गृहपृष्ठ रोकिएन ‘अवैध प्याराग्लाइडिङ उडान’, मंगलबार पनि दुर्घटना

रोकिएन ‘अवैध प्याराग्लाइडिङ उडान’, मंगलबार पनि दुर्घटना

दुर्घटनामा एकको मृत्यु, बुधबारदेखि प्याराग्लाइडिङ उडान नहुने

paraglading_pokhara फाइल तस्बिर।

पोखरामा ‘अवैध रुपमा प्याराग्लाइडिङ उडान’का कारण तीन दिनमा लगातार ४ दुर्घटना भएका छन् । तीन दिनमा लगातार भएका ती ४ दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

मंगलबार भएको प्याराग्लाइडिङ दुर्घटनामा परी करिब ४० वर्षिय रसियन नागरिक विमिपी स्टेपेनीसको मृत्यु भएको छ । मध्यान्हः करिब १२ बजे सराङकोटबाट प्यायाग्लाइडङ उडान भरेका स्टेपेनीसको प्याराग्लाइडिङ दुर्घटनामा परी मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

सराङकोटको ब्लु स्काई प्याराग्लाइडिङ कम्पनीको टेकअफ गर्ने स्थान सराङकोटबाट उडान भरेका उनी उडेको करिब एक मिनेटमै एकाएक ग्लाडर खुम्चिन पुग्दा पथ्थरमा बजारीएका थिए । उनको उपचारकै क्रममा मेट्रो सिटी हस्पिटलमा मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।

नागरिक उडड्यन कार्यालय पोखराले विदेशबाट प्याराग्लाइडिङ सिक्न आउने प्याराग्लाइडिङ पाईलटहरुको राम्रोसँग नबुझि व्यवसायिक उडान भर्ने स्थानमा उडान गर्न अनुमती दिँदा प्याराग्लाइडिङमा दुर्घटना बढेको माउन्टेन भ्यू प्याराग्लाइडिङ कम्पनीका सञ्चालक चिनु बहादुर बानिया बताउँछन् ।

तर, ब्लु स्काई कम्पनीका सञ्चालक नारायण पराजुलीले आफूहरुले विदेशीहरुको आवश्यक डकुमेन्ट मात्र अघि बढाएको बताउँछन् । यसको राम्रोसँग उडाउन दिन मिल्ने नमिल्ने कुरा नागरिक उडड्य कार्यालयले नै रेखदेख गर्नुपर्ने तर्क पराजुलीको छ ।

उता नागरिक उडड्यन कार्यालय पोखराका प्रमुख भोलाप्रसाद गुरागाइले आफूहरुले विभिन्न कम्पनीसँगको सहकार्यमा विदेशीहरुलाई १५ दिनको उडान अनुमति दिने गरेको बताउँछन् ।

पोखरामा दैनिक जसो प्याराग्लाइडिङ दुर्घटना बढ्दै जाँदा प्याराग्लाइडिङ पाइलटहरू पनि चिन्तित छन् । दैनिक जसो हुने दुर्घटनाले चिन्ता बढाएको प्याराग्लाइडिङ पाइलट बालकृष्ण बसेलको भनाइ छ । उनले भने, ‘पोखराको मुख्य पर्यटनको आकर्षणको रुपमा विकास हुँदै आएको साहसिक खेल प्याराग्लाइडिङलाई अब व्यवस्थित पार्न नसके यसको जोखिम बढ्न सक्छ ।’

प्यराग्लाइडिङलाई नियमनकारी निकायले प्रभावकारी ढंगले नियमन गर्न नसक्दा, विदेशबाट पोखरा घुम्न आएका प्याराग्लाइडिङ पाइलटहरुले आफू खुसी तोकिएको सीमाबाहिर उडान गर्ने गरेका छन् । जसका कारण प्यराग्लाइडिङको दुर्घटना बढ्दै गएको उनले भनाइ छ ।

नेपाल प्याराग्लाइडिङ्ग तथा ह्याण्ड ग्लाइडिङ्ग संघ (नेफा) का महासचिव शैलेन्द्र रावतले पोखरामा अवैध ढंगबाट प्याग्लाइडिङकै कारण दुर्घटना बढेको बताउँछन् । पोखरा नागरिक उडड्यन कार्यालयले दिएको सीमा सराङकोट, तोरी पानी र माद्रेढुंगाबाट प्याराग्लाइडिङ उडान र अवतरको लागि खपौंदी, चंखपुर क्षेत्रमा अनुमति दिए पनि हाल विभिन्न देशका सोलो(सिकारु) पाइलटहरुले विभिन्न ठाँउबाट उडान भर्दै अवतरण गर्दा पोखरामा प्यराग्लाइडिङमा ठूलो समस्या आएको महासचिव रावतले दावी गरे ।

पोखरामा व्यवस्थित प्यराग्लाइडिङ नभएकै कारण आइतबार, सोमबार र मंगलबार लगातार प्याराग्लाइडिङ दुर्घटना भएका थिए । आइतबार प्यराग्लाइडिङ दुर्घटनामा परी एक विदेशी नागरिकले ज्यान गुमानु पर्यो भने सोमबारको दुर्घटनामा दुई जना घाइते हुन पुगे ।

रोमानियाका करिब ४० वर्षीय एडे सिस्जरको आइतबार फेवाताल माथिको आकासमा प्याराग्लाइडिङ गर्दै गर्दा एक्कासी तालमा डुबेर मृत्यु भएको घटना सेलाउन नपाउँदै सोमबार र मंगबलार प्यराग्लाइडिङ सिक्दै गरेका सोलो पाइटल दुर्घटनामा परेका हुन् ।

पोखरामा खुलेआम ‘अवैधानिक प्याराग्लाइडिङ’का कारण बढ्यो दुर्घटना

पोखरामा केही रसियन पाइलटहरुको एक समूहले हिमालयन ओपन कप भनेर विदेशी पाइलटहरुलाई आफूखुसी प्रतियोगिता नै आयोजना गरेका छन् । यद्यपी उक्त प्रतियोगिताको लागि उनीहरुले केहीले व्यक्तिगत रुपमा उडानको अनुमति दिए पनि प्रतियोगिता नै आयोजना गर्ने गरी नेपालका आधाकारिक कुनै पनि संस्थासँग अनुमति विना नै गत फेब्रुअरि २७ देखि यही मार्च ६ तारिख (फागुन २२ ) सम्म प्रतियोगिता आयोजना गर्दैछन् ।

अन्तर्राष्ट्रियस्तरका उक्त प्रतियोगितामा सम्बन्धित देश र सम्बन्धित खेल संघ र स्थानीयसँगको समन्वयमा हुनु पर्नेमा यसमा कुनै कुरालाई ख्याल नगरी खुलेआम रुपमा यस्तो प्रतियोगिता भइरहँदा पनि कास्की प्रशासन भने मौन रहेको छ ।

प्रतियोगिताको लागि सुरक्षा, रेस्क्यु जस्ता कुरामा आयोजकहरुले ख्याल नै नगरेकाले अर्को गम्भीर त्रुटी भएको देखिएको छ ।

यसैबीच, बुधबारदेखि पोखरामा अधिकाशं प्यराग्लाइडिङ उडान नहुने भएको छ । पोखरा महानगरपाकिला वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापाले पोखरामा हाल सञ्चालन भएका प्याराग्लाइडिङ कम्पनीहरु मध्य हालसम्म माउण्टेन भ्यू प्याराग्लाइडिङ कम्पनीले बाहेक अन्य कम्पनीहरुले शुल्क नतिरेको दावी गरे ।

उनले भने, ‘अब हामीले बुधबारदेखि सराङकोटमा प्याराग्लाइडिङ उडान गर्न आउने प्याराग्लाइडिङ कम्पनीहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको पर्यटन शुल्क सहितको राजश्व नतिरेमा हामीले उडान गर्न दिँदैनौं ।’

पटक पटक ताकेता गर्दा पनि प्याराग्लाइडिङ कम्पनीले २०७१ साल देखि नै कर तिर्न ढिला सुस्ती गरेको आफुहरुलाई नटेरेको उनले जनाए । आर्थिक वर्ष २०७५/०७६ मा पर्यटन शुल्कः एक लाख र २५ हजार राजश्व तिर्नु पर्ने प्रावधान स्थानीय तहले ल्याएसँगै अधिकांश कम्पनीहरुले उक्त शुल्क तिरेका छैनन् ।

बाँकी बक्यौता नतिरेसम्म आफूहरुले कुनै पनि हालतमा प्याराग्लाइडिङ गर्न नदिने स्थानीय तहले व्यवसायीहरुलाई चेतावनी दिइरहँदा व्यवसायीहरुले भने आफुहरुलाई न्यायोचित पर्यटन शुल्क सहितको राजश्व हुनु पर्ने माग राख्दै आएका छन् ।

नेपाल हवाई खेलकुद संस्था नाका अध्यक्ष योगेश भट्टराईले आफूहरुलाई स्थानीय तहले न्यायोचित कर लिनु पर्ने बताए । उनले भने, ‘हामी व्यवसायीले व्यवसाय गर्ने हो, पर्यटन शुल्क उठाउने होइन एक लाख रुपैया पर्यटन शुल्क पर्यटकसँग लिनु पर्छ आवश्यक हो भने अन्यथा हामी व्यवसायीले कसरी तिर्न सकिन्छ ?’

नागरिक उड्डयन कार्यालय पोखराका प्रमुख भोला प्रसाद गुरागाईले विभिन्न प्याराग्लाइडिङ कम्पनीहरुलाई प्याराग्लाइडिङ पाइलटहरुको उडान योग्य भएको आधारमा उनीहरुसँग समन्वय गरी उडान अनुमति दिने गरेको बताए ।

प्रकाशित समय १८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु