गृहपृष्ठ जनताका लागि काम गर्न कानुन अभावले रोक्दैन : मदनसुन्दर श्रेष्ठ
जनताका लागि काम गर्न कानुन अभावले रोक्दैन : मदनसुन्दर श्रेष्ठ
मध्यपुर थिमी नमुना नगरपालिका हो
मदनसुन्दर श्रेष्ठ भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका प्रमुख हुन् । मध्यपुर थिमीलाई नमुना नगर बनाउने बाचा गरेका श्रेष्ठ निर्वाचित भइ डेढ वर्षभन्दा बढी समय काम पनि गरिसकेका छन् । मध्यपुर थिमीलाई नमुना नगर बनाउन यो अवधिमा उनले के-के गरे र अब के गर्दैछन् भन्ने विषयमा न्युज कारोबारका सञ्जय श्रेष्ठले गरेको कुराकानी ।
तपाईं मध्यपुर थिमी नगरपालिकाको प्रमुखमा निर्वाचित भएको डेढ वर्ष पूरा भइसक्यो, नगरको समृद्धिका लागि केके काम गर्नु भयो ?
डेढ बर्षमा हामीले धेरै काम त गर्न सकेनौं । तर, मध्यपुर थिमीको समृद्धिको ढोका भने खोलेका छौं । निर्वाचित भएपछिको पाँच वर्षभित्र हामीले चुनावमा जनतामाझ जनाएका प्रतिबद्धता पूरा गर्न सक्ने अवस्थामा छौं । हामीले मोटर बाटो, खानेपानी, स्वास्थ्य र शिक्षाजस्ता पूर्वाधार विकासमा विशेष जोड दिएका छौं । प्रशासनिक संरचना सुधार गर्दै प्रत्येक वडामा अधिकृत स्तरको कर्मचारी परिचालन गरेका छौं । सडक विस्तारका लागि ‘घर नछुने पेटी नछोड्ने’ अभियान संचालन गरिरहेका छौं । नगरपालिकालाई सांस्कृतिक नगरीको रुपमा विकास गर्ने गरी योजना अगाडि सारेका छौं । यसका लागि विगत २०–२५ वर्षदेखि सञ्चालन हुन नसकेका सांस्कृतिक पर्वहरु सुरु गरेका छौं । खानेपानीको १८ करोडको योजना सम्पन्न हुँदै छ । खेलकुद क्षेत्रको विकासका लागि तीन वटा मेयर कप गरिसकेका छौं । निलवाराही क्षेत्रको गुरुयोजना अगाडि बढाएका छौं ।
तर, जनताले त चुनावी घोषणा र अहिले काम गराइको तालमेल नमिलेको भनिरहेका छन् त ?
हामीले गरेका कतिपय काममा कमिकमजोरी हुन सक्छन् । तर, मलाई लाग्छ, चुनावी घोषणाभन्दा बाहिर गएर कुनै काम गरेका छैनौं । गरेका छौं भने त्यो नगर र नगरबासीको स्वार्थलाई केन्द्रमा राखेर गरिएको छ । जनतासँग समन्वय, हाम्रा कर्मचारीको काम गराइ, मेरो कामको स्पीड र तदारुकताकै कारण नेपालको दोस्रो सानो नगरपालिका भएर पनि विकासमा ठूला–ठूला नगरपालिकाभन्दा कम छैनौं । अर्थात्, चुनावी घोषणाअनुसार नै हामी मध्यपुर थिमीलाई नमुना नगरपालिकाको रुपमा स्थापित गर्न सफल भएका छौं । प्रदेश स्तरमा जानुपर्ने नेपाल–कोरिया मैत्री अस्पताललाई आफू मातहत ल्याएर नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल बनाएका छौं । अब कसरी भन्ने तालमेल मिलेन भनेर ?
त्यसो भए भौतिक पूर्वाधार निर्माणकै कामलाई लिएर जनतामा निराशा र आक्रोश किन छ त ?
मलाई लाग्दैन, मध्यपुर थिमी नगरबासी आक्रोशित छन् । बरु खुसी चाहिँ छन् । कोही आफ्नो स्वार्थअनुसार पूर्वाधार निर्माण भएन भनेर दुखि हुन सक्छन् । तर, समग्र नगरपालिका र बहुसंख्यक नगरबासीको हितमा थुप्रै काम भएको छ । सरकार सम्पत्तीमा र्याल काड्नेहरु दुखी भए पनि आम सर्वसाधारण सन्तुष्ट छन् । मैले कर्मचारीहरुलाई पनि जनताका माझमा रहेर काम गर्नु भनेको छु । जनताका वास्तविक गुनासो सुन्ने र समस्या पहिचान गरी समाधानका लागि आवश्यक कदम चाल्ने गरेको छु । बरु हामी ६ महिनामा हुने काम एक वर्ष लगाएर सक्छौं तर गरेपछि झारा टार्ने हिसाबले काम गर्दैनौं । यो कुरा हामीले उपत्यका प्र्रधिकरणलाई पनि भनेका छौं कि जनताको आँखा छारो हाल्ने खालको काम कसैले पनि गर्न हुँदैन ।
मध्यपुर थिमीबासीको एउटा मुख्य समस्या भनेको प्रदूषण हो, समाधानका लागि तपाईंले के–के गर्नुभयो, रिजल्ट खै ?
खासगरी हिउँदो धुलो, धुवाँ र बर्खामा हिलो पूरा उपत्यकाकै समस्या हो । तर, म निर्वाचित भएर आएको डेढ वर्षको अवधिभित्र नगर प्रदूषणमुक्त बनाउन थुप्रै काम गरिएको छ । नगरपालिकाभित्रका सबै सडक बर्गीकरण गरेर अगाडि बढेको छु । कच्ची बाटो कालोपत्रे गरिएको छ । सडक र उपभोक्ता हेरेर प्राथमिकता निर्धारण गरेका छौं । मुख्य–मुख्य बाटो पिच हुँदै छ । कतिपय गरिसकिएको छ भने कतिपय पिच गर्ने क्रम जारी छ । अहिले एकदुई वटा सडकमा अलि बढी समस्या छ । यो समाधान भएलगत्तै मध्यपुर थिमी धुलो र धुवाँरहित हुने छ ।
भनेपछि आफ्नो कार्यकालभित्र नगरपालिकालाई धुलो र हिलोमुक्त बनाइसक्नुहुन्छ ?
अवश्य पनि । हाम्रो अभियान ‘धुलो र हिलोमुक्त’ नगर बनाउने हो । यो मेरो कार्यकालभित्रै सम्भव छ । म मेरो चुनावी प्रतिबद्धता पूरा गरेरै छाड्छु । कुनै पनि योजना तर्जुमा वा कार्यान्वयन गर्दा म आफैं साइटमा पुग्ने गरेको छु । बाटो बनाउँदा हामीले विशेष ध्यान दिएका छौं । पानीको पाइप, ढलको पाइपलाई हामीले १५–२० बर्ष पछिको शहर विकासको अवधारणाअनुसार व्यवस्थित गरेका छौं ।
उपत्यका विकास प्राधिकरण, सडक विभाग र मेलम्ची आयोजनालगायतका विकासे निकायसँगको विवाद चाहिँ केका लागि हो ?
हो, यहाँनेर धेरैले विवादको जड के हो बुझ्न जरुरी छ । म नक्कली विकास मन नपराउने मान्छु हुँ । उपत्यकाका धेरै ठाउँमा नक्कली विकास भएको छ । मेरो नगरमा म त्यस्तो हुन दिन्नँ । जनताको आँखामा छारो हाल्ने काम मबाट हुँदैन र यो नगरमा अरु कसैलाई त्यस्तो गर्न पनि दिन्नँ । उपत्यका विकास प्राधिकरण, सडक विभाग र मेलम्चीसँग विवाद पनि यही कारण भएको हो । म दिर्घकालीन ढंगको विकास चाहान्छु र त्यही अनुसार काम होस् भन्ने चाहान्छु । उनीहरु चाहिँ जनतालाई तत्काल देखाउने खालको विकास गरौं, भोलिको कुरा भोलि नै हेरौंला भन्ने खालको विकास गर्न खोज्नुहुन्छ ।
स्वास्थ्य क्षेत्रमा धेरै समस्या छन्, ती समस्या समाधानका लागि के हुँदैछ ?
नगरपालिकाहरुमध्ये स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकतामा राखेर नीतिनियम र बजेट व्यवस्था गर्नेमा हामी अब्बल नगरपालिका हौं भन्ने लाग्छ । हामीले साढे आठ करोड रुपैयाँ बजेट स्वास्थ्य क्षेत्रका लागि छुट्याएका छौं । स्वास्थ्य बिमा अभियानलाई दिल खोलेर सहयोग गरेका छौं । कम्तीमा ८० प्रतिशत जनतालाई बिमा गराउन सकेमा निशुल्क सेवा दिन सक्छौं भन्ने हामीले योजना बनाएका छौं । यो योजना सम्पन्न हुन ५–६ वर्ष लाग्ला । हाम्रो नगरपालिकामा ५१ सैंयाको अस्पताल छ । ५ वटा स्वास्थ्य चौकी छन् । स्वास्थ्य क्षेत्रका कर्मचारीहरु समयमा नआउने र समय अगावै जाने प्रवृत्तिलाई निरुत्साहित गरेका छौं ।
अहिले स्वास्थ्य क्षेत्रमा निराकरण गर्न बाँकी रहेका समस्या चाहिँ के–के हुन् ?
स्वास्थ्य क्षेत्र निकै संवेदनशील हुन्छ । तर, कतिपय कर्मचारीले यो कुरा बुझेर पनि नबुझेजस्तो गरिरहेका छन् । हाजिर गर्दै निस्कने, प्रभावकारी सेवा नदिने, व्यवस्थापनमा बसेर अनियमितता गर्ने खालका समस्या यदाकदा बाँकी नै छ । नगरपालिकाभित्र मानवस्वास्थ्य र उपचार पद्धतिलाई केन्द्रित गरी अध्ययन र अनुसन्धान गर्ने–गराउने मेरो योजना थियो । भौतिक पूर्वाधार विकासको कामले गर्दा यतापटि अलि बढी ध्यान दिन सकिएको छैन । आगामी दिनमा यसप्रति पनि चनाखो रहेर कार्यक्रम सञ्चालन गर्ने योजना छ ।
तपाइको कार्यकालमा जनताले अस्पतालमा निशुल्क स्वास्थ्य सेवा पाउँछन् ?
म निशुल्क सेवा दिनको लागि योजनावद्ध रुपमा अगाडि बढेको छु । नगरभित्रका ८० प्रतिशतभन्दा बढी मानिस सरकारको बिमा योजनामा आवद्ध भएको खण्डमा निशुल्क स्वास्थ्य सेवा दिन सकिन्छ ।
तपाईंले स्वास्थ्य सेवालाई चुस्त बनाउन थुप्रै नीतिगत व्यवस्था गरेको बताए पनि तपाईंकै कारण नेपाल–कोरियामैत्री नगरपालिका अस्पताल बन्द हुने अवस्थामा पुगेका भनिन्छ नि ?
हेर्नुस्, विपक्षी र विरोधीले आरोप लगाउन आधार खोज्ने कष्ट गर्दैनन् । सिधै आरोप लगाइदियो सक्कियो ।
त्यसो भए, सय जना कर्मचारी भएको अस्पतालमा कर्मचारी भर्ना गर्दै दुई सय जना पुर्याएकाले बाहिरबाट आउने सहयोग रोकिएको भन्ने कुरा सत्य होइन ?
यो सररासर गलत हो । यो अस्पतालको हित नचाहानेहरुको प्रोपोगाण्डा मात्रै हो । हामीले नेपाल–कोरिया मैत्री अस्पताललाई नगरस्तरीय अस्पतालको रुपमा सञ्चालन गरेका छौं । कर्मचारी हामीले आवश्यकताअनुसार थपेका हौं । विगतमा महिनाभर ६–७ सय बिरामी आउने अस्पतालमा अहिले दिनमा ५ सयको हाराहारीमा बिरामी आउँछन् । भक्तपुर जिल्लाभरिको मात्र नभएर काठमाडौंका बिरामीले पनि यो अस्पतालबाट सेवा लिइरहेका छन् ।
सरकारले अस्पताल स्थानीय सरकारलाई पूर्णरुपमा हस्तान्तरण गरिसकेको छ । कोरियाबाट आउने सहयोग अहिले पनि आइरहेको छ । महिनाको १ हजार डलर कोरियाबाट आउँछ, यो रोकिएको छैन । सरकारको मातहतमा हुँदा सरकारले २० लाख रुपैयाँ दिन्थ्यो । अहिले हामीले साढे आठ करोड रुपैयाँ लगानी गरेका छौं । बाहिर जे कुरा आएको छ, यो सरासर पूर्वाग्रही र निराधार हल्लामात्रै हो ।
कानुन अभावका कारण धेरै स्थानीय तहले धेरै काम गर्न नसकेको गुनासो गरिरहेका छन्, तपाईंको के छ यसमा भन्नु ?
हामीलाई कानुनको कुनै समस्या छैन । किनकि, हामीसँग हिम्मत छ । नगरबासीको हितमा काम गर्ने हो, कुनै क्राइम गर्ने होइन । त्यसैले म कानुन अभाव छ भनेर कुनै काम रोक्दिनँ, फटाफटी गर्छु ।
तपाईंको नगरपालिकामा कर्मचारी पर्याप्त छन् ?
कर्मचारी समस्या पनि अहिले छैन । किनकि, हामीले कर्मचारीलाई कन्भिन्स गरेर अलि बढी जिम्मेवारी दिएका छौं र सेवा सुविधा कटौती गर्ने काम गरेका छैनौंै । प्रत्येक वडामा अधिकृत स्तरको कर्मचारी परिचालन गर्ने पहिलो नगरपालिका हामी नै हौं ।
घरबहाल कर र पार्किङ व्यवस्थापनको सवालमा जनता खुसी हुने गरी के गर्दैहुनुहुन्छ ?
घर बहाल कर र पार्किङको विषयमा सबैभन्दा अगाडि निर्णय गर्ने हामी नै हौं । हामीले यसबारे नगरबासीको आवश्यकता र क्षमताअनुसार व्यवस्थापन गरेका छौं । पार्किङको सवालमा व्यवहारिक जरिवानाबारे छलफल भइरहेको छ । ं
विकासविदहरुका अनुसार कुनै पनि शहर वा नगर विकासका लागि ‘नगर वा शहर प्रोफाइल’ पहिलो सर्त बन्नुपर्छ । तपाईंलाई के लाग्छ ?
उनीहरुले नयाँ नगरपालिकाहरुको लागि भनेका होलान् । तर, मध्यपुर थिमी पुरानो नगरपालिका हो । हाम्रो नगरपालिकामा योभन्दा अगाडिबाटै नगर प्रोफाइ निर्माण गरेर काम गरिएको हो । हामीले पुरानो नगर प्रोफाइलाई अपडेट गरेर अगाडि बढेका छौं । त्यसैले पनि होला म अरु नगर प्रमुखभन्दा छिटो आफ्नो नगरलाई व्यवस्थित र नमुना बनाउन सफल भएको हुँ ।
नमुना नगर बनाउन भावी योजना के–के छन् ?
नमुना नगरको भावी योजना भनेको दीर्घकालीन योजना निर्माण र प्रभावकारी कार्यान्वयन नै हो । बिग्रका कुरालाई सपार्ने, भएका पूर्वाधारलाई सकिन नदिने, सार्वजनिक सम्पत्तीको दोहन रोक्ने, कसंस्कार र जवाफहीनताको अन्त्य गर्ने काममा मेरो आगामी समय केन्द्रित रहने छ ।
प्रकाशित समय १९:०६ बजे

















