गृहपृष्ठ श्रद्धासुमन विजयबाबु
श्रद्धासुमन विजयबाबु
विजयबाबु खत्रीको निधन भएको सात वर्ष पूरा भएको छ । २०६८ साल मंसिर १२ गते रुपन्देहीको सालझण्डीमा भएको सवारी दुर्घटनामा उनको निधन भएको हो, जतिबेला उनी भर्खर ३४ वर्षका थिए । उमेरले सानै भए पनि जिम्मेवारीका हिसाबले परिपक्व विजयबाबुले निकै गह्रुँगो भारी बोकेका थिए– नेपालकै पहिलो राष्ट्रिय आर्थिक दैनिक ‘कारोबार’को ।
विजयबाबु लगनशील, कतव्र्यनिष्ठ र हक्की स्वभावका पत्रकार थिए । जुझारुपन र निरन्तरता उनीबाट सिक्नुपर्ने कुरा हुन् । पेसागत मर्यादालाई ख्याल गर्थे । शालीन स्वभावका थिए । आफूले जत्तिकै मेहनत अरुले पनि गरिदेओस् भन्ने ठान्थे । उच्च लक्ष्य राख्थे र लक्ष्य भेट्न ‘हाइस्पिड’मा दौडन्थे पनि । उनको गति तीव्र थियो, सायद नियतिलाई यही मन परेन र चाँडै टिप्यो । निधन भएको एक दशक पुग्न लाग्दा पनि उनीसँग संगत गरेका पत्रकारहरुको मानसपटलमा ताजै छन् । पत्रकारिता जगतमा उनको अभाव खड्किएको छ । प्रजातन्त्र, प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार र नेपाली जनताको पक्षमा कलम चलाएकै कारण उनी स्मरणीय बनेका हुन् ।
आर्थिक जगतको पहिलो पत्रिका ‘कारोबार दैनिक’ नेपालमा चल्नसक्छ भनेर उनैले लगानीकर्तालाई विश्वस्त तुल्याए र लगानीका लागि सहमत गराए । परिणामतः कारोबार जन्मियो र आजका मितिसम्म पनि नेपाली आर्थिक पत्रकारिताको नेतृत्व गरिरहेको छ । तर, दुर्भाग्य भन्नुपर्छ, त्यसकै ‘जन्मदाता’ विजयबाबुले भने पत्रिकाको औपचारिक नेतृत्व गर्ने अवसर पाएनन् ।
विजयबाबुको इहलीलासँगै एउटा कोर्स समाप्त भयो । तर, त्यसको सात वर्ष बित्दै गर्दा उनको पत्रकारिता यात्रालाई (सांकेतिक रुपमा) निरन्तरता दिने प्रयास भएको छ– न्युज कारोबार डट कमका माध्यमबाट । पत्रकारितालाई आफूलाई जत्तिकै माया गर्ने विजयबाबुलाई अब न्युज कारोबारले जीवन्त बनाउनेछ । हामी प्रतिबद्ध छौं– नेपाली पत्रकारितालाई सभ्य, मर्यादित र व्यावसायिक बनाउने उनको प्रण पूरा गर्न ।
विजयबाबुको सातौं स्मृति दिवसमा न्युज कारोबारले अर्को महत्वपूर्ण घोषणा गरेको छ– ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ । २०७६ मंसिर १२ गतेदेखि हरेक वर्ष निरन्तर प्रदान गर्ने गरी यो पुरस्कार घोषणा गरिएको हो । विजयबाबुको निधन हुँदाकै उमेर ३४ वर्षलाई आधार बनाएर पुरस्कारको सुरु राशि पनि ३४ हजार रुपैयाँ नै राखिएको छ । पत्रकारिताको माध्यमबाट समृद्ध नेपाल बनाउने अभियानमा सहभागी एक जना सञ्चारकर्मीलाई पुरस्कार प्रदान गरिनेछ । तीन लाख ५० हजार रुपैयाँको अक्षय कोष खडा गरेर स्थापना गरिएको पुरस्कारको राशि र अक्षय कोष दुवैलाई निरन्तर बढाउँदै लगिनेछ ।
विजयबाबुले देखाएको निडर, निष्पक्ष र इमानदार पत्रकारिताको क्षेत्रमा निरन्तर अघि बढिरहने दृढ संकल्पसहित न्युज कारोबारको प्रकाशन सुरु भएको हो । यो संकल्पमा अविचलित रहेमात्र हामीले विजयबाबुप्रति सच्चा सम्मान प्रकट गरेको ठहर्नेछ । उनको सातौं स्मृति दिवसका दिन यो संकल्पमा निरन्तर अडिग रहने प्रण गर्दै उनीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौं ।
प्रकाशित समय १५:०२ बजे

















