गृहपृष्ठ देशका ठाउँ ठाउँमा बर्डफ्लू, सरकारले पहल थालेन
देशका ठाउँ ठाउँमा बर्डफ्लू, सरकारले पहल थालेन
काठमाडौं, मकवानपुर र पोखरामा केही कुखुरा फार्ममा बर्डफ्लूको सङक्रमण देखिएपछि पशु विभागसहित सम्बद्ध सरकारी निकायमा तनाब सुरु भएको छ । बर्डफ्लू अन्य भागमा पनि फैलने जोखिम बढे पनि सरकारले पर्याप्त सतर्कता अपनाएको छैन ।
नेपालमा किन यतिखेर बर्डफ्लू पुनः संक्रमणकै रूपमा देखा पर्यो भन्ने विषयमा सरकारी अधिकारीहरूले स्पष्ट जवाफ दिएका छैनन । विभिन्न स्थानमा कुखुरा मर्न थालेपछि शंका लागेर परीक्षण गर्दा बर्डफ्लू भाईरस एच फाइभ एच वान संक्रमण भएको पुष्टि भएको पशु सेवा विभागले जनाएको छ। बर्डफ्लूको संक्रमण फैलिएपछि किसानलाई करोडौंको क्षति पुगेको छ, तर कृषि तथा पशुपक्षी विकास मन्त्रालयले औपचारिक रूपमा यसका बारेमा अहिलेसम्म सामान्य जानकारी प्रवाहितसम्म गरेको छैन ।
नेपालमा सबैभन्दा पहिले २०६५ मा झापाबाट बर्डफ्लू संक्रमण फैलिएको थियो । यसको प्रकोप २०७३ सालसम्ममा देखापरेकोमा सरकारले ०७४ सालमा नेपाल बर्डफ्लूमुक्त मुलुक भएको घोषणा गरेको थियो । तर यस वर्ष पहिला पोखरा र त्यसपछि मकवानपुरबाट देखिन सुरु भएको बर्डफ्लू काठमाडौंमा पनि प्रमाणित भइसकेको छ ।
विभागका अनुसार बर्डफ्लू रोगकै कारण अहिलेसम्म ६७ हजार कुखुरा मरिसकेका छन् । मकवानपुरमा ४२ हजार, तारकेश्वर र टोखा क्षेत्रमा २५ हजार र पोखरास्थित पोल्ट्री फार्मका झन्डै १०० कुखुरा बर्डफ्लू रोगका कारण मरेका छन् । सरकारले संक्रमित पोल्ट्री फार्मवरपरका सवा लाखभन्दा बढी कुखुरा मारिसकिएको छ ।
यो रोग व्यक्तिमा लागेमा फोक्सोमा संक्रमण हुने, ज्वरो, वाकवाकी लाग्नेजस्ता लक्षण देखा पर्छन् । अन्तमा श्वासप्रश्वासमा कठिनाइ भई मृत्यु हुनेसमेत सम्भावना रहेको डाक्टरहरु बताउँछन् ।
यसैबीच काठमाडौंमा बर्डफ्लु रोग नियन्त्रणसम्बन्धमा बसेको नगरस्तरीय बैठकले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । बर्डफ्लुबाट कुखुरा मर्ने क्रम जारी रहेसँगै आसपास क्षेत्रमा उच्च सतर्कता अपनाइएको नगर पशु स्वास्थ्य शाखा प्रमुख डा जयप्रकाशराय यादवले बताए ।
उनका अनुसार तारकेश्वर वडा नं ७ फुटुङको प्रभावित स्थानका तीन किमी क्षेत्रभित्र रहेका प्रत्येक फार्मको कुखुराको लक्षण जाँच गरेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी चल्ला, अण्डा, दानालगायत वस्तुमा केही दिन रोक लगाइने छ।
त्यस्तै स्थानीय स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेविकालाई दुई समूहमा परिचालन गरी स्थानीयवासीलाई जनचेतनामूलक कार्यक्रम गरी उनीहरुमा चेतना अभिवृद्धि गर्ने कार्य सञ्चालन गर्दै आएको नगर स्वास्थ्य शाखा प्रमुुख अरुणकुमार गिरीले बताए ।
बर्डफ्लुबाट तारकेश्वर –७ का श्यामसन्दुर बस्नेतको सागर पोल्ट्री फार्मका २८ हजार र श्यामकुमार बस्नेतको आकाश पोल्ट्री फार्मको आठ हजार कुखुरा नष्ट गरिएको थियो । आसपासका अन्य फार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेपछि परीक्षणका लागि पशु स्वास्थ्य कार्यालय पठाइएको छ । कृषकलाई जैविक सुरक्षामा ध्यान दिन पनि आग्रह गरिएको छ ।
रोग भित्रन नदिन अपनाउनुपर्ने मुख्य विधि जैविक सुरक्षा हो । यो विधि कुखुरामा कुनै प्रकारको रोगका किटाणुको प्रवेश र फैलावट रोक्नको लागि अवलम्बन गरिन्छ ।
प्रकाशित समय १४:१७ बजे

















