गृहपृष्ठ प्रधानमन्त्रीले भने- नेपालको सीमाभित्र प्रवेश गरेपछि गरगहना हराउने चिन्ता अब रहँदैन

प्रधानमन्त्रीले भने- नेपालको सीमाभित्र प्रवेश गरेपछि गरगहना हराउने चिन्ता अब रहँदैन

kp oli_newskarobar फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै सरकारले वर्षदिन पूरा गर्नु नेपालका लागि अचम्म भए पनि वर्तमान सरकार पाँच वर्ष आरामसँग चल्ने बताएका छन् । बिहीबार प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक स्थायित्व भएको बताउदै सो धारणा राखेका हुन् ।

अब सरकारले आरामसँग पाँच वर्ष पूरा गर्ने बताउँदै ओलीले भने, ‘पर्सी सरकारको एकवर्ष पूरा हुँदैछ । सरकारको वर्षदिन पूरा हुनु नेपालका लागि अचम्म जस्तो लाग्छ । अब सरकार, पाँच वर्ष आरामसँग जान्छ, बहुमतको स्थिर सरकार पनि छ ।’

प्रधानमन्त्री ओलीले स्थायी सरकार ढाल्ने सोच राख्ने धेरै भएको जिकिर गरे । आफ्नो पार्टी नेपार्टीमा समस्या पैदा गर्ने प्रयास भइरहेको बताउँदै उनले तर, त्यो सफल नहुने  दाबी गरे । उनले त्यो प्रवृत्तिलाई सरकारको कामलाई भैँसी मर्ला र खाउला भन्ने प्रवृत्तिसँग तुलना गरे ।

‘एउटा भैंसी हेरेर एउटा जीवले भन्छ, भैसी मरेदेखि खान्थें । हेर्दा हेर्दै भैँसी ब्यायो । पाडो पायो र पाल्नेले दूध खायो । मर्ला र खाउँला भनेर कुर्नेले यही दिन देख्न पर्ला भनेर बाँचेको थिए, आजसम्म, कुन दिन देख्नु पर्यो,’ ओलीले अगाडि भने, ‘भैँसीका लागि पाडाका लागि देख्न खोजेको यही हो । आज नेपाली जनताले देख्न खोजेको दिन यही हो ।’

ओलीले देशको परिचय विकसित र आधुनिक देशको रुपमा चिनाउने गरी काम गर्नुपर्ने जरुरी रहेको पनि बताए । नेपाललाई दुनियाँको सभ्य, नैतिकवान, शान्त देश बनाउने गरी सरकारले अनेक प्रयास अघि बढाएको प्रधानमन्त्री ओलीले दावी गरे ।

प्रधानमन्त्री ओलीले नेपालको सीमानाभित्र छिरेपछि ढुक्कको श्वास फेर्ने गरी शान्ति सुरक्षाको सु-व्यवस्था कायम गर्ने सन्दर्भमा काम भइरहेको बताए । नेपालको सुरक्षा व्यवस्था चुस्त भैरहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘नेपालको सीमानाभित्र पसियो, अब सुरक्षाको चिन्ता गर्नु पर्दैन, सुनचाँदीका गहना होस् वा साना झोला नै किन नहोस् कुनै पनि सामान हराउने चिन्ता अब रहँदैन ।’

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मरुभूमिलाई हरियालीमा बदल्ने नेपाली युवाहरुको पौरखी हात मातृभूमिको विकासमा उपयोग हुनेमा विश्वास व्यक्त गरे । प्रधानमन्त्री रोजगार कार्यक्रम सित्तैमा पैसा बाँड्ने कार्यक्रम हुने हो कि भन्ने संशय बाहिर रहेको भन्दै उनले त्यस्तो संशय नराख्न आग्रह गरे ।

रोजगारी प्राप्त गर्न नसकेको अवस्थामा मात्रै यो  सुविधा पाइने पनि मन्त्री विष्टले स्पष्ट पारे । बिनाकाम सबै बेरोजगारलाई भत्ता बाँड्न नहुने बताउँदै सरकार, निजी र सहकारीको सहकार्यमा मात्रै बेरोजगारी समस्याको अन्त्य हुने पनि मन्त्री विष्टले बताए ।

प्रकाशित समय १५:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु