गृहपृष्ठ चालू वर्षको ११ महिनामा ८४ किलो सुन बरामद
चालू वर्षको ११ महिनामा ८४ किलो सुन बरामद
तोडिदैछ, अवैध सुन कारोबारको चक्र
फाइल तस्बिर ।
केही समययता सुनको अवैध कारोबार नियन्त्रण गर्न प्रहरीले सक्रीयता बढाएसँगै चालू आर्थिक वर्षको ११ महिनामा १ सय ७ अवैध सुन कारोबारीहरू पक्राउ गरेको छ भने उनीहरूबाट ८४ किलो ३ सय ग्राम सुन बरामद गरेको छ ।
प्रहरीले प्रक्राउ गरेकामध्ये केही सुनको अवैध कारोबारमै संलग्न छन् भने केही व्यक्ति प्रचलित कानुनबारे थाह नहुँदा कानूनतः तोकिएको परिमाण भन्दा बढी सुन साथमा लिएर हिँड्दा समेत पक्राउ पर्ने गरेका छन् ।
अवैध सुनको कारोबारमा संलग्न हुनेहरूले तस्करीका विभिन्न तरिकाहरु अपनाउने गरेका छन् । प्राय: सुनलाई लिक्विड बनाएर गुदद्वारमा राख्ने, फल्सवटम बनाई लुकाउने, सुटकेशको डण्डीभित्र राख्ने, सुनको बाहिर फरक धातुको जलप लगाउने, सुन भन्दा फरक आकारमा राखेर ओसारपसार गर्ने गरेको पाइएको छ ।
कन्चनपुर झलारी बस्ने लक्ष्मण तिरुवा सुनको अवैध कारोबरमा पक्राउ पर्ने अभियुक्तमध्ये एक हुन् । उनी २०७५ फागुन २ गते पक्राउ परे । अवैध रुपमा भारतबाट सुन भित्र्याएर लुकाएको अभियोगमा उनी पक्राउ परेका हुन् । कन्चनपुर शुक्लाफाँटमा उनकै घरभित्र खाल्टो खनी राखेको ५ केजी र पूर्णवाशस्थित शंकर विकको घरमा खाल्डो खनी लुकाएको १८ केजी अवैध सुन सहित उनी पक्राउ परेका थिए । उनी भारतमा सवारी चालकको काम गर्थे ।
प्रहरीका अनुसार तिरुवाजस्तै सुनको अवैध कारोबारमा संलग्न व्यक्तिहरु पक्राउ पर्ने क्रम हाल बढ्दो छ । चालू आर्थिक वर्षको ११ महिनामा सुनको अवैध कारोबारमा संलग्न १ सय ७ जना पक्राउ परेका छन् ।
उनीहरुमध्ये महानगरीय प्रहरी कार्यालय रानीपोखरीअन्तर्गत ९२ जना, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरअन्तर्गत ५ जना, ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाअन्तर्गत ४ जना, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा अन्तर्गत २ जना र सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अन्तर्गत ४ जना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्ष २०७४/०७५ मा अवैध सुन ओसार पसार कार्यमा संलग्न ९० जना मात्र पक्राउ परेका थिए ।
प्रहरीका अनुसार चालू आर्थिक वर्षमा पक्राउ परेका व्यक्तिहरुबाट ८४ किलो ३ सय ३७ ग्राम ७ तोला अवैध सुन बरामद भएको छ । यसमध्ये महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गतबाट ३६ किलो ६ सय ४० ग्राम, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर अन्तर्गतबाट ७ तोला, ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा अन्तर्गतबाट ११ किलो १ सय ८८ ग्राम, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा अन्तर्गतबाट १० किलो, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत अन्तर्गत १ किलो ७ ग्राम र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अन्तर्गतबाट २५ किलो ५ सय १ ग्राम बरामद भएको हो ।
यी अवैध सुन कारोबारीबाट २३ करोड ५५ लाख ४१ हजार ८ सय ४१ रुपैयाँ राजश्व असुली भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । यसमध्ये सबैभन्दा बढी महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गतबाट १२ करोड ९० लाख ३३ हजार ९ सय ३५ रुपैयाँ र सबै भन्दा कम २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर अन्तर्गतबाट ४ लाख ५३ हजार ६ सय रुपैयाँ छ ।
सुनको अवैध कारोबार तथा ओसारपसारमा संलग्न व्यक्तिहरु मात्रै होइन मुख्य कारोबारीहरु समेत पक्राउ परेका छन् । यस्ता अपराधीहरु अन्तर्राष्ट्रिय रुपमा समेत सक्रिय रहेको अनुसन्धानले देखाएको छ ।
“अवैध कारोबारमा संलग्न व्यक्तिहरुको सूचना राखेर पक्राउ गर्ने अभियान तीव्र पारिएको छ । कारोबारभन्दा पनि पक्राउ गर्ने क्रम बढेको हो, ” सुनको अवैध कारोबार नियन्त्रणमा प्रहरीको सक्रियताबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल भन्छन्, “कारोबारी पक्राउ र अवैध सुन कारोबार नियन्त्रणलाई उच्च प्राथमिकता दिँदै नेपाल प्रहरीले मेहनतकासाथ काम गर्दै आएको छ ।”
खुल्ला सिमाना र विमानस्थल लगायतका कारोबार हुने स्थानमा आधुनिक उपकरणको कमीका कारण अवैध कारोबारले प्रसय पाएको हो । आधुनिक प्रविधिको कारण कारोबारीले सुनको अवैध कारोबारमा पनि नयाँ कार्यविधि र शैली अपनाउन थालेका छन् । जसले गर्दा अनुसन्धानमा थप जटिलता थपिएको प्रहरी अधिकारीहरू स्वीकार गर्छन् ।
“यस्ता कारोबारबाट सजिलै र संगठित रुपमा ठूलो मात्रामा आम्दानी हुने लोभले गर्दा कारोबार निरन्तर भइरहने हुनाले चुनौती थपिएको हो । अहिले जुन ढंगले प्रहरीले सक्रियता बढाएको छ, सूचना संजाल बढाएको छ, तीव्रताका साथ काम गरेको छ यसले गर्दा भोलिका दिनमा कारोबारमा ठूलो न्यूनता आउने विश्वास छ,” प्रहरी नायब महानिरीक्षक पोखरेल भन्छन् ।
यस्ता कारोबार नियन्त्रणबारे अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्दीप भण्डारीले भने, “भन्सारसँग समन्वय गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय इन्टेलिजेन्स प्रयोग गरी काम गर्छौ । विशेष निगरानी, प्राप्त सूचना, प्रविधिको प्रयोग र समन्वयको आधारमा त्यस्ता कारोबारी फेला पारी पक्राउ गर्न प्रहरी सफल हुँदै आएको छ ।”
सुनको अवैध कारोवार नियन्त्रणका लागि प्रहरीले आधुनिक प्रविधिको प्रयोग, विमानस्थल तथा भन्सारमा आवतजावत गर्ने व्यक्तिहरुलाई विशेष निगरानी तथा जाँच गर्ने गरेको र आवश्यकता अनुसार सादा पोसाकमा समेत प्रहरी परिचालन गर्ने गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । विविध चुनौतीको बाबजुद प्रहरीले ठूलो संख्यामा सुनको अवैध कारोबरमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भएको उसको भनाइ छ ।
प्रकाशित समय १७:३७ बजे

















