गृहपृष्ठ ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा
ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा
घरेलु टिम ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
टाइब्रेकरमा पाराग्वेलाई ४–३ ले हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० र थपिएको सात मिनेटमा दुवै तर्फबाट गोल नहुँदा खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा पाराग्वेका गुस्ताभो गोमेजको पहिलो प्रहारलाई ब्राजिलका गोलरक्षक एलिसन बेकरले उत्कृष्ट बचाउ गरे । विलियनले ब्राजिलका लागि पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए । पाराग्वेका मिगुएल अल्मिरोनले दोस्रो प्रहार गोलमा परिणत गरे । मार्किन्होस गोल गर्दै ब्राजिलको अग्रता कायम राखे । पाराग्वेका ब्रुनो भाल्डेज र ब्राजिलका फिलिपे कोउटिन्होले पनि गोल गरे ।
पाराग्वे लागि चौथो प्रहार गरेका रोड्रीगो रोजास सफल भए । ब्राजिलका रोबर्टो फिर्मिनोको प्रहार बाहिरिएपछि टाइब्रेकर बराबरीमा पुग्यो । पाराग्वेका लागि पाँचौ प्रहार गरेका डेर्लिस गोन्जालेजको प्रहार खेर गयो । ग्याब्रीएल जेससले अन्तिम पेनाल्टीलाई पोस्टको दिशा दिएसँगै ब्राजिल विजयी बन्यो ।
ब्राजिलले अब सेमिफाइनलमा अर्जेन्टिना र भेनेजुएलाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित समय ०८:४३ बजे

















