गृहपृष्ठ दुई भिन्न स्थानबाट ओली-प्रचण्डले देखेको समान खतरा
दुई भिन्न स्थानबाट ओली-प्रचण्डले देखेको समान खतरा
फाइल तस्बिर
मंगलबार फागुन १ गते । यो दिन दुई संयोग थिए- जनयुद्ध दिवस तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा । कार्यक्रम दुई छुट्टाछुट्टै स्थानमा आयोजना गरिएका थिए ।
समय पनि केही समयको अन्तरालको थियो । मिडियाले दुवै कार्यक्रमलाई महत्व दिए ।
सर्वप्रथम सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मुख्यालय धुम्बाराहीमा जनयुद्ध तथा जनआन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि थिए नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
त्यसको केही समयपछि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा थियो । र त्यसको प्रमुख अतिथि थिए प्रधानमन्त्री समेत रहेका नेकपाकै अर्का अध्यक्ष केपी शर्मा ओली ।
नेकपाले पार्टी मुख्यालयमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा ओली उपस्थित भएनन् । सरकारले आयोजना गरेको कार्यक्रममा प्रचण्ड अनुपस्थित हुनु स्वाभाविक मानिए पनि धुम्बाराहीको कार्यक्रममा ओली नजानुले राजनीतिक महत्व राख्ने देखिन्छ ।
दुई छुट्टा छुट्टै कार्यक्रममा नेकपाका यी दुई अध्यक्षले अन्य विविध कुरा गरे । तर, एउटा समान कुरा पनि गरे, जुन पार्टी एकता र त्यसको स्थायीत्वसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।
गत जेठ ३ गते एमाले र माओवादी एक भई नेकपा गठन भयो । तर, नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादी मानसिकता (धङधङी) अझै मेटिइनसकेको धेरैको टिप्पणी छ । धुम्बाराहीको कार्यक्रममा ओलीको अनुपस्थितीलाई धेरैले यो कोणबाट पनि हेरेका छन् ।
विश्लेषक र टिप्पणीकारका कुरा आफ्ना स्थानमा होलान् । तर, एकै दिन पार्टीका दुई अध्यक्षले पार्टी फूटाउने खेल भइरहेको टिप्पणी गर्नुको अर्थ भने कार्यकर्ताहरूले खोज्नेछन् ।
केन्द्रमा एकता टुंगिएको भनिए पनि सबै तहमा नेकपाको एकताले पूर्णता पाइसकेको छैन । पार्टीभित्र अन्तरविरोध र गुटबन्दी मौलाउँदै गएको छ । केही नेकपाका नेताहरूले यसबारेमा खुलेरै बोल्न थालेका छन् ।
प्रचण्डले धुम्बाराहीबाट ‘प्रतिक्रियावादीहरूलाई कमजोर बनाउँन’ एकढिक्का हुनुपर्ने आवश्यकता देखिरहँदा राष्ट्रिय सभागृहबाट ओलीले भने पार्टीमा फूट ल्याउने कोशिस भइरहेको बताए ।
भलै प्रधानमन्त्री ओलीको यो अभिव्यक्ती उनको पहिलो प्रधानमन्त्रीत्वमा ल्याइएको अविश्वासको प्रश्तावउपर ल्याइएको अविश्वासको प्रस्तावको उत्तर दिँदै उनले स्मरण गरेको अरूणा लामाको, ‘पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालें…’ स्तरको भने थिएन ।
दुई अध्यक्षले एकै दिन यस्ता कुरा राख्नुले केही मतान्तर रहेको बुझ्न सकिने आधार दिने कतिपयको बुझाई छ । जसलाई पछिल्ला दुईवटा घटनाक्रमले बल दिएका छन् ।
अघिल्लो शुक्रबार प्रचण्डले संघियता कार्यान्वयनमा सरकारले गरिरहेको कामकारबाहीउपर टिप्पणी गरेका थिए । त्यसबखत उनले संघीयता कार्यान्वयनमा सरकारले गरिरहेको कामकारबाहीको आलोचना गरेका थिए । जसले सम्भवतः ओलीको मनमा चिसो पसेको हुनसक्छ ।
अर्कातर्फ भेनेजुएला प्रकरणका सम्बन्धमा प्रचण्डले निकालेको विज्ञप्तीमा नेकपाभित्र समान धारणा नरहेको समाचारहरू बाहिर आइरहेका छन् । यद्यपी नेकपाले आधिकारिक रूपमा उक्त वक्तव्यको खण्डन नगरेको अवस्थामा सो नै नेकपाको आधिकारिक धारणाका रूपमा रहेको छ ।
एक वर्षे सरकार सञ्चालनको अवधिमा प्रधानमन्त्री ओलीको अघिल्लो शासनकालमा पाएको लोकप्रियता पनि खस्किएको विश्लेषण भइरहँदा उनलाई प्रचण्डको दर्विलो साथ चाहिएको छ । किनकि उनीप्रति पूर्व एमाले भन्दा पूर्व माओवादीहरू नरम देखिएका छन् । यही बेला प्रचण्डले संघीयता कार्यान्वयनको सवाललाई लिएर शुक्रबार टिप्पणी गरेका थिए ।
संघीयता कार्यान्वयनमा प्रचण्डले खुलेरै टिप्पणी गर्नुले पार्टीमा समस्या रहेको देखिएला नदेखिएला छुट्टै पाटो हो तर, सरकार सञ्चालनका सम्बन्धमा पार्टीभित्र एकमत नरहेको प्रष्टै देखिन्छ ।
नेकपाले यसलाई कसरी हल गरेर अघि बढ्ला ? यो चासो भइरहेका अवस्थामा पछिल्लो अभिव्यक्तिले कार्यकर्ताहरूमा संशय प्रदान गर्ने सहज अनुमान गर्न सकिन्छ ।
प्रकाशित समय १६:२३ बजे

















