गृहपृष्ठ आठौं राष्ट्रिय खेलकुद : कसले कति पदक हात पारे ?
आठौं राष्ट्रिय खेलकुद : कसले कति पदक हात पारे ?
प्रदेश नम्बर ३ चौथो स्थानमा
नेपालगन्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिमहरुकै वर्चश्व देखिएको छ । हालसम्म ११९ वटा स्वर्ण पदकका लागि भएका विभिन्न खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले अग्रता कायम राखेको छ ।
आर्मीले शुक्रबारसम्म ४४ स्वण, ३१ रजत, २६ कास्य गरी १०१ पदक हात पारी अग्रता कायमै राखेको हो । दोस्रो स्थानमा विभागीय नेपाल पुलिस क्लबले २१ स्वर्ण, २० रजत र २१ कास्यसहित कुल ६२ पदक जितेको छ । तेस्रो स्थानमा रहेको अर्को विभागीय सशस्त्रको एपीएफले १७ स्वर्ण, १६ रजत र २७ कास्यसहित ६० पदक जितेको छ ।
प्रदेश ३ अंक तालिकाको चौथो स्थानमा छ । प्रदेश ३ ले ९ स्वर्ण, १५ रजत र ३३ कास्य गरी ५७ पदक हात पारेको छ । गण्डकी प्रदेशले पाँचौं स्थानमा आफूलाई कायमै राखेको छ । गण्डकीले ६ स्वर्ण, ७ रजत र १८ कास्य गरी ३१ पदक जितेको छ ।
प्रदेश २ पदक तालिकाको छैटौं स्थानमा छ । उसले ६ स्वर्ण ६ रजत र ५ कास्य गरी १७ पदक जितेको छ । सुदूरपश्चिम प्रदेश पदक तालिकाको सातौं स्थानमा छ । उसले ६ स्वर्ण ५ रजत र १४ कास्य गरी २५ पदक जितेको छ । आयोजक प्रदेश ५ पदक तालिकाको आठौं स्थानमा छ । प्रदेश ५ ले ४ स्वर्ण, १० रजत र २३ कास्य गरी ३७ पदक हात पारेको छ ।

प्रदेश १ पदक तालिकाको नवौं स्थानमा छ । प्रदेश १ ले ३ स्वर्ण, ७ रजत र २६ कास्य गरी ३६ पदक जितेको छ भने कर्णाली प्रदेश अंक तालिकाको १०औं स्थानमा छ । कर्णाली २ स्वर्ण, १ रजत र २ कास्य गरी ५ पदक जित्न सफल भएको छ । १ स्वर्ण र ३ कास्य गरी एनआरएनए पदक तालिकाको अन्तिममा छ ।
४५ खेलका लागि ३ सय ७२ स्वर्ण पदक र उत्तिकै संख्यामा रजत तथा ५६३ कास्य पदकका लागि खेल जारी रहेको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले जानकारी दिएका छन् । अनौपचारिक रुपमा चैत २७ बाट सुरु भएको आठौँ राष्ट्रिय प्रतियोगितामा पहिलोपटक प्याराग्लाइडिङ खेल समावेश गरिएको छ । एनआरएनए टिम पनि पहिलोपटक सहभागी भएको हो । प्रतियोगितामा दुई हजार ८ सय २५ पुरुष तथा दुई हजार तीन सय ८६ महिला गरी पाँच हजार दुई सय ११ खेलाडी सहभागी छन् ।
ह्यान्डबलमा गण्डकी प्रदेशको दोहोरो जित
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार नेपालगन्जमा भएको पुरुष तथा महिलातर्फको ह्यान्डबल खेलमा गण्डकी प्रदेशले दोहोरो जित हासिल गरेको छ । नेपालगन्जको जिल्ला प्रशासन कार्यालय परिसरमा भएको महिलातर्फको दुई खेलमा जित हासिल गरेको गण्डकी प्रदेशले पुरुषतर्फको एक खेलमा पनि जित हासिल गरेको हो ।

महिलातर्फ भएको पहिलो खेलमा गण्डकी प्रदेशले प्रदेश ५ लाई २२–४ को फराकिलो गोलअन्तरले पराजित गर्यो । गण्डकीको जितमा योगिता गुरुङले ७ गोलको योगदान दिइन् । त्यसैगरी, महिलातर्फको अन्तिम खेलमा गण्डकी प्रदेशले प्रदेश ३ लाई १५–५ को गोलअन्तरले पाखा लगायो । गण्डकीको जितमा योगिता गुरुङले पहिलो खेलमा जस्तै दोस्रो खेलमा पनि ७ गोलको योगदान दिइन् । आठौं राष्ट्रिय खेलमा राष्ट्रिय स्तरको प्रतियोगितामा पहिलोपटक ५ जना खेलाडीले डेब्यु गरेको प्रशिक्षक विष्णु गुरुङले जानकारी दिए । सुकमाया गुरुङ, संगीता राना, महिमा केसी, दिया थापा र कोमली खड्काले डेब्यु गरेका हुन् ।
महिलातर्फ भएको दोस्रो खेलमा त्रिभुवन क्लबले कर्णाली प्रदेशलाई ५५–४ को विशाल गोलअन्तरले पराजित गरेको छ । त्रिभुवनको जितमा कविता राईले १९ गोल गरिन् । तेस्रो खेलमा प्रदेश ७ ले प्रदेश २ लाई ७–५ गोलअन्तरले हरायो । प्रदेश ७ को जितमा गीताञ्जली रानाले ४ गोल गरिन् । चौथो खेलमा एपीएफले प्रदेश १ लाई २८–१० को गोलअन्तरले पाखा लगायो । एपीएफकी उमा राईले सर्वाधिक १७ गोल गरिन् ।
त्यसैगरी नेपालगन्जको रंगशाला परिसरमा आयोजना भएको पुरुषतर्फको ह्याण्डबल खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४३–१५ को फराकिलो गोलअन्तरले पराजित गरेको छ । विशाल बस्नेतको कप्तानीमा मैदानमा उत्रिएको गण्डकीको जितमा भने सन्तोष श्रेष्ठले सर्वाधिक ६ गोल गरे । गण्डकीका गोलरक्षक विशाल नेपालीसहित सबै खेलाडीले गोल गरेका थिए । आठौं राष्ट्रिय खेलमा राष्ट्रियस्तरको प्रतियोगितामा पहिलो पटक पाँचजना खेलाडीहरु सहभागी भएको प्रशिक्षक विष्णु शाक्यले बताए । उनका अनुसार शिव खड्का, कदम चालिसे, पवन छन्त्याल, जोसनिस पुर्जा र प्रवीण गुरुङ रहेका छन् ।
शुक्रबार बिहान भएको पुरुषतर्फको अर्को खेलमा त्रिभुवन आर्मी विजयी भएको छ । आर्मीले कर्णाली प्रदेशलाई ४७–१० गोलअन्तरले पराजित गरेको हो । प्रतियोगितामा आर्मीका निर्मल बाबुले सर्वाधिक ११ गोल गर्दा कर्णाली प्रदेशका केशव विष्टले ५ गोल गरे । तेस्रो खेलमा प्रदेश २ ले प्रदेश १ लाई २८–१४ गोलअन्तरले हरायो भने एपीएफले प्रदेश ३ लाई ३९–२३ ले पाखा लगायो । शुक्रबार हुने भनिएको अन्तिम खेल प्रकाश नपुगेका कारण स्थगित भएको अपिसियल विकास खनालले बताए । स्थगित भएको प्रदेश ५ र सुदूरपश्चिम प्रदेशबीचको खेल शनिबार हुनेछ ।
प्रकाशित समय ०८:१५ बजे

















