गृहपृष्ठ कुतर्कमा अडिएका सेयर ब्रोकर

कुतर्कमा अडिएका सेयर ब्रोकर

rabindra-newskarobar

फेसबुक म्यासेन्जर खोलेको फ्याट्ट अनलाइनमा देखेँ । अझै पनि फोन गर्न रुख चढ्नुपर्छ त्यो ठाउँमा । मोबाइलमा इन्टरनेट प्रयोग गर्नका लागि पनि  त्यस्तै हो ।

काठमाडौंले कब्जा गरेको सेयर बजारमाथि धावा बोल्न थालेको १३ वर्ष भएछ । यसलार्इ छरपष्ट पारेर गाउँसम्म पुर्याउने प्रयासमा बल्ल–बल्ल केही सफलता हात लागेकोमा खुसी नहुने कुरा पनि भएन । सबै कामको प्रशंसा गर्न नसकिए पनि डिम्याट खाता र आस्वाको सुरुवात गरेर प्राथमिक बजारमा लगानी गर्नेका अनुहारमा मुस्कान ल्याउन सघाउने धितोपत्र बोर्डको यो प्रयासको भने प्रशंसा गर्नैपर्ने हुन्छ ।

छरपष्ट हुँदै गरेको सेयर बजारलाई देखेर काठमाडौंका सेयर सामन्तहरु (कम्युनिस्टको भाषा) बेला–बेला कुर्लिराखेका हुन्छन् । र, भन्ने गर्छन् जति पैसा हाले पनि १० कित्तामात्र सेयर पर्ने भएपछि हामीसँग भएको धेरै पैसाको के काम ? धेरै पैसा हुनेले सेयर नभर्दा नै राम्रो, थोरै पैसा हुनेका लागि नै ठीक हुन्छ १० कित्ता ।

अनलाइन देख्नासाथ यस्तै थोरै पैसा हुने मेरो त्यो गाउँको भाइलाई सोध्न मन लाग्यो–

‘अहिले त गाउँमा बैंक पनि खुलेको छ । के त्यसले डिम्याट खाता खोल्छ ?’

मेरो प्रश्न खस्न नपाउँदै उत्तर आयो– ‘ए दाइ ! तुरुन्तै खोलिदिन्छ । अहिले त यहाँका शिक्षक, कर्मचारीलगायत धेरै गाउँलेहरुले डिम्याट खाता खोलेका छन् । विस्तारै त्यसको संख्या बढ्दै गएको छ ।’

पहिलाको हाम्रो साँघु गाविस अहिले मैवाखोला गाउँपालिका भएको छ । करिब एक दिन हिँडेर ताप्लेजुङको सदरमुकामको बैंकमा पुग्नुपर्ने त्यो गाउँमा केही समयअघि सनराइज बैंकको शाखा खुलेपछि गाउँलेले यो अवसर पाएका हुन् । बैंक खुल्नुले केवल पैसा जम्मा गर्ने र झिक्नेमात्र सुविधा नदिर्इ आर्थिक क्रियाकलापका सयौँ ढोका पनि खोलिदिन्छ । केवल त्यसलाई देख्न र प्रयोग गर्न सक्नुपर्छ ।

हाम्रो गाउँमा जस्तै दार्चुलाका गाउँमा पनि यसरी नै बैंकका शाखा खुल्दै गएका छन् । त्यसरी नै त्यहाँ पनि मानिसले डिम्याट खाता खोल्दै गएका छन् ।

मैले अर्को म्यासेज पठाएँ– ‘के गाउँलेहरुले कम्पनीको सेयर खुलेको बेला भरेका छन् त !

उनले अर्को जिज्ञासाको जवाफ फर्काउन कत्ति समय पनि लगाएनन् । (कतिखेर इन्टरनेट डिस्कनेक्ट हुन्छ भनेर पनि होला तुरुन्त जवाफ पठाए ।) ‘इन्टरनेट भएको ठाउँबाट ‘मेरो सेयर लग इन’ गरी बैंकबाट लिएको ‘सिआरएन नम्बर’ प्रयोग गरेर धेरैले आर्इपीओ भर्छन् । कतिले बैंकमै गएर भर्छन् ।’

उनको यो जवाफ देखेपछि म खुसीले दुई फिट उफ्रिएँ । धेरै अघि देखेको सपना पूरा भएको महसुस भयो । र, नियामकसँगको लडाइँ केही जित्दै गए जस्तो पनि लाग्यो । गाउँसम्म सेयर पुग्नु सबैभन्दा ठूलो झापट पूर्वअर्थमन्त्री रामशरण महतका लागि पनि हो किनकि उनले सेयर बजार गाउँमा बस्नेको नभर्इ सहरीयाको मात्र हो भनेर धेरैपटक भाषण गरेका छन् ।

तर, दार्चुला र ताप्लेजुङका ती गाउँसम्म सेयर कारोबार पुर्याउने नियामक र केही सिन्डिकेटधारीसँगको केही लडाइँ अझै बाँकी छ । आशा गरौं, त्यसमा पनि छिट्टै जित हुनेछ ।

आर्इपीओ सेयर बजारको एउटामात्र पाटो हो । मैले ती भाइलार्इ अर्को पाटोको बारेमा जिज्ञासा राखिन किनकि त्यो जिज्ञासाको बारेमा म पूरै जानकार थिएँ । दोस्रो पाटो थियो– सेयरको बिक्री । बिक्री गर्न बैंकको शाखामा गएर कुनै उपाय लाग्दैन थियो । सेयर बिक्री गर्न ब्रोकरकहाँ ग्राहक परिचय विवरण (केवार्इसी भरेर) कारोबार खाता खोल्नैपर्ने हुन्छ । जसका लागि लगानीकर्ता स्वयं ब्रोकर कार्यालयमा नपुगी सम्भव छैन । त्यहाँबाट ब्रोकरकहाँ (धरान) पुग्न एक दिन गाडीको यात्रा गर्नुपर्छ । त्यो पनि हिँउदका दिनमा मात्र । बर्खामा गाडी चल्दैन । बर्खामा पैदल र गाडी गरेर ब्रोकरकहाँ पुग्न दुर्इ दिन लाग्छ । अन्य धेरै जिल्लामा योभन्दा धेरै विकराल समस्या छन् । क्षणभरमै बैंकसम्म पुग्न सके पनि ब्रोकरको कार्यालय पुग्न हप्ता पनि लाग्छ । त्यसको व्याख्या गरी साध्ये छैन ।

ती गाउँले भाइसँगको संवादपछि दोस्रो बजारमा कारोबार गर्नका लागि मैले एक ब्रोकरलाई फोन गरेर सोधेँ– ‘के तपार्इं हाम्रो गाउँमा गएर लगानीकर्ताको कारोबार खाता खोलिदिन सक्नुहुन्छ ?’

उनले भने– ‘गाउँ–गाउँ गएर कारोबार खाता खोल्न सम्भव छैन ।’

किनकि, कारोबार खाता खोल्दा शुल्क लिन पाइने व्यवस्था छैन । ब्रोकर गाउँ–गाउँ गएर लगानीकर्तालाई सुविधा दिने नाममा खर्च गर्न तयार देखिँदैन थियो । ती सबै लगानीकर्ता गाउँको बैंकबाट भरेको आर्इपीओ बेच्न यिनै सीमित ब्रोकरको कार्यालयमा खाता खोल्न खाजा चामल बोकेर पुग्नुपर्ने बाध्यात्मक अवस्था कायमै छ । नेप्सेले जस्तोसुकै अनलाइनको व्यवस्था गरे पनि अनलाइनमार्फत कारोबार खाता खोल्न त्यति सजिलो छैन ।

बैंकले ब्रोकर लाइसेन्स पाए वा लिए, आर्इपीओ भरेजसरी नै मानिसले सजिलै आफ्नै आँगनबाट भएको सेयर बिक्री गर्न सक्छन् । तर, तिनै ब्रोकर र त्यसको संघ लगानीकर्ताको आँगनमा पुग्ने सेयर किनबेचको सुविधालाई छेक्न बैंकलाई सेयर ब्रोकरको काम गर्न दिनु हुँदैन भनेर अझै कुर्लिरहेका छन् ।

सर्वसाधारणको सुविधामा तगारो हाल्न हरतरह लागेका छन् । केही दिनअघि मात्र ब्रोकर संघको अध्यक्षले भनेका थिए– ‘बैंकलाई ब्रोकरको लाइसेन्स दिए इन्साइडर कारोबार हुन्छ, जसले बजारमा साना लगानीकर्ता अन्यायमा पर्छन् ।’

आर्इपीओ सेयर बजारको एउटामात्र पाटो हो । मैले ती भाइलार्इ अर्को पाटोको बारेमा जिज्ञासा राखिन किनकि त्यो जिज्ञासाको बारेमा म पूरै जानकार थिएँ । दोस्रो पाटो थियो– सेयरको बिक्री ।

कम्पनीभित्रको गोप्य सूचना सार्वजनिक हुनुअघि नै त्यसका आधारमा सेयर किनबेच गर्नुलाई इन्साइडर कारोबार भनिन्छ । संसारका सबैभन्दा ठूला सेयर ब्रोकर बैंक नै भएको अवस्थामा ब्रोकरले यस्ता कुतर्क बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने माग सुरु भएदेखि नै गरिरहेका छन् र अझै गर्न छोडेका छैनन् । लगानीकर्ताका समस्या देखेर पनि नदेखे जस्तो गरेको, ननिदाए पनि निदाएको भान गरेको नेपाल राष्ट्र बैंकको नेतृत्वलाई प्रभावमा पारेर बैंकलाई लाइसेन्स दिने विषय केही वर्ष पर धकेल्न सफल पनि भए, जसका कारण उपत्यकाबाहिरका लगानीकर्ता पीडित बनिरहेका छन् ।

केही स्थानमा शाखा विस्तार गरेझैं गरेर लगानीकर्तालाई नेपालभरबाट सेवा दिने नाटक मञ्चन भयो, जसमा धितोपत्र बोर्ड र नेप्से पनि नाट्यकर्मीका रुपमा सहभागी भए । तर, यो नाटक ब्रोकरले आफ्नो व्यवसायको सुरक्षाका लागि गरेको एउटा मञ्चनमात्र थियो ।

अब ब्रोकरको सेवा हरेक गाउँपालिकामात्र नभर्इ विश्वभर पुग्न सक्नुपर्छ, जुन  टपरी नभनौं दुनो पनि नभरिने पुँजी बोकेर बसेका अहिलेका ब्रोकरबाट सम्भव छैन । त्यसका लागि बैंक अघि सर्नुपर्छ र नेपाल राष्ट्र बैंकले केही महिनाअघि ल्याएको मौद्रिक नीतिमा गरेको बैंकलाई ब्रोकर लाइसेन्स दिने व्यवस्था तत्काल कार्यान्वयनमा लानुपर्छ । आशा छ, धेरै बैंकले आगामी साधारणसभाबाट ब्रोकर लाइसेन्स लिने बाटो खोल्नेछन् र स्वीकृतिका लागि राष्ट्र बैंक र अन्य नियामककहाँ पुग्ने छन् ।

सानिमा बैंकले भर्खरै ल्याएको सेयर कारोबारको सुविधा कुनै स्थायी नभर्इ अस्थायी प्रकृतिको मात्र हो । र, यो नियामक निकाय र नेप्सेको अपांग अनलाइन कारोबार प्रणालीलाई दबाब दिने एउटा माध्यममात्र हो ।  यो सेवामा ब्रोकरकै काम गरेर लगानीकर्तालाई दिने सुविधा जस्तो सजिलो भने हुने छैन ।

बैंकको यो प्रयासलाई पनि ब्रोकरले अप्रत्यक्ष रुपमा गैरकानुनी भनेर भ्रम फैलाउन नखोजेका होइनन् तर उपाय लागेन । लगानीकर्ताले पाउने सुविधा विस्तारमा समय–समयमा बाधा पुर्याउन खोजिन्छ । तर, समय बलवान छ भन्ने पनि बुझ्न आवश्यक छ । यसअघि, तत्कालीन अर्थसचिव रामेश्वर खनालले पदको दुरूपयोग गरी श्रीमतीको सेयर ब्रोकर व्यवसाय बचाउन नयाँ ब्रोकर नथप्न ठूलै प्रयास गरे तर सकेनन् । अहिले तिनै थपिएका नयाँसहितका ब्रोकरले बैंकलाई ब्रोकर लाइसेन्स दिएर लगानीकर्ताले पाउने सेवा विस्तारसहितको बजार विकास हुने कुरामा अर्को असफल प्रयास जारी राखेका छन् ।

(भट्टराई सेयर बजार विश्लेषक हुन् ।)

प्रकाशित समय १३:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु