गृहपृष्ठ महिला हिंसाविरुद्ध पुरुष किन नबोल्ने : ओनसरी घर्ती

महिला हिंसाविरुद्ध पुरुष किन नबोल्ने : ओनसरी घर्ती

महिला हिंसा हरेक तह र तप्कामा छ

Onsari-Gharti-Magar-newskarobar

ओनसरी घर्ती नेपालको पहिलो महिला सभामुख हुन् । तत्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धकी कमाण्डर घर्ती शान्ति सम्झौतामार्फत माओवादी राजनीतिक मूल प्रवाहमा आएपछि निरन्तर रोल्पाबाट निर्वाचित हुँदै आएकी छन् । तिनै घर्तीसँग महिला हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा सञ्जय श्रेष्ठले गरेको कुराकानी :

 

महिला हिंसाका घटना बढ्दै गएको देखिन्छ, के कारण यस्तो भयो ?
समाजमा यो हिंसा पहिल्यै थियो । अहिले महिलाहरु सचेत बन्दै गएका कारण हिंसाका घटना मिडीयाहरुमा आइरहेको छ । पछिल्लो समय घटेका हिंसाका घटनाबाट हामी सतर्क हुनु पर्ने हो । आपराधिक घटानाहरु नियन्त्रणका लागि सरकार, प्रहरी प्रशासन सबै शक्ति छ । महिलालाई जे गरे पनि हुन्छ भन्ने पुरानो पित्री सत्तातात्मक सोचका कारण पनि यस्तो भइरहेको छ । अर्को कुरा शंसार एउटा चिप्समा अटेकाले राम्रो नराम्रो कुराको प्रयोगको कारण पनि हो भन्न सकिन्छ ।


नेपालको संसदमा महिलाको उपस्थिति दक्षिण एसियामै बढी छ, महिला हिंसा न्यूनीकरणमा तपाईंहरुले के पहल गर्नुभयो ?

हामी त्यहाँ चुप लागेर बसेका छैनौं । सदनमा महिला र महिला हिंसाको बारे हामीले धेरै आवाज उठाएका छौं । पहिले र अहिलेमा महिला बारे बहस र छलफलमा आकाश पातालको फरक छ । यो तत्कालै परिवर्तन भइहाल्ने विषय होइन । अन्धविश्वासको जालोलाई ‘छु मन्तर’ गर्न सकिँदैन । निरन्तरको सघर्षपछि अन्त्य गर्न सक्छौं । स्वयं महिलाहरु पनि यसमा चेतनशील हुनुपर्यो, सचेत रहनु पर्यो ।

बलात्कार, हत्या जस्तो जघन्य अपराधका घटना नियन्त्रणमा सरकारी सक्रियता कमजोर देखिन्छ । निर्मला पन्त बलात्कार र हत्याको यतिको सयम भइसक्दा पनि अभियुक्त भेटिएका छैनन् । दिनदिनै बलात्कार र हत्याका घटना सार्वजनिक भइरहँदा पनि तपाईंहरुको आवाज त त्यति सुनिँदैन !
यो विल्कुल गलत कुरा हो । हामीले संसद चलेको बेलामा महिला हिंसाको विषय उठाइरहेका छौं । संसद बन्द हुँदा पनि सामाजिक सञ्जाल लगायत पहुँच भएको ठाँउमा बोलेकै छौं । मिडियाहरुले पनि महिला संसदले के बोल्छ भनेर फोकस गरेको देखिँदैन । जुन सांसदले बढी प्रोपोगाण्डा गर्न सक्छ, उसकै पछि लागीरहेका छन् । त्यसैले हामीले हरेक क्षेत्रमा संघर्ष गर्नु परेको छ । माथिदेखि तलसम्म केही मात्रामा महिलाको सहभागीता छ । कुनै पनि ठाँउमा महिलाको सहभागीता कमजोर छ । पुरुषविरुद्ध महिलाले नारा लगाउने अवस्था आयो भने छुट्टै कुरा नत्र स्वयं पुरुषले पनि महिला हिंसाविरुद्ध बोल्न पर्ने होइन र ? महिलाले दिएको भोटले संसद बन्न हुने हिंसाविरुद्ध बोल्नु नहुने ? महिला हिंसाविरुद्ध महिलाले मात्र बोल्नु पर्छ भन्नेमा मेरो विमती हो । महिलाले हरेक परिवर्तनको आन्दोलनमा उतिकै योगदान गरेका छन्, तर खोइ त महिलाले बोलेका र गरेकोे कुरा मिडीयाको हेडलाई बनेको ? एउटा चात्मकारीक पुरुषले बोलेको कुरालाई हेडलाइन बनाउने मिडियाले महिलाले बोलेको कुरालाई किन बनाउन सक्दैन ? यसमा मिडियासँग मेरो विमति हो ।

महिला जनप्रतिनिधिको पहिलो प्राथमिकता त महिला हिंसा जस्ता घटनामा हुनुपर्ने हो नि !
विल्कुल हो । यो आम जनताले पनि उठाउनु पर्ने विषय हो । सरकारले यस विषमयमा छानविन समिति बनाएको छ । यो धेरै मिडियाले हाइलाइट गर्नुपर्ने विषय हो जस्तो मलाई लाग्दैन तर निगरानी आवश्यक छ । पहिलो कुरा हामी महिलाहरु नै अलि बढी सचेत र सर्तक रहनु पर्छ । किनभने जति महिला हिंसा भएको छ । त्यो नजिकका, आफन्त र विश्वाशिलो व्यक्तिबाट भएको छ । दोस्रो यस्ता घटनाहरु घट्नासाथ सरकारले नियन्त्रणमा लिएर कारबाहीको प्रकृया अघि बढाउनु पर्छ । बलात्कार, हत्या हिंसा लागायतका आपराधिक कृयाकलापहरु हामी सबैको साझा विषय हो । त्यसको विरोध पनि साझारुपमै गर्न सक्नु पर्छ ।

केही महिला जनप्रतिनिधिले सरकारलाई असफल बनाउन प्रतिपक्षी दलले षड्यन्त्र रचेको पनि भन्नुभयो । हरेक विषयमा राजनीतिक रंग दिने हो भने मानवीयता कहाँ खोज्ने ?
मानवीय संवेदनाका विषयलाई राजनितीमा जोड्नु सरासर गलत हो । यस्तो घटनाको राजनीतिकरण गर्नु हुँदैन । निर्मलाको बलात्कार र हत्याको विषयमा सरकारले सही गर्यो भन्दिँन । तत्काल दोषी पक्राउ गर्न नसक्नु सरकारको कमजोरी छ । प्रमाण नष्ट गर्ने काम जसले गर्यो त्यो झन् ठूलो दोषी हो । त्यसलाई आवश्यक छानविन र कारबाही किन गरेन ? सरकार किन डराएको छ ? यो मेरो खुल्ला विरोध हो । निर्मालाको परिवार गरीब हुँदैमा सरकारले किन उसको कुरा सुनेन ? पानीमा लगेर फाल्ने र उसको सुरुवाल धुने त सरकारले पत्ता लगायो होला नी, त्यसलाई कारबाही किन गरेन ? यतिका महिना भए पछि डिएन मिलेन भनेर हुन्छ ? जबकि सबै प्रमाण त पानीमा बगाइसकेको छ । यो मानवीय संवेननाको विषय हो । यसमा कांग्रेसले राजनीति गरेको छ । यस्तो विषयमा राजनीति नगरेकै राम्रो । राजनीतिमा राम्रो काम गरेर जनताको मन जित्ने हो । सरकार वा प्रतिपक्ष कसैकोविरुद्ध यस्तो विषयमा लाग्नु राम्रो होइन । यस्तो घटनामा कसैले पनि राजनीतिक रङ नदिइयोस् । पीडितलाई साथ र संरक्षणको नाममा झन् पीडित बनाउने काम नगरियोस् । पीडितको आवजलाई नजरअन्दाज नगरियोस् ।

तपाईं नेपालको पहिलो महिला सभामुख । सभामुख, प्रधानन्यायाधीश र राष्ट्रपति महिला हुँदासमेत महिलाको अधिकारको रक्षा किन हुन सकेन ?
महिलाको नेतृत्व हुँदैमा सबैले न्याय पाउछ, हुन्छ भन्नु गलत कुरा हो । हामीले भरर्खरै संविधान जारी गरेका छौं । धेरै नियम कानुन बनाउन बाँकी छ । संविधानमा व्यवस्था भएको कुरा लागु हुँदैछ । संविधानमा धेरै अधिकारको व्यवस्था गरिएको छ । मुख्य कुरा नीति र नियम परिवर्तन गर्नुपर्छ । सदियौंदेखि समाजमा जकडिएर रहेको संस्कार, संस्कृति र मानसिकताहरु एक पटक महिलाले नेतृत्व गर्दैमा हट्ने होइन । नियम कानुनको निर्माणपछि ति कुरा व्यवहारमा परिणत गर्न सक्छौं । केही कुरा व्यवहारमा लागु हुँदै आएका छन् । गाँउ–गाँउमा, बस्ती–बस्तीमा, शहरहरुमा महिलाको उपस्थिती समानरुपमा हुनु पर्छ । संविधानले दिएको अधिकार लिन फेरि संर्घष गर्न जरुरी छ । अबको संर्घष समग्रमा होइन, इस्यु वाइज गर्नु पर्छ । संविधानले दिएको अधिकार प्राप्त गरेपछि अधिकार र सुरक्षाको प्रत्याभूत गर्न सक्छौं ।

नेपाली समाज अझैसम्म पनि किन हिंसा नियन्त्रणमा जागरुक बन्न नसकेको होला ?
हाम्रो आजको परिस्थिती र अवस्थालाई ठोस रुपमा विश्लेषण गर्न सक्नु पर्छ । सकिएन भने सही ठाँउमा पुग्न सक्दैनौं । आज महिला मात्र होइन गरीब परिवारका पुरुषलाई पनि बोक्सोको आरोप लगाउँछन् । यो लामो समयदेखिको सामन्ती सोच र व्यवहारको अवषेश हो । निमुखा, असहाय तथा गरीबलाई हेप्नु पर्छ भन्ने मानसिकता छ । नागरीक र सरकार मिलेर संविधानको कार्यान्वयन गर्नु पर्छ । नागरीकलाई सचेत बनाउन नसकेसम्म यस्ता घृणित व्यवहारहरुको दर्शक बनिरहनु पर्छ । नेपालका हरेक आन्दोलनले सामन्ती व्यवस्था फाले पनि त्यसको शेषको रुपमा यस्ता घटनाहरु छन् ।

शिक्षित र उच्च वर्गमा पनि महिला हिंसाका घटना हुन्छन् । पीडित महिला आफैं पनि सचेत र जागरुक हुनुपर्ने होइन र !
हिंसा तल्लो तहमा मात्र छ भन्नु नै गलत लाग्छ । किनभने महिला हिंसा हरेक तह र तप्कामा छ । नेपालको समग्र संरचनामा हिंसाको अवशेष छ । प्रत्येक व्यक्ति र घरमा छ, समाजमा छ । सहन सक्ने वा समझादारी वा बाहिर ल्याउने त्यो हिंसा भोगेकाले गर्ने हो । होइन भने हामी आँफै पनि बोल्न तयार हुनपर्छ । आफ्नै घरभित्र वा पार्टी र संगठन सबै ठाउँमा हिंसाविरुद्ध बोल्ने आँट गर्नु पर्छ । हिंसाको विरोध आँफैले गर्नु पर्छ । कतिपय अवस्थामा महिला हिंसा महिलाले नै गरेको हुन्छ । त्यस्ता उदाहरण पनि हामीसँग छ । महिलाले महिलालाई बलात्कार गर्न लागाउनेदेखि मार्न लगाउने सम्मको उदाहरण हामीसँग छन् ।

राजनीतिक परिवर्तन भयो, उपल्लो तहमा महिलाको उपस्थिति पनि छ, यसले व्यवहारमा के फरक पार्यो ?
हिजो मेरै छोरीले देशको प्रधानमन्त्री या मन्त्री को बन्ने भन्दा भाइ वा दाइ भन्थी भने अहिले म पनि बन्छु भन्ने मानसिकता बनाउन थालेकी छे । मुख्यतया महिलाको मानसिकता परिवर्तन र मनोबल बढाउन महिलाको उपस्थितीले ठूलो भूमिका निर्वाह गरेको छ । त्यही मनोबलकै कारण आज महिलाहरु आफूमाथि भएको हिंसाको बारेमा बोल्न थालेका छन् । यदी यहाँ न्याय नै हुँदैन, महिला नै दोषी हो भन्ने मानसिकता भए ति महिला चुपचाप बस्नुको विकल्प हुँदैन थियो । तर अहिले सबै हिंसाविरुद्ध बोल्छन् । हामी अहिले संक्रमण कालामा छौं, पूर्ण रुपमा सामन्ती कालमा पनि छैनौं सचेत पनि छैनौं । देशको सुरक्षा व्यस्थालाई पनि परिवर्तन गर्नु आवश्यक छ । विकशित देशमा हिंसाका घटनाहरु डिजिटल रुपमा निगरानी गरीएको हुन्छ । कार्यलय तथा सार्वजनिक ठाउँमा विभिन्न प्रविधिहरुको जडान गरिएको हुन्छ ।

तत्कालीन माओवादीले १६ वर्ष पुगेका युवालाई सैन्य तालिम दिने प्रस्ताव गरेको थियो । अहिले सेल्फ डिफेन्डस भन्दै केही महिलालाई तालिम दिइएको छ । के यसले हिंसा घटाउन सक्छ ?
यो एउटा राम्रो सुरुवात हो । हामीले पहिले भनेको कामा केही संघ संस्थाले सुरु गरे । सैन्य तालिमले महिला हिंसा पूरै बन्द हुने होइन तर महिलाहरु आफुलाई सुरक्षित हुन सहयोग गर्छ । कसैले बलात्कार तथा अपहरण गर्ने खोजे तत्काल प्रतिकार गर्न सक्ने क्षमताको विकास गर्छ । तर बृद्ध र बालिकाको हकमा यसले काम गर्दैन । ११ वर्षका बालकले ४ बर्षकी बालिकालाई करणी गर्छ, ६० वर्षकी हजुरआमालाई करणी गर्छ भने यसको समस्या मानसिकता हो । भौतिक तयारीले केही उमेर समूहको महिलालाई सुरक्षित हुन सहयोग गर्छ ।

महिला हिंसाको विकराल अवस्था रोक्न को बढी जिम्मेवार हुनुपर्ला ?
सबै भन्दा बढी जिम्मेवार सरकार नै हुन पर्छ । गम्भीर पहल पनि सरकारले नै सुरु गर्नु पर्छ । राष्ट्रव्यापी जनचेतनाको अभियानमा लाग्नु पर्छ । व्यापारी मारिन्छ, वकील मारिन्छ या अन्य नागरीकलाई अनाहकमा गोली हानिन्छ । त्यसको जिम्मेवारी सरकारले लिनु पर्छ । ५० वर्षपछि अपराधी पक्रिएर त्यसको अर्थ के ? यस्तै महिला हिंसाका बारेमा पनि सरकार नै बढी जिम्मेवार हुनु पर्छ । स्वंयम महिला तथा परिवार ले पनि ख्याल गर्नु आवश्यक छ । युवतीहरुले पनि कस्तो संगत गर्ने सर्तकता अपनाउनु पर्छ । सामाजिक सञ्जाल प्रयोग गर्दा एक दमै ख्याल गर्नु पर्छ । रोल्पाको मान्छे सिन्धुपाल्चोक विवाह गरेको हुन्छ । यस्ता सम्बन्ध र सहकार्यले महिला हिंसाको लागि सहज बातावरण बनाउन सहयोग गर्छ । महिलाले गर्ने छाडापनलाई पनि अत्य गर्न जरुरी छ ।

प्रकाशित समय १४:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु