबारको उद्घाटन गर्न नेप्से, धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकलगायतका संस्थाका नेताको जुलुस पाँच तारे होटल पुग्दै गर्दा यता नेप्सेको थोत्रो वेबपेज बन्द भइसकेको थियो । मलाइ लाग्छ, यो कुनै संयोगभन्दा पनि भविष्यमा अनलाइन कारोबारमा नेप्सेले गर्ने प्राविधिक व्यवस्थापनको पूर्वसंकेत थियो ।

अनलाइन कारोबारको सुरुवात भइसकेपछि वा सुरु हुनुअघिबाटै लगानीकर्तामा त्यसको प्रक्रियाबारे जिज्ञासा हुन्छ । अनलाइन कारोबार कहाँबाट गर्ने ? कसरी गर्ने ? भन्ने जस्ता अनेकन जिज्ञासा लगानीकर्तामा हुन्छ । त्यस्तै, जिज्ञासा ममा पनि पलायो । मेरा जिज्ञासा मेटाउन म नेप्सेको वेबपेजमा अनलाइन कारोबारको प्रक्रिया बुझ्न दौडिएँ । धेरै कोसिस गरे तर वेबपेज खुलेन । थोत्रो वेबपेज मर्मत भइसकेपछि होला, धेरै प्रयासपछि बल्ल–बल्ल खुल्यो ।

वेबपेजमा सबैतिर दौडिएँ । यता हेरेँ, उता हेरेँ, अनलाइन कारोबार गर्ने तरिकाका बारेमा लगानीकर्ताका लागि कुनै म्यानुअल दिइएको छ कि भनेर तर कतै पाउन सकिनँ । ब्रोकरका लागि भनेर एउटा म्यानुअल घस्रिरहेको थियो । त्यस्तै, मोक ट्रेडिङको एउटा भिडियो त्यहाँ यताउता गरिरहेको थियो । तर म्यानुअल भेटिनँ ।

मोक ट्रेडिङको भिडियो हेर्नेको संख्या हेरेँ । ११ हजारले भिडियो हेरेका रहेछन् । कमले मात्र हेर्नुको कारण इन्टरनेटको गति पनि हुन सक्छ । उच्च गति नभई भिडियो चल्दैन । यही कुरालाई प्रक्रियागत रुपमा उल्लेख गरेर एउटा किनारामा राखिदिएको भए पक्कै पनि धेरै लगानीकर्ता लाभान्वित हुने थिए । केही हरफ कोरेर कारोबार प्रक्रियाबारे लेख्न नसक्ने योभन्दा लाचार व्यवस्थापन अरु कुन हुनसक्छ ।

नेप्सेको सत्रौँ शताब्दीमा बनेजस्तो थोत्रो वेबपेजमा केही समयपछि एउटा प्रेस विज्ञप्ति दौडियो । हतार–हतार खोलेँ । यसमा पक्कै पनि कारोबार प्रक्रिया र अनलाइन कारोबारका बारेमा केही हुनुपर्छ भन्ने लाग्यो । मलाई मात्र नभई धेरैलाई त्यस्तै लागेको हुनसक्छ । तर, म आफैं उल्लु भएँ । त्यहाँ त पाँचतारे होटलमा नियामकका नेताले गरेको भाषणको संक्षेपीकरण पो रहेछ ।

म मनमनै सोच्न बाध्य भएँ– मैले धेरै अपेक्षा गरेर आफैं उल्लु भएको हो कि नेप्सेले हामीलाई उल्लु बनाएको हो ? वास्तवमा, लगानीकर्ताले चाहेको अनलाइन कारोबार र त्यसको प्रयोगबाट अधिकतम सन्तुष्टि हो न कि तिनका भाषण । एउटा व्यवसायीले नेताका भाषणको व्याख्याभन्दा पनि आफ्नो वस्तु तथा सेवाको बारेमा बताउनु पर्ने हो । तर, नेप्सेको व्यवस्थापन लगानीकर्तालाई सेवा दिएर व्यापार गर्नभन्दा पनि चाकडीको व्यापार गर्न बसेको स्पष्ट देखिन्छ ।

प्रेस विज्ञप्तिमा अनलाइन कारोबार सुरु गर्न सकेकोमा केही खुसीसहित सोही दिन वेबसाइटमा भएको कमजोरीका बारेमा लगानीकर्तासमक्ष क्षमायाचनाको अपेक्षा थियो । त्यस्तै, विज्ञप्तिमा अनलाइन कारोबार प्रणालीमा समयसापेक्ष लगानीकर्ताको अपेक्षाअनुसार परिवर्तन गर्दै लाने प्रतिबद्धतासहित लगानीकर्तालगायतका सरोकारवालाका तर्फबाट सल्लाह र सुझाव मागिएको हुनुपथ्र्यो । तर, त्यो कतै पाइएन । धेरै अपेक्षा गरेर हामी उल्लु भएका हौं कि कामचोर नेप्से व्यवस्थापनले हामीलाई उल्लु बनाएको हो ? पत्तै भएन ।
(भट्टराई सेयर बजार विश्लेषक हुन् ।)

प्रकाशित समय ११:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु