गृहपृष्ठ साफ महिला च्याम्पियनसिप फाइनल : भारतको दबदबा तोड्ने मौका
साफ महिला च्याम्पियनसिप फाइनल : भारतको दबदबा तोड्ने मौका
साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल आज भारतसँग भिड्दैछ ।
फाइनल खेल दिउँसो तीन बजे विराटनगरस्थित शहिद रंगशालामा हुनेछ । नेपालले साफमा भारतको दबदबा तोड्दै इतिहास रच्न चाहन्छ । चौथो पटक भारतविरुद्ध साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा गर्न लागेको नेपाललाई घरेलु मैदानमा उपाधि उचाल्ने अवसर पनि छ ।
उता, डिफेन्डिङ च्याम्पियन भारत पाँचौ उपाधिको लक्ष्यमा छ । भारतले साफ च्याम्यिनसिपको इतिहासमा कुनै खेल हारेको छैन । प्रि म्याच कन्फेरेन्समा प्रशिक्षक हरि खड्काले नेपालले उपाधि उचाल्ने बताएका थिए । जारी साफमा भारतले तीन खेलमा १५ गोल गरेको छ । समूह चरणका खेलमा माल्दिभ्सलाई ६–० र श्रीलंकालाई ५–० ले हराएको भरतले सेमिफाइनलमा बंगलादेशलाई ४–० गोलले पराजित गरेको थियो ।
नेपालले भने जारी साफमा १० गोल गरेको छ । समूह चरणका खेलमा भुटानलाई ३–० र बंगलादेशलाई पनि ३–० गोलले पराजित गरेको थियो । सेमिफाइनलमा नेपालले श्रीलंकालाई ४–० गोलले हराएको थियो ।
नेपालको पछिल्ला खेलका प्रदर्शन सम्झनलायक नै छन् । भारतलाई यसअघि एक खेलमा बराबरी र एक खेलमा पराजित गरेको नेपाली महिला खेलाडीमा घरेलु मैदानमा उपाधि जित्ने आत्मविश्वास छ ।
प्रकाशित समय ०८:३३ बजे

















