गृहपृष्ठ बुटवलको तीनकुनेमा पुल निर्माण हुँदै, साँघुरो सडकले सास्ती उस्तै
बुटवलको तीनकुनेमा पुल निर्माण हुँदै, साँघुरो सडकले सास्ती उस्तै
बुटवल उपमहानगरपालिका–११ देविनगरदेखि हात्तिसुड बस्तीसम्म जोड्ने पक्की पुल निर्माण अन्तिम चरणमा छ । यस्तै स्थानीय र सरोकारवालाहरुको पटक–पटकको दबाबका कारण तिनकुनेस्थित सोह्र–छत्तिस नहरमा पनि पुल बन्ने भएको छ । उपमहानगरले आफ्नै बजेटमा पुल बनाउने भएको हो ।
पुल जोड्ने साँघुरो बाटो भने विस्तारको कुनै सुरसार छैन । साँघुरो बाटोका बीचमा र्जीण पुल हुँदा सो क्षेत्रमा सवारी जामको समस्या छ । बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले पुलको शिलन्यास गरिसकेका छन् ।
बुटवलको धेरै जनसंख्या रहेको वडा–११ र ९ लाई जोड्ने यो महत्वपूर्ण पुलको निर्माण आगामी वर्षको असार मसान्तभित्र सक्ने बुटवल उपमहानगरपालिका योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए । उनका अनुसार १ करोड ४० लाख २४ हजार ३ सय ८६ रुपैयाँ लागतमा पुल बन्ने छ । निर्माणको ठेक्का बबुल–दिव्या जेभीले लिएको छ ।
जीर्ण पुल र साँघुरो बाटोका विषयमा न्युज कारोबारले ‘पुल बन्नै लाग्यो बाटो बन्ने सुरु छैन’ शिर्षकको समाचार प्रकाशन गरेपछि उपमहानगरको ध्यानाकर्षण भएको थियो । तिनकुनेमा पुल निर्माणसँगै बाटो विस्तारको काम पनि अघि बढाउनुपर्र्नेे इन्जिनियरहरुको सुझाव छ ।
देवीनगर–हात्तिसुडको निर्माण अन्तिम चरणमा
बुटवल–११ देविनगरदेखि हात्तीसुड जोड्ने पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । अब केही महिनाभित्रै पुल सञ्चालनमा आउने बताइएको छ । २०७२ मङ्सिर १२ गते तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुल शिलान्यास गरेका थिए । १ सय १२ मिटर लामो पुलको मुख्य ढलान भइसकेको छ । सडक डिभिजन कार्यालय बुटवलकी इन्जिनियर सविता ज्ञवालीका अनुसार फिनिसिङको काम सकेर पुल सञ्चालन गर्न सकिने छ ।
१० करोड ४६ लाख ५६ हजार रुपैयाँ लागतमा निर्माण पूरा हुने पुलले बुटवल, मोतीपुर, सेमलार, फर्साटिकर लगायतका क्षेत्रलाई जोड्नेछ ।
प्रकाशित समय ११:४० बजे


















