गृहपृष्ठ घरेलु मेलामा साढे १५ करोडको कारोबार
घरेलु मेलामा साढे १५ करोडको कारोबार
साना तथा घरेलु उद्योगद्वारा उत्पादित वस्तुहरूको प्रबर्धन गर्ने उद्देश्यसहित राजधानीमा आयोजित अन्तर्राराष्ट्रिय औद्योगिक व्यापार मेलामा १५ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ। बिहीबारदेखि सञ्चालित पाँच दिने मेलामा चार लाख ७५ हजारले अवलोकन गरेकोआयोजकले जनाएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा राजधानीको प्रदर्शनीमागीस्थित भृकुटीमण्डप परिसरमामा चलिरहेको नेपाल १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ को समापन समारोहमा सो कुराको जानकारी गराइएको हो ।
आयोजकका अनुसार मेलामा बिहीबार २० हजारले अवलोकन गरेकोमा सवा करोडको कारोबार भएको थियो भने शुक्रबार ५० हजारले अवलोकन गरेकोमा तीन करोड रुपैयाँको कारोबार भएको थियो । साथै शनिबार एक लाख १७ हजारले अवलोकन गरेका थिए भने छ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आइतबार दुई करोड ९० लाखको कारोबार भएको थियो भने एक लाख ३५ हजारले अवलोकन गरेका थिए । यसैगरी सोमबार दुई करोड २५ लाखको कारोबार तथा एक लाख ५३ हजारले अवलोकन गरेका दाबी गरिएको छ ।
पाँच दिनसम्म चलेको मेलामा २०५ वटा स्टल रहेका, उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योगहरु सहभागी रहेको, चीन, भारत र बगलादेश गरी ४५ वटा अन्तराष्ट्रिय स्टल रहेका थिए । पाँच दिनको अवधिमा करिब चार लाख ५० हजारले अवलोकन गर्ने र झण्डै १५ करोडको कारोबार हुने अपेक्षा गरिएको थियो ।
मेलामा नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षणका रुपमा रहेका थिए ।मेलाको समापन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आयआर्जन र उद्यमशीलताको विकासबाट मात्रै अर्थतन्त्र सुदृढ हुने बताए।
उत्पादन बढाउनका लागि अहिले सबैभन्दा शक्तिशाली सरकारका रुपमा रहेको स्थानीय निकाय मार्फत लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तारमा बजेट परिचालन गर्नुपर्नेमा उनले जोड बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मेला सोंचेभन्दा पनि सफल भएको बताए ।
मुलुकभरका झण्डै चार लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रतिबिम्बित गर्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको मेला संयोजक उमेशप्रसाद सिंहले जानकारी दिए ।
‘हाम्रो जस्तो देशमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धिका संवाहकका रुपमा रहेका भएतापनि प्रविधि प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बन्न नसकेको हुँदा आकर्षक प्रतिफल दिन सकिरहेका छैनन् जसका कारणले युवा पुस्ता यस्ता उद्योगप्रति आकर्षित हुन सकिरहेका छैनन् ’ अध्यक्ष सिंहले भने ।
समापन समारोहमा उत्कृष्ट उद्यमीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
प्रकाशित समय १५:२० बजे

















