गृहपृष्ठ मर्दी हिमालका ११ होटल तथा रेस्टुराँ व्यवसायी कारबाहीमा

मर्दी हिमालका ११ होटल तथा रेस्टुराँ व्यवसायी कारबाहीमा

mardi-annapurna-newskarobar अनुमतिबिमा बनाइएको होटल ।

कास्कीको मर्दी हिमालको पदमार्गमा पर्ने ११ होटल तथा रेस्टुराँ व्यवसायी कारबाहीमा परेका छन् । सार्वजनिक क्षेत्रमा बिनाअनुमति होटल तथा रेस्टुराँ सञ्चालन गर्ने ११ जनालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ए–क्याप) पोखराले कारबाही गर्ने निर्णय गरेको हो ।

पटक–पटक सार्वजनिक जग्गामा होटल तथा रेस्टुराँ नबनाउन आग्रह गर्दा अटेर गरी निर्माण गरेका ११ जनालाई कारबाही हुने गरी कार्यालयबाट फैसला भएको सम्पर्क अधिकारी ऋषिराम ढकालले जानकारी दिए । खिमबहादुर तामाङ, अमृत तामाङ, यामबहादुर तामाङ, सुकबहादुर तामाङ, धनबहादुर तामाङ, यामबहादुर तामाङ, शिवलाल गौतम, रोशन गुरुङ, देविलाल भण्डारी, सुदिप ढुंगाना र हरिबहादुर क्षेत्रीलाई कारबाही स्वरुप उनीहरुले निर्माण गरेको होटल तथा रेस्टुराँ बन्द गराई सम्पूर्ण संरचना जफत गरिने ए–क्यापले जनाएको छ ।

ए–क्याप पोखराका प्रमुख राजकुमार गुरुङले मर्दी हिमालको पदमार्गमा हाल ९ वटा होटल तथा रेस्टुराँले मात्र ए–क्यापसँग अनुमति लिएर सञ्चालन गरेको बताए । ‘बाँकी सबै अनुमतिबिना चलेका छन्,’ उनले भने । कारबाहीमा परेका होटल तथा रेस्टुराँहरु तत्काल हटाई पहिलाकै अवस्थामा सार्वजनिक जग्गा कायम हुनुपर्ने उनले बताए । पटक–पटक मौखिक तथा लिखित रुपमा सार्वजनिक जग्गामा कुनै संरचना नबनाउन आग्रह गर्दा पनि अटेर गरेकाले त्यसको सम्पूर्ण जिम्मेवार स्वयं व्यवसायी नै हुने उनको भनाइ छ ।

मर्दी हिमालको पदमार्गमा मनपरी ढंगले वातावरणलाई कुनै ख्याल नै नगरी जथभावी रुपमा होटल तथा रेस्टुराँसहितका भौतिक संरचना निर्माण भएको मर्दी हिमाल ट्रेक व्यवस्थापन समितिका सचिव शिव भण्डारीले बताए । आवश्यकताका आधारमा मर्दी हिमालको पदमार्गमा विभिन्न होटल तथा रेस्टुराँ निर्माण भइसकेको स्थानीय हरिबहादुर क्षेत्रीले बताए । अमृत तामाङले विगत दुई वर्षदेखि मर्दी हिमालको पदमार्गमा पर्ने लोक्याम्पमा लोक्याम्प गेस्टहाउस सञ्चालन गर्दै आएका छन् ।

डुड खर्कदेखि फेरेस क्याम्प, बादल डाँडा, हाइक्याम्प –भ्यु प्वाइन्ट) सम्मको क्षेत्रमा दुई वर्षदेखि अवैधानिक होटल तथा रेस्टुराँ निर्माण भएको स्थानीयले जनाए । मर्दी हिमालको पदमार्गको अधिकांश भाग वडा नम्बर ९ मा पर्ने भएकाले अवैधानिक होटल तथा रेस्टुराँ पनि वडा नम्बर ९ मै निर्माण भएका छन् ।

प्रकाशित समय २०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु