गृहपृष्ठ मुख्यमन्त्री राउतलाई अमेरिका जान रोक
मुख्यमन्त्री राउतलाई अमेरिका जान रोक
काठमाडौं- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमणलाई मन्त्रिपरिषदले रोक लगाएको छ । आइतबार साँझ बालुबाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनरल कन्भेन्सन अफ मधेसी एसोसियसन इन अमेरिका’ नामक संस्थाको निमन्त्रणमा अमेरिका जान लागेका मुख्यमन्त्री राउतको भ्रमणलाई प्रदेश २ को मन्त्रिपरिषदले निर्णय गरी केन्द्रीय सरकारमा पठाएको थियो ।
प्रदेश सरकारबाट आएको प्रस्तावलाई आइतबार साँझ बसेको मन्त्रीपरिषद बैठकले अस्वीकार गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए । ‘अहिले प्रदेश भित्रै आर्थिक वर्ष ०७५/७६ को नीति र बजेट निर्माण कार्य लगायतका संगठनात्मक संरचनाका महत्त्वपूर्ण काम गर्नुपर्ने समय परेकाले त्यहाँ जान अनुपयुक्त देखिएको टुंगो गरिएको छ’, बास्कोटाले भने ।
त्यस्तै, मुख्यमन्त्री तथा प्रदेश मन्त्रालयहरुको परिमार्जित संगठन संरचना सम्बन्धी प्रस्ताव पनि स्वीकृति गरिएको छ । बैठकले मदन भण्डारी राजमार्ग निर्माण सम्बन्धी नयाँ प्रस्ताव पारित गरेको छ । ‘झापाको शान्तिनगरदेखि धरान, चतरा, गाइघाट, कटारी, सिन्धुलीमाडी, हेटौंडा, गैडाकोट, रामपुर, रामडी, रिडी, तम्घास, सिमलटारी, प्युठान, तुलसीपुर, बोटेचौर, सुर्खेत, बड्डीचौर, सिमचौर, बिपीनगर, सहजपुर, बुडर, जोगबुढा र रुपालसम्म पुग्नेगरी करिब १२ सय किलोमिटरको चुरे तथा भित्री मधेसको उपत्यका जोड्ने मुख्य उद्देश्यसहित राजमार्ग निर्माण गर्ने भौतिक तथा यातायात मन्त्रालयको प्रस्तावलाई स्वीकृत गरेको छ’, राज्यमन्त्री बास्कोटाले भने ।
राष्ट्रिय विमा संस्थानको प्रशासकमा कविप्रसाद पाठक (झापा)लाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको सम्पति विवरण सार्वजनिक गर्ने निर्णय गरिएको छ । त्यस्तै, ३३ किलो सुन तस्करी प्रकरण सम्बन्धी चलिरहेको छानबिनमा खटिएको विशेष अनुसन्धान टोलीको म्याद ०७५ जेठ मसान्तसम्म कार्यावधि थप गर्ने निर्णय गरिएको छ ।
विमानस्थलबाट विगत ५ वर्षदेखि सुन तस्करी हुँदै आएको खुलेपछि गृह मन्त्रालयका सहसचिव इश्वरचन्द्र पौडेलको संयोजकत्वमा छानबिन समिति बनेको थियो । ४५ दिनको म्याद दिएर चैत २० गते गठित समितिको जेठ ४ गते म्याद सकिएको थियो । सुन तस्करी गिरोहमा आबद्ध सनम शाक्यको हत्या घटनामा भएको अनुसन्धानमाथि छानबिन गर्ने क्रममा सो तथ्य खुलेको हो ।
प्रकाशित समय ०७:३० बजे
















