गृहपृष्ठ मेलम्ची छाडेर भागेको सिएससीले २ अर्ब ५२ करोड क्षतिपूर्ति माग्यो

मेलम्ची छाडेर भागेको सिएससीले २ अर्ब ५२ करोड क्षतिपूर्ति माग्यो

मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र छोडेर गएको इटालियन ठेकेदार कम्पनी सिएससीले सरकारसँग क्षतिपूर्ति वापत २ अर्ब ५२ करोड रकम माग गरेको खुलासा भएको छ । संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा समितिका सदस्य सुरेन्द्रराज पाण्डेले सो जानकारी गराएका हुन् । नाकाबन्दीलगायतका कारण सो आयोजना निर्माणको क्रममा भएको क्षतिवापत सरकारसँग सो कम्पनीले २ अर्ब ५२ करोड माग गरेको उनले जनाए ।

समितिले पाण्डेलाई सो आयोजनाबारे स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिएको थियो । समितिको बुधबारको बैठकमा उनले बुझाएको प्रतिवेदनमा सो आयोजनाको बाँकी काम सम्पन्न गर्न २अर्ब ४५ करोड लाग्ने पनि सम्बन्धित निकायले जानकारी गराएको पनि उल्लेख गरिएको छ । प्रतिवदेनमा सीएमसी कम्पनीलाई भन्दा नयाँ ठेकेदार कम्पनीलाई जिम्मेवारी दिएर सो आयोजनाको बाँकी काम सम्पन्न गर्न पनि सरकारलाई सुझाव दिइएको छ ।

समितिका सदस्य पाण्डेले २ अर्ब ५२ करोड क्षतिपूर्ति दिएर सो आयोजनाको बाँकी काम सिएमसी कम्पनीबाटै गराउनु भन्दा २ अर्ब ४५ करोडमा सो आयोजनाको काम सम्पन्न गर्न उपयुक्त हुने देखिएको पनि समितिलाई जानकारी गराए । समितिका सदस्य पाण्डेले सो आयोजनाको कामलाई छिटो अघि बढाउन पनि सरकारलाई सचेत गराए । प्रतिवेदनमा सीएमसी कम्पनीको २ अर्ब १० करोड रुपैयाँ सरकारले बैंकबाट जफत गरिसकेको पनि उल्लेख गरिएको छ ।

प्रकाशित समय १५:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु