गृहपृष्ठ वन्यजन्तु अवैध कारोबारको ट्रान्जिट बन्दै नेपाल
वन्यजन्तु अवैध कारोबारको ट्रान्जिट बन्दै नेपाल
अर्बौंको कारोबार, पक्राउ पर्ने थोरै
विगत केही वर्षदेखि नेपालमा वन्यतन्तुको चोरीसिकारीमा केही कमी आए पनि नेपाललाई ट्रान्जिट बनाएर भारत र चीनतर्फ हुने वन्यतन्तुको अवैध कारोबार भने बढ्न थालेको छ । मुलुकभित्र सुरक्षा व्यवस्था कमजोर भएको र राजनीतिक संक्रमणको फाइदा उठाउँदै वन्यजन्तु तस्करहरूले आफ्नो सक्रियता बढाएका हुन् ।
वन्यजन्तुको अवैध व्यापारका लागि प्रचलित रूटहरूभन्दा बाहिरबाट तस्करहरूले आफ्नो कारोबार बढाएको राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु महाशाखाअन्तर्गतको वन्यजन्तु अपराध महाशाखाको अध्ययनले देखाएको छ ।
राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रभित्र र ती मातहतका क्षेत्रहरूमा कडाइ गरिएसँगै वन्यजन्तुका अवैध कारोबारीहरूले नयाँ बजार खोज्न थालेका हुन् । विश्वभरि वार्षिक अर्बौंको वन्यजन्तुको अवैध कारोबार हुने गरेकोमा निकै कममात्र तस्करहरू पक्राउ पर्ने गरेका छन् । विभागको आन्तरिक प्रतिवेदनअनुसारअहिले वन्यजन्तु कारोबारीहरूले काठमाडौंलाई मूल कारोबार केन्द्र बनाइ यहाँबाट वन्यजन्तुका अवैध कारोबार फैलाइरहेका छन् ।
गत आर्थिक वर्ष २०७५/७५ मा प्रहरीले काठमाडौंबाट १२३ वन्यजन्तु कारोबारीहरूलाई पक्राउ गरेको विभागले उल्लेख गरेको छ । काठमाडौंबाहेक वन्यजन्तु तस्करहरूले आफ्नो सक्रियता बढाएका अन्य जिल्लाहरूमा मकवानपुर,रुपन्देही, काभ्रे, लम्जुङ, तनहुँ, सुनसरी, मोरङ, दार्चुला र इलाम छन् ।
विभागको प्रतिवेदनमा झापा जिल्लाको काँकडभिट्टा, काठमाडौं, मोरङ जिल्लाको
विराटनगर, सुनसरी जिल्लाको हरिपुर, बाँके जिल्लाको नेपालगन्ज, कैलाली जिल्लाको धनगढी तथा कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजारलाई वन्यजन्तुको अवैध व्यापारिक स्थानका रूपमा पहिचान गरेको छ ।
गत आर्थिक वर्षमा यी जिल्लाहरूबाट प्रहरीले चितुवाको छाला १२ वटा, रेडपाण्डाको छाला ११ वटा, सालकको खपटा, वन्तजन्तुका हड्डी, मृगको छाला, भालुको पित्त, बाघको छाला, गैंडाको खाग, कस्तुरीको बिणा, कछुवा, विभिन्न प्रजातिका चरामात्र होइन; अफ्रिकी बाँदर लिमुरसमेत बरामद गरेको छ ।
निकुञ्जहरूमा गत आर्थिक वर्ष २०७४/०७५ मा वन तथा वन्यजन्तुसम्बन्धी अपराधमा १०७ मुद्दामा ३०३ जनालाई पक्राउ गरिएको विभागको तथ्यांकमा उल्लेख छ । राष्ट्रिय निकुञ्ज, आरक्ष तथा संरक्षण क्षेत्रमा विभिन्न प्रकृतिका मुद्दाहरु दर्ता भएका थिए । अवैध रुख कटान, अवैध काठ ओसारपसार, विना अनुमति ढुङ्गा/गिट्टी/वालुवा संकलन, हातहतियारसहित निकुञ्ज भित्र प्रवेश, वन्यजन्तुको शिकारलगायतका प्रकरणमा तिनीहरूलाई पक्राउ गरेर मुद्दा दायर गरिएको हो । संरक्षित क्षेत्रमा दर्ता भएका १०७ वटा मुद्दाहरु मध्ये वन अपराध सम्बन्धी ४४ वटा र वन्यजन्तु अपराधसम्बन्धी ६३ वटा मुद्दा छन् ।
बाघ र सालक संकटमा
नेपाल हुँदै वन्यतन्तु तस्करहरूले चीनतर्फ बाघको छाला तस्करी गर्ने गरेका छन् । भारतबाट नेपाल हुँदै बाघको छाला चीनतर्फ तस्करी हुने गरेको संयुक्त राष्ट्र संघद्वारा प्रकासित विश्व वन्यतन्तु अपराध प्रतिवेदनमा उल्लेख गरिएको छ । चिनियाँहरूले ‘शक्तिबद्र्धक’ बाघको छाला प्रयोग गर्ने गरेकाले महँगो मूल्यमा खरिद गर्छन् ।
तस्करहरूले भारतका धार्चुला, पिथौरागढ, टनकपुर, लखिमपुर, बहराइच, रुपैडिया, सुनौली, वाल्मिकी, रक्सौल, वीरपूर, जोगवनी, दार्जिलिङ, पानीटंकी, सिलिगुढी र खरिबारी हुँदै नेपालमा वन्यजन्तुको अंगहरू नेपाल भित्र्याउने गरेका छन् भने ताक्लाकोट, खासा र खाम्जिङलगायतका चिनियाँ नाका हुँदै चीनतर्फ चोरी निकासी गर्ने गरेका छन् ।
इन्टरपोलका अनुसार ८ वटा अपराधिक समूह नेपाल र भारतमा बाघको अवैध चोरीसिकारी र त्यसको कारोबारमा संलग्न छ । यसमा नेपालका केही असंगठित वन्यजन्तु तस्करदेखि अन्तर्राष्ट्रिय तस्करहरूको समूहसमेत संलग्न रहेको अध्ययनले देखाएको छ ।
बाघपछि नेपालमा पाइने दुर्लभ सालक अहिले चोरी सिकारीको नजरमा परेको छ । सालक सिकारीले ७ देखि १३ अमेरिकी डलर (७०० देखि १३०० रुपैयाँ) प्रतिकिलो पाए पनि सीमावर्ती क्षेत्रमा यसको मूल्य ५०० डलर प्रतिकिलो (५ हजार रुपैयाँ प्रतिकिलोभन्दा बढी पुग्ने गरेको राष्ट्र संघीय प्रतिवेदनले खुलासा गरेको छ । यस्तै, गैडाको खाग नेपालबाट अत्याधिक चोरीसिकारी हुने वस्तुमा परेको छ ।
मुख्य कारोबार हुने वन्यजन्तुका अंग
बाघको छाला, गैंडाको खाग, कस्तुरीको बिना, ध्वाँसे चितुवाको छाला, हिउँ चितुवाको छाला,
चिरुको ऊन, सालकको खपटा,, हाब्रे (रेडपान्डा)को छाला, चितुवाको छाला, भालुको पित्त, हात्तीको पुच्छरको रौं, मृगको छाला
वन्यजन्तुको अवैध व्यापार हुने सम्भावित मार्गहरू
ठोरी र भिखना ठोरी – त्रिवेणी – भैसाँलोटन (भारत)
कोठियाघाट – धनौरा – निशानगाँडा – मूर्तिया – मगँ घोटना – रुपैडिया (भारत)
महेन्द्रनगर – धनगढी – गौरीफान्टा – पलिया (भारत)
शुक्लाँफाटा – लग्गाबग्गा (भारत)
कोशी ब्यारेज – भिमनगर र वीरपुर (भारत)
कोशी ब्यारेज – भिमनगर र लालपुर (भारत)
भारदह – कुनौली र निर्मली – मधुवन (भारत)
हिले – चैनपुर – किमाथांका
पाँचथर – ताप्लेजुङ्ग – ओलाङ्चुङ्गगोला
बझाङ् – बुराङ्ग (तिब्बत) चीन
वन्यजन्तुको अवैध व्यापार हुने नेपालका सम्भावित नाकाहरु
ओलाङचुङ्गगोला, किमाथान्का, लामाबगर, मनास्लु, रसुवागढी, टिमुरे, माथिल्लो मुस्ताङ्ग, तातोपानी, हुम्ला, डोल्पा, बाजुरा, दार्चुला, टिंकर, काँकडभिट्टा, बिराटनगर, हरिपुर, वीगगन्ज, महेन्द्रनगरबाट वन्यजन्तुका आखेटोपहार अवैध रुपमा भारत तथा चीनतर्फ जाने गर्छन् ।
वन्यजन्तुको अवैध व्यापार हुने सम्भावित नेपाल नजिकका भारतीय नाका
धार्चुला, पिथौरागढ, टनकपुर, लखिमपुर, बहराईच, रुपैडिया, सुनौली, वाल्मिकी, रक्सौल, वीरपुर, जोगवनी, दार्जिलिङ, पानीटँकी, सिलिगुढी र खरिबारी ।
वन्यजन्तुको अवैध व्यापार हुने सम्भावित नेपाल नजिकका चिनियाँ नाका
ताक्लाकोट, खासा र खाम्जिङ ।
प्रकाशित समय १४:२९ बजे

















