गृहपृष्ठ सिके राउतसँगको सहमतिपछि नेकपा नेताबीचमै पक्ष-विपक्षी जुहारी
सिके राउतसँगको सहमतिपछि नेकपा नेताबीचमै पक्ष-विपक्षी जुहारी
११ बुँदे राजनीतिक सहमतिलाई जनमत संग्रहका रूपमा सिके राउत समूहले अर्थ्याउँदै आएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आरोप प्रत्यारेपको जुहारी चलेको छ । पृथकतावादी आन्दोलन गर्दै आएको राउत समूहसँग सरकारले सहमति गरेको दिन शुक्रबारबाट चलेको जुहारी अझै टुंगिएको छैन ।
नेकपाका दुई पक्षका नेताहरूबीच सहमतिको पक्ष-विपक्षमा सडक, सदन, सामाजिक सञ्जाल तथा मिडियामा अन्तर्वार्तामार्फत बहस तातेको छ ।
राउत पक्षले स्वतन्त्र मधेसका पक्षमा प्रचार जारी राखेपछि सिके राउतलाई प्रचण्डसँग तुलना गरेका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले जनमतसंग्रह सोच्न पनि नसकिने स्पष्ट पारिसकेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत सार्वजनिक कार्यक्रममा जनमतसंग्रह गर्ने सहमति नभएको र हुन नसक्ने बताएका छन् ।
तर, तल्ला तहका नेताहरुको आरोप प्रत्यारोप अझै जारी छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता भीम रावललगायतका नेताहरुले सहमतिको प्रयोग गरिएको भाषाप्रति आपत्ति जनाउँदै आएका छन् । महासचिव विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसद सोमप्रसाद पाण्डे, सांसद महेश बस्नेतलगायत भने आलोचनाको प्रतिरोध गर्दै सरकारको बचाउमा उत्रिएका छन् ।
संसद, सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा दुबै पक्षले एक अर्कालाई आरोप प्रत्यारोप गरिरहेका छन् । बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरुले समेत असहमति जनाए पनि उनिहरुले भने कुनै प्रतिकृया दिएका छैनन् ।
सरकार र सिके राउतबीचको सहमति घोषणा भएलगत्तै नेकपा नेता रावलले ‘देश टुक्र्याउने घोषणाका सामग्री हटाउने कुनै कुरा नगरिनु र सम्झौता र भाषणमा राउतले कहीँ पनि देश टुक्र्याउने भनी गरिएका कुरा गलत थिएँ, भन्दिनँ वा फिर्ता लिन्छु भनी नभनिनुको रहस्य खोजौं’ भन्दै ट्वीट गरेका थिए ।

सोही धारणा नै नेकपाभित्रैबाट आएको पहिलो विरोधको आवाज थियो । त्यसपछि प्रतिनिधिसभाको बैठकमा समेत उनले दुई देशका प्रतिनिधिबीच भएको अर्थ लाग्ने भाषा प्रयोग भएको भन्दै सच्चाउन माग गरे ।
रावलप्रतिनै लक्षित गर्दै संसद बैठकमै नेकपा सांसद महेश बस्नेतले पार्टीकै केही सेलेब्रिटी देशभक्त नेतालाई सहमतिबाट ज्वरो आएको भन्दै व्यंग्य गरे । सिटामोल खुवाइएपछि केही दिनमै ठीक हुने भन्दै जवाफ फर्काए ।
रावलकै भनाईप्रति व्यंग्य गर्दै प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जवाफी ट्विट फर्काएका छन् । उनले लेखेका छन्, ‘नेताहरू झुक्किए, फसे वा फसाइए, या तिनीहरूले गल्ती नै गरे पनि कोइवात छैन, हामी धन्य छौं मुलुक जोगाउने एक से एक उहाँहरू हुनुहुन्छ । आङसिरिङ हुन्छ, र साह्रै आश्चर्य लागिरहेको छ, उहाँहरूको जन्मअघि यो मुलुक कसरी जोगिएछ ?’
पार्टीका तर्फबाट आधिकारिक धारणा व्यक्त गर्नुपर्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत सहमतिमाथि प्रश्न उठाएका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘आज हाम्रो प्यारो देशको सार्वभौमिकता र अखण्डताको विरुद्धमा खुलमखुल्ला विखण्डनकारी नारा जुलुस कसरी र किन भइरहेछ ? यो हद भयो, असह्य भयो । विखण्डनकारी गतिविधिको अन्त्यका निम्ति सम्झौता कि विखण्डनवादलाई वैधानिकता दिन भन्ने सवाल उठ्न नपाउने गरी सरकारले कदम चाल्नुपर्छ । गम्भीर बनौं ।’

सोमबार सुरक्षा परिषद बैठकलाई संबोधन गर्दै प्रधानमन्त्री ओली समेत सहमतिको विरोध गर्ने आफ्नै दलका नेताप्रति जाईलागे । उनले भने, ‘किन कसै कसैलाई पृथकतावाद सकियो भन्दा यति बिघ्न खरो भएको हो ? किन भुटभुटिएको ?’
त्यसको भोलीपल्ट नेता रावलले मंगलबार पुनः ट्वीट गरेका छन् । उनले भनेका छन् ‘नेपाल आमालाई गालिगलौज गर्दै टुक्र्याउन विदेशीहरूसंग समेत साँठगाँठ गर्ने सीके राउतलाई राष्ट्रिय हिरोको सम्मान दिदै अलग देशको नेतासंग झै सम्झौता गरी स्वतन्त्र मधेश र स्वशासन जस्ता संविधान विपरीतका कुरा, मेरो विरूद्धको कुप्रचारको थोत्रो बर्कोले छोपिने छैनन् ।’
पृथकतावाद परित्याग गरेर मूलधारको राजनीतिमा आउने सहमतिलाई कसैले गलत भनेर व्याख्या–विश्लेषण गर्नु उचित नभएको राउतसँग सहमति गराउन मुख्य भूमिका खेल्ने सुत्राधार मध्येका एक नेकपा सांसद सोमप्रसाद पाण्डे बताउँछन् ।
नेपाल सरकार र ‘स्वतन्त्र मधेस’ दुइटा देशको बीचमा जस्तै सहमति भएको भनीकन ‘स्वतन्त्र मधेस गठबन्धन’ सँगको सहमतिलाई विवादित बनाउने चेष्टसमेता गरिएको उनको तर्क छ ।
पाण्डे भन्छन् ‘खासमा ‘स्वतन्त्र मधेस’ र ‘स्वतन्त्र मधेस गठबन्धन’ भन्ने एउटै पदावली हो भन्नु भयानक अपव्याख्याको कोसिस हो, राउतले उत्पादन र वितरण गरेका विखण्डनकारी सामग्री अब उत्पादन नगर्ने भनी स्पष्ट लेखिएको छ । यसरी शब्द-शब्दमा स्पष्टै लेखिएको सहमतिमा विवाद गर्न छिद्रछिद्र खोतलेर गल्ती नै भएको सावित गर्न खोज्नु बेकारको कसरत हो ।’
प्रवक्ता श्रेष्ठ, नेता रावललगायतले सहमतिमा प्रयोग भएका यस्ता भाषाप्रति असहमति जनाउदै परिमार्जन गर्नुर्ने बताउदै आएपछि पाण्डेले बचाउदै धारणा राखेका हुन् ।
प्रकाशित समय १५:३३ बजे
















