गृहपृष्ठ साना उमेरका बालबालिकाहरुमा आँखासम्बन्धी जटिल समस्या

साना उमेरका बालबालिकाहरुमा आँखासम्बन्धी जटिल समस्या

महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका क्षेत्रमा ससाना उमेरका बालबालिकामा आँखासम्बन्धी जटिल समस्या भेटिएको छ । नगरपालिकाको सहकार्यमा महाकरुणा समाज नेपालले सञ्चालन गरेको बुद्ध आँखा केन्द्रले पछिल्लो एक महिनाको अवधिमा गरेको विद्यालय केन्द्रित आँखा परीक्षणमा यस्तो समस्या पाइएको हो ।

बुद्ध आँखा जाँच केन्द्रले एक महिनाको अवधिमा जाँच गरेका १ हजार ७४६ मध्ये १ हजार १४९ विद्यालयमा अध्ययन गरिरहेका छात्रछात्रा रहेका छन् । गत जेठ ४ गते स्थापना भएर सेवा सुरु गरेको केन्द्रले ससाना नानीहरुमा अल्छी आँखा हुने, एउटा आँखा कम देख्ने, आँखा डेढो हुने, आँखामा मासु पलाउने र केहीमा त जन्मँदै मोतियाविन्दुसमेत पाइएको जनाएको छ । यसबाहेक आँखा सुकेर दृष्टिविहीन भएको, आँखाको नानीमा खत भएर दृष्टि गुमाएका र सुक्खा आँखाको समस्या बाक्लै भेटिएको केन्द्रका अध्यक्ष डा. नवराज गौतमले जानकारी दिए । सबैभन्दा बढी आँखा सुक्खा हुने समस्या पाइएको केन्द्रले जनाएको छ । सानो उमेरमा आँखाको देखभाल र आवश्यक उपचारबारे उदासीनता अपनाइँदा पछि जटिल समस्या बन्दै गएको डा. गौतमको भनाइ छ ।

नगरपालिकाको सहकार्यमा सञ्चालित केन्द्रले नगर क्षेत्रभित्रका सबै विद्यालयका छात्रछात्रा र नगरको वडा समितिले सिफारिस गरेका बिरामीलाई निःशुल्क आँखा परीक्षण गर्दै आएको छ । केन्द्रलाई उच्चस्तरीय विशेषज्ञ सेवा प्रदान गर्ने आँखा उपचारको मुख्य केन्द्रको रूपमा विकास गरिने केन्द्रले प्रतिबद्धता जनाएको छ ।

यसैबीच नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले केन्द्रलाई आँखासम्बन्धी अध्ययन अनुसन्धानको भरपर्दो केन्द्र बनाउन सहयोग जारी राखिने जनाएका छन् । जेठ ४ गते बुद्ध पूर्णिमाका अवसरमा नगरपालिकाको सहकार्यमा केन्द्र सञ्चालनमा आएको हो । (रासस)

प्रकाशित समय ११:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु