गृहपृष्ठ टेलिभिजनमा भूषण दाहालका तीस वर्ष (अन्तर्वार्ता)

टेलिभिजनमा भूषण दाहालका तीस वर्ष (अन्तर्वार्ता)

फायरसाइड सुरु गर्दा केही पत्रकारले ‘नौटंकी’ भने

नेपाली सञ्चारजगतमा भूषण दाहाल एउटा ‘ब्रान्ड’को रुपमा स्थापित भइसकेका छन् । टेलिभिजनमा ३० वसन्त बिताइसकेका उनी अहिले पनि उत्तिकै सक्रिय छन् । अझै उनी दैनिक १२–१५ घण्टा टेलिभिजनकै लागि खट्छन् । ५२ वर्षको उमेरमा पनि उनको सक्रियता उस्तै ऊर्जाशील र अनुकरणयोग्य छ । समाजशास्त्रमा स्नातकोत्तर गरेका उनी भिडियो र डकुमेन्ट्री निर्देशनका ‘बादशाह’ नै मानिन्छन् । हाल उनी कान्तिपुर टेलिभिजनका निर्देशकका रुपमा कार्यरत छन् । विश्व टेलिभिजन दिवसका अवसरमा दाहालसँग ३० वर्षे अनुभव, नेपाली टेलिभिजन र टेलिभिजनकर्मीका विविध विषयमा दिनेश गौतमले गरेको कुराकानी :

तपाईंको व्यक्तिगत/पारिवारिक पृष्ठभूमिबारे बताइदिनुस् न !

मेरो जन्म २०२३ सालमा काठमाडौँमा भएको हो । म मेरा अभिभावकको एक्लो छोरा हुँ । कान्तिश्वरी, बूढानीलकण्ठ हुँदै सेन्ट जेभियर्स स्कुलबाट मैले विद्यालय शिक्षा पूरा गरेँ । एसएलसी प्रथम श्रेणीमा पास गरेपछि मेरा अभिभावकले मलाई विज्ञान विषय पढ्न फोर्स गर्नुभयो । फेरि एउटा मान्यता जो अहिलेसम्म छ कि एसएलसी फस्र्ट डिभिजनमा पास गरेपछि विज्ञान नै पढ्नुपर्छ । त्यही मान्यताअनुसार म अमृत साइन्स कलेजमा भर्ना भएँ । त्यहाँ पढाइ खासै राम्रो थिएन । त्यसैले मैले साइन्स राम्रोसँग पढ्न सकिनँ । मैले साइन्स छोडेर मानविकी पढ्ने निर्णय गरेँ र त्रिचन्द्र कलेजमा भर्ना भएँ । त्यहाँ अर्थ, राजनीति र अंग्रेजीमा मैले बीए पास गरेँ । एमएचाहिँ मैले समाजशास्त्रमा गरेँ ।

टेलिभिजनमा कहिले र कसरी प्रवेश गर्नुभयो ?

म टेलिभिजनमा काम गर्छु र यसैमा भविष्य बनाउँछु भनेर आएको थिइनँ । सन् १९८८ तिरको कुरा हो, २०–२१ वर्षको थिएँ, बीए पढ्दै थिएँ । नेपाल टेलिभिजनमा बिहानी प्रसारणमा काम गर्न एकजना मित्रले मलाई भन्नुभयो । खाली थिएँ । ती मित्रले प्रस्ताव गरेको भोलिपल्टदेखि नै म नेपाल टेलिभिजनमा काम गर्न थालेँ । पहिलो दिनको काम थियो, त्यहाँका तारहरु बेर्नु । म अहिले पनि कुनै कामलाई सानो–ठूलो मान्दिनँ । आफूले पाएको जिम्मेवारी म इमानदारीसाथ निभाउँछु । त्यतिबेला त्यसै गरेँ । बिल्कुल शून्य तहबाट म टेलिभिजनमा प्रवेश गरेको हुँ । पछि मैले कार्यक्रम प्रोड्युसर भएर काम गरेँ । म साधारण कार्यक्रम बनाउँथे ।

तलब कति थियो ?

दिनको २० रुपैयाँ । महिनाको ६ सय त देऊ न भनेँ तर दिनेले दिनको २० रुपैयाँ हो यही फाइनल भनिदिए । हरेक दिन जाने, काम गर्ने, २० रुपैयाँ लिने घर जाने । आज काम गरेको आजै लिन गएन भने त्यो पैसा गयो । भोलिपल्ट काम गर्छु र ४० रुपैयाँ लिन्छु भनेर नसोचे पनि हुन्थ्यो ।

पहिलो दिनको २० रुपैयाँ के गर्नुभयो ?

याद छैन । सायद चुरोट पिएँ ।

कति खट्नुहुन्थ्यो ?

खट्नचाहिँ म व्यापक नै खट्थेँ । कुपन्डोलबाट हिँड्दै–हिँड्दै सिंहदरबार आउँथे । १५ देखि १८ घण्टासम्म काम गर्थेँ । मैले टेलिभिजनमा काम गरेरै जीवन गुजारुँला भन्ने सोचेको थिइनँ । तर, म आफूले थालिसकेको कामलाई जागिरमै मात्र सीमित राख्न पनि चाहन्न थिएँ । त्यसैले म काममा ज्यादा फोकस्ड थिएँ । अरुबेला टेलिभिजनबारे विभिन्न टिप्पणी गर्दै बसिन्थ्यो । अब आफैं टेलिभिजनमा प्रवेश गरियो । अब नछिर्नु छिरिसकेपछि अरु खैरात छैन भनेर म जोतिएर लागेँ । सिक्ने इच्छा ममा धेरै थियो । तर, सिकाउने कम थिए । त्यतिबेला मलाई मेरा एडिटर साथी रवीन्द्र पाण्डेले निकै प्रोत्साहित गर्नुभयो ।

टेलिभिजनमा भविष्य बनाउँछु भन्ने सपना थियो ?

वास्तवमा भन्दा मसँग कुनै सपना नै थिएन । म यो बनुँला, त्यो बनुँला केही योजना थिएन । मसँग ऊर्जाचाहिँ थियो । म जेमा टेक्छु, त्यसैमा जम्छु भन्ने साहस थियो । फेरि म योजना बनाएर चल्नेमा पर्दिनँ थिएँ ।

टिभीमै जम्छु भन्ने सोचचाहिँ कहिलेदेखि आयो ?

हेर्नुस्, म पौडिन नजान्दै समुद्रमा हामफालेको थिएँ । मसँग पौडिन सिक्नेबाहेक अरु विकल्प थिएन । काम गर्दै जाँदा हजारौं घण्टा त्यसमा व्यतित गरियो, उत्ति नै मानिसहरुसँग भेट भयो । अब मैले गर्दै गरेको काममा मलाई मजा आउन थाल्यो । कुनै पनि क्षेत्र जान्दै नजानेका मानिसका लागि समुद्र नै हो । त्यसमा हामफाल्नुअघि पौडिन जानेको हुनुपर्छ । पौडिन नजान्दै हामफालेपछि सिक्नुभन्दा अरु विकल्प हुँदैन । सिकेपछि समुद्रको यात्रामा मजा आउन थाल्छ ।

तपाईंलाई कहिलेदेखि लाग्यो, अब म दर्शकमाझ चिनिन थालेँ ?

म फिचरहरु पनि खिच्थेँ । मैले अरु थुप्रै काम गरे पनि सन्डे पप कार्यक्रमले मलाई चिनायो । कार्यक्रमको नवीनताका कारण कार्यक्रम लोकप्रिय बन्यो । त्यसपछि मैले कार्यक्रम ’प्रतिविम्ब’ चलाएँ । यो पनि एक हदसम्म लोकप्रिय बन्यो । त्यसपछि निकै वृत्तचित्र पनि बनाएँ ।

जीवनमा असफल भएको कुनै काम ?

नेपाल टेलिभिजनमा साढे नौ वर्ष काम गरेँ । त्यसपछि इमेज च्यानल खुल्यो र म त्यसमा काम गर्न थालेँ । इमेज च्यानलपछि मैले दिव्यदृष्टि इन्टरनेसनल नामक एउटा सफ्टवेयर कम्पनीको स्थापना गरेँ । तर, सायद समय नै त्यस्तो भएर यसले मलाई फापेन वा मेरो निर्णय गलत थियो । म जे काममा सुहाउँछु र क्षमता राख्छु त्यही काम गर्नुपर्ने रहेछ भन्ने पाठ मैले त्यतिबेलै सिकेँ ।
तर, त्यही बेला दिशानिर्देश कार्यक्रमको परिकल्पना गरेँ र प्रोड्युस गरेँ । मैले कमिटमेन्ट गरेको थिएँ, म १२ इपिसोडमात्रै गर्छु । त्यसपछि मैले छाडेँ पनि । स्मरणीय छ, अहिले कहलिएका पत्रकार विजयकुमार पाण्डेलाई त्यो कार्यक्रम दिलाउनका लागि मैले नै कन्भिन्स गरेको हुँ ।
त्यसपछि म कान्तिपुरसँग जोडिएँ । दुई–चारजना मित्रहरुले मलाई सुझाए, ‘तपाईं परिपक्व पनि हुनुहुन्छ, पोलिटिकल टक सो गर्नुस् ।’ सन् २००३ देखि मैले फायरसाइड सुरु गरेँ । १५ वर्ष भयो, फायरसाइड कार्यक्रम चलिरहेको छ । मलाई थाहा छैन, कति दर्शकले त्यसलाई रुचाउनुभएको छ, कतिले रुचाउनुभएको छैन । तर, म आम दर्शकको आँखा र कानले मागेका खुराक प्रस्तुत गर्न खटिरहेको हुन्छु ।

 

फायरसाइड चलाउन थालेपछि कस्तो प्रतिक्रिया आयो ?

समाचारमा काम गरेर आएको पृष्ठभूमि पनि मसँग थिएन । सायद त्यसैले फायरसाइड सुरु गर्दा मलाई केही अग्रज पत्रकार साथीहरुले ‘नौटंकी’ भने । कार्यक्रम सुरु हुनेबित्तिकै ‘ऊ नौटंकी आयो’ भन्थे । यस्तो टिप्पणीले ममा इख जमायो । मैले अझै मेहनत गर्न थालेँ । नदेखाई त छाड्दिनँ भनेर लागेँ । अहिले ती साथी चुप छन् । सायद मैले देखाएँ कि ! तथापि, यो मूल्यांकन मैले होइन, आमदर्शकले गर्ने हो ।

अहिलेसम्म कति अन्तर्वार्ता गर्नुभयो ?

मैले फायरसाइड चलाउन थालेको १५ वर्ष भयो । यो अवधिमा मैले विभिन्न क्षेत्रका चार सयभन्दा बढी सरोकारवालासँग अन्तर्वार्ता गरेँ ।

कुनै अविस्मरणीय अन्तर्वार्ता ?

म एउटा अन्तर्वार्ता कहिले पनि बिर्सन्नँ । नेपथ्यको ‘सा कर्णाली…’ भन्ने भिडियो बनाउन हामी डोल्पा पुगेका थियौँ । क्याराभानमा खेलेका डोल्पाका थिन्लेलाई पनि लिने भनेर हामीले बोलाएका थियौँ । हामी थकित मुद्रामा ढुंगामा अडेस लागेर बसिरहेका थियौँ । त्यतिकैमा सुर चल्यो र मैले साथीहरुलाई भनेँ, ‘ए केटा हो, थिन्लेले अन्तर्वार्ता दिन्छन् कि सोधेर आओ त !’
सबै कुरा सोध्ने भए इन्टरभ्यु दिने भन्दै थिन्ले आए । मजाले ढुंगामा बसेर अन्तर्वार्ता दिए । मेरो करिअरमा त्यो जस्तो अनेस्ट इन्टभ्यु मैले अहिलेसम्म लिएको छैन । त्यो एउटा विकट ठाउँको मान्छे थिन्ले । स्वभावले नै साह्रै कञ्चन थिए । आफूलाई लागेका कुरा उनी निष्फिक्री गर्थे । नभनी नहुने कुरा भनेरै छाड्थे ।

रिटायरमेन्टबारे केही सोच्नुभएको छ ?

मेरो परिवारमा कमाउने ममात्रै हुँ । मेरा छोराछोरी अहिले कमाएर ल्याउने भएका छैनन् । त्यसैले म आफूले सकुन्जेल काम गर्छु । फेरि उमेरले काम गर्न छेक्दैन भन्ने लाग्छ । अमेरिकी टेलिभिजनकर्मी ल्यारी किंगले अझै अन्तर्वार्ता लिइरहनुभएको छ । युकेका डेभिड फ्रस्टले आफ्नो जीवनको अन्तिम समयसम्म अन्तर्वार्ता गर्नुभयो । म पनि थाकेको छैन ।

नेपाली टेलिभिजनको वर्तमान अवस्था कस्तो देख्नुहुन्छ ?

नेपालमा अहिले टेलिभिजन अलि बढी भए । आवश्यकताभन्दा ज्यादा भए, कमसल भए । टेलिभिजन सञ्चालनका सामान्य अन्तर्राष्ट्रिय मान्यता कतिपय टेलिभिजनमा अझै लागू हुन नसक्नु दुखद पक्ष हो । एउटै वाक्यमा भन्दा यहाँ पनि माग र आपूर्तिको तादाम्यता मिलेको छैन । त्यसैले टेलिभिजनहरु व्यावसायिक हुन नसकिरहेको अवस्था छ । अहिले औँलामा गनिनेबाहेक टेलिभिजनहरु व्यावसायिक ढंगले अघि बढ्न सकेका छैनन् ।

सुधार गर्न के गर्नुपर्ला ?

सोच बदल्नुपर्छ । जे छ चल्दै गर्छ भन्ने सोचबाट मुक्त भएर जे गरिन्छ राम्रो गर्नुपर्छ भन्ने सोचको विकास गर्नुपर्छ । सामाजिक रुपमा उत्तरदायी बन्नुपर्छ । आमदर्शकका चाहनाअनुसारका कार्यक्रम, समाचार दिन सक्नुपर्छ । कर्मचारीलाई खुसी बनाउनुपर्छ ।

टेलिभिजनकर्मीको अवस्था नि !

नेपालमा राम्रा टेलिभिजनकर्मी पनि छन् । तर, कतिपय यस्ता पनि देख्दैछु, जसलाई टेक्नोलोजीले एक्सेप्ट गरेको छैन, दर्शकले रुचाएका छैनन् र पनि स्क्रिनमा आउँछन् । यसले पनि टेलिभिजन र टेलिभिजनकर्मीको व्यावसायिकतामा बाधा पुर्याइरहेको छ ।

एउटा कुशल टेलिभिजनकर्मीमा कस्ता गुण हुनुपर्छ ?

स्क्रिनमा आउने भए सबैभन्दा पहिलो कुरा टेक्नोलोजीले एक्सेप्ट गर्नुपर्छ । त्यसपछि अध्ययन र ज्ञानका कुरा आउँछन् ।

टेलिभिजनको पर्दामा देखिन रुप राम्रो भएको हुनैपर्छ भन्ने मान्यता पाइन्छ, तपाईं के भन्नुहुन्छ ?
म चाहिँ यति भन्छु कि क्यामेराले स्वीकार्नु र अडियो पास हुनु पहिलो सर्त हो । त्यसमा रुप राम्रा भएका पनि पर्छन्, कम भएका पनि पर्न सक्छन् ।

टेलिभिजन क्षेत्रमा आफ्नो भविष्य खोजिरहेकाहरुलाई के भन्न चाहनुहुन्छ ?

बाघजस्तो हुनुपर्छ, हरिणको बथानमा बाघले जुनलाई हेर्छ, त्यसैको सिकार गर्छ । त्यसरी नै जीवनमा हामी जुन क्षेत्रमा हामफाल्छौं, सफल नभइन्जेल संघर्ष गर्नुपर्छ । आफ्नो क्षमता पहिचान गर्नुपर्छ र त्यहीअनुसार अघि बढ्नुपर्छ । अहिलेका युवाले कुनै पनि क्षेत्रमा लाग्न पाएको छैन ‘फ्रस्टेड’ भइयो भनेका सुन्दा मलाई अचम्म लाग्छ । हामी वर्षौंदेखि एउटै क्षेत्रमा घोटिइरहँदा त फ्रस्टेड भाको छैनौँ, युवाहरुले अझै कैयौं पहाड फुटाउनै छ, विशाल नदीहरु तर्नै छ । अहिले नै निराश बनेर जीवनमा कहाँ प्रगति हुन्छ ?

तपाईंसँग गीत गाउने क्षमता छ भने तपाईं उचाइमा पुगिसकेका व्यक्तिलाई हेरेर म ठूलो व्यवसायी बन्छु भनेर दगुर्न हुँदैन । गीत गाउनमा आफूलाई कन्सन्ट्रेट गर्नुभयो भने तपाईंको परिचय उत्कृष्ट गायकको रुपमा बन्न सक्छ । त्यो उचाइमा पुगिसकेको ठूलो व्यवसायीले व्यवसाय छाडेर गीत गाउँछु भनेर लाग्यो भने उसको व्यवसाय चौपट हुन्छ । टेलिभिजनमा पनि त्यस्तै हो । यो बडो दुःखी कर्म हो । यसमा हामफालेपछि धेरै चुनौती फेस गर्न तयार हुनुपर्छ । बीचमा गएर छाड्न पनि सकिँदैन । तर, सफलता मिलेपछि यसमा जति मजा अरुमा बिरलै होला । त्यसैले लामो यात्रा गर्नुछ भनेमात्रै यो क्षेत्रमा जम्प गर्नुहोला ।

अलिक फरक प्रसंगमा कुरा गरौं, वामपन्थी सरकार बनिसकेपछि तपाईंले सत्तारुढ दलका विभिन्न नेतासँग अन्तर्वार्ता गरिसक्नुभएको छ, उनीहरु हरेक भाषणमा आर्थिक समृद्धिको कुरा गर्छन्, पाँच वर्षमा मुलुक समृद्ध हुने कुरामा तपाईंलाई विश्वास लाग्छ कि लाग्दैन ?

मलाई लाग्दैन । समृद्धिका लागि तयारी चाहिन्छ, सेड्युल चाहिन्छ, खै त्यो तयारी ? भाषण गरेर देश बन्ने भए पाँच वर्ष होइन, एक मिनेट वा एक घण्टामै समृद्ध हुन्थ्यो होला ।

नेपालमा अवसर नदेखेर बिदेसिइरहेका युवालाई केही भन्न चाहनुहुन्छ ?

बिदेसिनु कसैको पनि रहर त पक्कै होइन । आर्थिक रुपमा समस्या परेपछि बिदेसिने हो । तर, यो क्षणिक समाधान हो । विदेशमा गएर अरुका लागि बगाउने पसिना नेपालमा बगाउने हो भने पैसा यहीँ छ । चिया पसल गर्नेले त्यसलाई ठूलो रेस्टुरेन्ट बनाउँछु भन्ने अठोटका साथ लाग्नुपर्छ र काम गर्नुपर्छ । खेती किसानी गर्नेले त्यसैमा सम्भावना खोज्नुपर्छ, कामलाई निरन्तरता दिनुपर्छ । सबै कुरा सरकारले गरिदिँदैन । हामी आफैं पनि अग्रसर हुनुपर्छ । सरकारमा बस्नेहरु बेइमान भए भनेर हामीले देश छाड्ने हो भने हाम्रा सन्ततीको भविष्य के हुन्छ, सोच्ने बेला भएको छ ।

प्रकाशित समय १४:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु