गृहपृष्ठ मध्यमोदी जलविद्युत् आयोजनाको काम पुनः सञ्चालन
मध्यमोदी जलविद्युत् आयोजनाको काम पुनः सञ्चालन
प्रभावित क्षेत्रका बासिन्दाको आन्दोलनले विगत एक सातादेखि ठप्प बनेको मध्यमोदी जलविद्युत आयोजनाको निर्माण कार्य पुनः सञ्चालन भएको छ । चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४ मेघावाटको जलविद्युत आयोजना स्थानीयको आन्दोलनका कारण जेठ १२ गतेदेखि बन्द भएको थियो ।
गत शुक्रबार दिनभर आयोजना पक्ष, स्थानीय बासिन्दा र जिल्ला समन्वय समितिका संयोजक मनोहर बी पौडेल, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालसहित स्थानीय जनप्रतिनिधिको संयुक्त छलफलबाट स्थानीयका माग पूरा गर्न आयोजना पक्ष सहमत भएपछि निर्माणकार्य शनिबार बिहानदेखि सञ्चालन भएको हो ।
आयोजनाको सुरुङ निर्माण गर्दा स्थानीयका घरमा क्षति पुगेको भन्दै पुनःनिर्माण तथा क्षतिपूर्तिको माग गर्दै प्रभावित क्षेत्रका बासिन्दाले आन्दोलन गरेका थिए । मोदी गाउँपालिका वडा नं १ र २ का मख, ठाना, कल्लेनी र ओख्लेमा रहेका बस्तीका घर भूकम्पले झैं भत्किन थालेपछि स्थानीयवासी आन्दोलित भएका हुन् ।
छलफलका क्रममा क्षति पुगेका घरको भूगर्भविद र प्राविधिक टोलीले दिएको रिपोर्टका आधारमा आयोजनाले तत्काल क्षतिपूर्ति दिने सहमति भएपछि काम सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।
आयोजनाले क्षतिपूर्तिको रकम दिन ढिलाइ गर्दा आन्दोलन भएको थियो । पीडितहरूले घरसमेतको स्थलगत अनुगमनपछि काम सुरु गर्न दिन स्थानीयले सहमति जनाएका हुन् । क्षति पुगेका छवटा घरधनीले भने पहिल्यै क्षतिपूर्तिको रकम बुझेको बताइएको छ ।
प्रभावित क्षेत्रमा पर्ने सुरुङभन्दा माथि परेका २८ घरपरिवार समस्यामा रहेका छन् । घर पुनर्निर्माणको काम स्वयंले सुरु गर्ने र आवश्यक रकम आयोजना दिने सहमति यसअघि नै भए पनि आयोजनाले रकम दिन ढिलाइ गरेका कारण स्थानीयले पुनःआन्दोलन गरेका हुन् ।
आयोजनाको काममा आगामी दिनमा अवरुद्ध नगर्ने, स्थानीयको घर पुनर्निर्माणको अनुगमन जिल्ला समन्वय समिति पर्वतले गर्ने र आयोजनाले गर्नुपर्ने सामाजिक उत्तर दायित्वका काम प्राथमिकताका आधारमा गर्दै जाने सहमति पहिल्यै भए पनि काम नभएका कारण पुनः ताकेता गरिएको जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेलले जानकारी दिए । (रासस)
प्रकाशित समय ११:११ बजे
















