गृहपृष्ठ साझा अधिकारलाई संकुचित बनाइनुहुँदैन : मुख्यमन्त्री शाही
साझा अधिकारलाई संकुचित बनाइनुहुँदैन : मुख्यमन्त्री शाही
नेपालको संविधान जारी भएको दिन असोज ३ गते पाँच वर्ष पूरा हुँदैछ । जारी संविधानअनुरुप मुलुकमा तीन सरकार अस्तित्वमा छन् र ती तीनै सरकारको कार्य सम्पादनद्वारा संघीय प्रणालीको अभ्यास भइरहेको छ । संघीय प्रणाली कार्यान्वयनका चरणमा सबै प्रदेशहरुले आआफ्नो हिस्सा राख्छन् । नयाँ संविधानअनुसार राज्य पुनःसंरचनाका क्रममा सात प्रदेश स्थापना भए, जसमा कर्णाली प्रदेश पनि एक हो । प्रदेश सरकार गठनपछि संविधानप्रदत्त अधिकारहरुको केकति उपयोग भएको छ ? ऐन, कानुन तथा नीति निर्माण र तिनको लागु एवं कार्यान्वयनमा देखिएका चुनौती केकस्ता छन् ? संघीय सरकारसँग राखिएको अपेक्षा र भएको सम्बोधनलगायत सन्दर्भमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग राष्ट्रिय समाचार समिति कर्णाली प्रदेश प्रमुख शुरबहादुर सिंह र उपसमाचारदाता प्रकाश अधिकारीले लिएको अन्तर्वार्ताको सम्पादित अंश :
नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा हुँदैछ । लामो समयको राजनीतिक परिवर्तनपछि प्राप्त संविधानले गरेको परिकल्पना र मर्मबमोजिम संघीय प्रणाली व्यवहारतः लागू भयो भन्ने ठान्नुहुन्छ ?
मूलतः जनयुद्ध, जनआन्दोलन र मुलुकका विभिन्न क्षेत्रमा भएको विद्रोहको उपलब्धि नै संविधान र संघीयता हो । यसले लामो समयदेखिको केन्द्रीकृत एकात्मक शासन व्यवस्था अन्त्य गरी नयाँ शासन व्यवस्थाको बीजारोपण गर्यो । यसमा जनताको संघीर्षपूर्ण बलिदान र त्याग तपस्याबाट प्राप्त संविधानको परिकल्पना र मर्म बमोजिम मुलुक संघीय प्रणालीमा गएको छ । संविधानतः इतिहासमा पहिलो पटक नेपालले संघीयताको अभ्यास गर्दैछ । यो व्यवहारतः लागु हुने क्रममा, कार्यान्वयन प्रक्रियामा अघि बढिरहेको छ ।
गाउँगाउँमा सिंहदरबार भन्ने गरिँदै आएको छ । के सिंहदरबारको अधिकार गाउँमा पुगेको अनुभूति जनताले गरेको पाउनुभएको छ ? यसलाई संस्थागत गर्न के गर्नुपर्ला ?
हामी केन्द्रीकृत राज्य व्यवस्था नै बदलेर संघीयता संरचनामा आएका छौं । परिणामस्वरुप मुलुकमा तीन तहका सरकारहरु अस्तित्वमा छन् । जनताको सबैभन्दा नजीकको सरकार भनेको स्थानीय तह र प्रदेश सरकार हुन् । स्थानीय तहहरुले पनि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अभ्यास गरिरहेका छन् । विगतमा सानो कामका लागि जिल्ला, क्षेत्र र केन्द्रबाट सेवा लिन बाध्य जनताले आज ती सेवा आफ्नै घरआँगनबाट लिन पाइरहेका छन् । शक्ति विकेन्द्रीकरणले नागरिकका थुप्रै समस्या नजीकको सरकारबाट हल भएका छन् । यसले नागरिकहरुलाई सिंहदरबारको अधिकार गाउँगाउँमा आएको अनुभव भइरहेको छ । यो नै संघीय व्यवस्थाको सबल पक्ष हो ।
समाजवादोन्मुख संविधान र यसले परिकल्पना गरेको सङ्घीय व्यवस्था कार्यान्वयन प्रक्रियाका हिसाबले यो संक्रमणकालीन अवस्थामा नै छ । केन्द्रीकृत राज्य व्यवस्थाका अवशेषहरुले यो व्यवस्था कार्यान्वयनमा केही अवरोध खडा गरेको पाउन सकिन्छ । यो मोडेल असफल पार्नका लागि प्रयासहरु भइरहेका पनि छन् । यद्यपि जनताबाट निर्वाचित तीनै तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु इमान्दार, जवाफदेही र जिम्मेवार बनेर काम गर्न सके यो व्यवस्था संस्थागत गर्न सकिन्छ ।
संविधानबमोजिम गठित कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने पहिलो अवसर यहाँले पाउनुभएको छ । संविधानले दिएका अधिकार उपयोग गर्ने क्रममा देखिएका समस्या वा कठिनाइ केके अनुभव गर्नुभएको छ ?
हो, मुलुकको व्यवस्था परिवर्तनका लागि हामी लामो संघर्ष गर्दै आयौं । फलतः मैले कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएको छु । एउटा कुर्सी र टेबलबाट सुरु भएको प्रदेश सरकार अहिले एउटा आकारमा आएको छ । हामीले एकल अधिकारभित्रका तीन दर्जनभन्दा कानुन बनाइसकेका छौं । प्रदेश सरकारअन्तर्गत १० जिल्लामा एकाइ कार्यालय निर्माण भइसकेका छन् । चालू आर्थिक वर्षको प्रारम्भदेखि हामीले प्रदेश लेखा नियन्त्रक एकाइ कार्यालय स्थापनाको काम अघि बढाएका छौं र चार जिल्लामा कार्यालय पनि स्थापना भइसकेका छन् । संगठनात्मक संरचना पनि प्रदेश सरकारले बनाएको छ । यद्यपि संघले धेरै कानुन बनाई नसकेकाले भने साझा अधिकारका कानुन निर्माण गर्न र त्यहीअनुरुप काम गर्न कठिन भइरहेको छ । संविधानमा स्पष्ट उल्लेख भएका अधिकार पनि संघीय सरकारले प्रत्यायोजन नगर्दा केही समस्या छन् । प्रदेशले अहिलेसम्म प्रहरी परिचालन गर्ने अधिकार पाएको छैन । प्रदेश सरकारको भौतिक संरचना निर्माण गर्न भूमि प्राप्तिमा पनि त्यस्तै कठिनाइहरु छन् ।
संविधान कार्यान्वयनको चरणमा गएपछि सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुग्यो भनिएको छ । तपार्ईँहरु केन्द्रले अझै अधिकार प्रत्यायोजन गरेको छैन भन्दै हुनुहुन्छ । केन्द्रसँग तपाईंहरुको माग केके हो ?
खासगरी संविधानमा व्यवस्था भएका अधिकारको प्रयोग र तिनको प्रत्यायोजन पूर्णतः अहिले पनि भएको छैन । संघमा बन्ने कानुन अझै बनेका छैनन् । संविधानको अनुसूचीमा व्यवस्था गरिएबमोजिमका कानुन बनेका छैनन् । संघीय सरकारले ऐनकानुन निर्माणमा देखिएका उदासीनताले प्रदेशका काम प्रभावित भएका छन् । जनअपेक्षाअनुरुप काम भएको छैन । कानूनी अड्चनले कतिपय कुरामा अन्योल सिर्जना गरेको छ । विशेषगरी प्रदेश तथा स्थानीय सरकारहरुलाई सहज तरिकाले काम गर्ने बाटो खुला गर्न संघीय सरकार गम्भीर बन्नुपर्छ ।
संविधानका कतिपय बुँदामा अझै असन्तुष्टि र विरोधाभासका स्वर बेलाबखत सुनिने गरेका छन् । सबै नेपालीले संविधानप्रति अपनत्व महसुस गर्न सकेका छैनन् । असन्तुष्टिका स्वरलाई सम्बोधन गर्न संविधानलाई संशोधन गर्न आवश्यक देख्नुहुन्छ ?
मलाई लाग्छ, संविधान अक्षरशः कार्यान्वयन हुँदा नागरिकहरुका लागि त्यही काफी हुन्छ । संविधानले मौलिक अधिकारको व्यवस्था गरेको छ, जहाँ समानुपातिक, समावेशी र समाजिक न्याय दिलाउने गरी अधिकारको व्यवस्था भएको पाउन सक्छौं । पुरातनवादी एवं केन्द्रीकृत सोचबाट मुखरित स्वरहरुका बारेमा ठ्याक्कै भन्न सकिँदैन । दस्तावेजमा व्यक्त तर व्यवहारमा लागु हुन नसकेर निस्किएका असन्तुष्टिका स्वरहरु संविधान र संघीयताको प्रभावकारी कार्यान्वयनबाट स्वतः सम्बोधन हुने कुरामा दुईमत छैन ।
संविधानमा दलित, महिला, अपाङ्गता भएका, सीमान्तकृत वर्गको अधिकार प्रत्याभूत गरिएको छ तर व्यवहारमा लागू भइरहेको दैखिँदैन । यसमा कसको कमजोरी देख्नुहुन्छ ?
पुरानो राज्य व्यवस्था परिवर्तन भई नयाँ व्यवस्था लागू हुँदा त्यहाँ केही हदसम्म संक्रमणकालीन अवस्था सिर्जना हुन्छ । लामो समयसम्म जकडिएको पुरातनवादी सोच र शासन व्यवस्थाका अवशेषहरु कहीँ न कहीँ रहँदा हाल निर्माण भएका कानुनहरु लागु गर्नमा अवरोध पुगेको जस्तो महसुस हुन्छ । तथापि त्यो भनेर टार्ने छुट कसैलाई छैन । संविधानमा दलित, महिला, आदिवासी/जनजाति, अपाङ्गता भएका, अल्पसङ्ख्यक र सीमान्तकृत वर्गको अधिकार प्रत्याभूत गरिएको छ । यद्यपि ती वर्गले संविधानप्रदत्त अधिकारको अनुभव र अनुभूति गर्न पाएका छैनन् । यसको मूल कारण भनेकै प्राप्त अधिकारलाई कानूनद्वारा व्यावहारिक जीवनमा लागु गर्ने कुराको कमी हो । यसमा सङ्घीय सरकारसहित सबै सरकार गम्भीर बन्नुपर्छ ।
संविधानबमोजिम प्रदेश र सङ्घबीचका साझा अधिकारका विषयमा बन्नु पर्ने ऐन, कानून, नीतिहरु समयमै बन्न नसक्दा प्रदेशस्तरमा संविधान कार्यान्वयनको सवालमा केही अन्योल देखिएको भन्ने भनाइ पनि कतिपयको छ । यो सवालमा यहाँले कस्तो अनुभव गर्नुभएको छ ?
मुख्यमन्त्रीः वास्तवमा प्रदेशको समृद्धिविना नेपालको समृद्धि असम्भव छ । साझा अधिकारलाई संकुचित बनाइनु हुँदैन । यसमा साझा सोच, अवधारणा र बुझाइ आवश्यक छ । संविधानले स्पष्ट व्याख्या गरेका कुरामा पनि अन्योल आउनु दुर्भाग्य हो । यसमा सङ्घीय सरकार संवेदनशील बन्नुपर्छ । कर्णाली प्रदेश सरकारले एकल सूचीका कानून निर्माण गरिसकेको छ । हामीलाई आवश्यक हुनेसम्मका ऐन, कानून बनाइसकेका छाैं । कागजमा धेरै कानुनका चाङ बनाउन आवश्यक छैन । मुख्य कुरा भनेकै बनेका ऐन, कानूनहरुको प्रभावकारी कार्यान्वयन र नागरिकहरुलाई त्यसको प्रत्याभूति गराउनु नै हो ।
विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण समुदायमा पुगिसकेको छ । अब यसको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
कर्णालीमा कोरोना सङ्क्रमण छ तर कोरोना लागेर मर्नेको सङ्ख्या धेरै छैन । अहिलेसम्म मृत्यु भएका छ जना कोरोना भाइरस लागेर अस्पतालमा उपचार गर्दागर्दै मरेका पनि होइनन् । कोरोनाले भन्दा आत्महत्या गरेर मर्ने मान्छेको संख्या महामारीको अवधिमा बढिरहेको छ । यो चिन्ताजनक अवस्था हो । हो, यहाँले भने झैं अहिले कोरोना संक्रमण समुदायस्तरसम्म पुगेको छ । अब प्रदेश सरकारले लक्षण देखिएकाबाहेक अन्यको कोरोना परीक्षण नगर्ने योजना बनाएको छ । जोजसलाई त्यस्तो खालको लक्षण देखिन्छ, तिनलाई निःशुल्क परीक्षण गर्ने नीति बनाएका छौं ।
पछिल्लो समयमा हामीले आइसोलेशन, आइसियु र भेन्टिलेटरको सङ्ख्या बढाएका छौं । कोरोनाका कारण हुन सक्ने गम्भीर समस्याबाट बिरामीलाई बचाउने हेतुले प्रदेश सरकारले कर्णालीका सबै जिल्लामा आइसियु र भेन्टिलेटरको व्यवस्था गरेको हो । स्वास्थ्यका विभिन्न मेसिनरी उपकरण आपूर्तिका लागि संघीय सरकारसँग अनुरोध गरेका छौं भने व्यवस्थापकीय पाटोलाई चुस्त बनाउन यहाँका स्थानीय तहसँग समन्वय गरी देखिएका समस्यामा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । मुख्यगरी कोभिड–१९ को प्रतिकार्य, रोकथाम र नियन्त्रणमा सङ्घीय व्यवस्थाले औचित्य पुष्टि गरेको छ ।
अन्त्यमा संविधान दिवसका अवसरमा नेपाली जनता र मूलतः कर्णाली प्रदेशवासीलाई के सल्लाह र आग्रह गर्न चाहनुहुन्छ ?
मुलुकले चाहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ र कर्णाली चाहेको ‘सुखी कर्णाली, सुखारी कर्णालीबासी’ हो । यी दुवै लक्ष्य प्राप्तिको अभियानमा हामी लागिपरेका छौंँ । ती लक्ष्यहरुलाई संविधानले दिएको अधिकार क्षेत्रमा रहेर हासिल गर्नुपर्नेछ । तसर्थ सरकारले लिएको लक्ष्यलाई सार्थक उचाइमा पुर्याउन समग्र नेपाली तथा कर्णालीबासीमा पाँचौंँ संविधान दिवसले एकताको भाव पैदा गरोस् भन्ने शुभकामना व्यक्त गर्न चाहान्छु । साथै कोभिड–१९ ले उत्पन्न गरेको विश्वव्यापी महामारीबाट जोगिन सबै नेपालीलाई आत्मानुशासित भई सरकारद्वारा निर्दिष्ट जनस्वास्थ्यका मापदण्ड पूरा गर्न हार्दिक आग्रह गर्दछु । (रासस)
प्रकाशित समय १७:३८ बजे

















