गृहपृष्ठ ब्रोकरबाट सेयर कर्जा पाउने व्यवस्थाले के फरक पर्छ ?
ब्रोकरबाट सेयर कर्जा पाउने व्यवस्थाले के फरक पर्छ ?
सेयर बजार यतिखेर फेरि सुस्ताएको छ । अर्थ मन्त्रालयको पहल कदमीपछि आएको ५८ बुँदे सुधारका कार्यक्रमसँगै उकालो यात्रा सुरु गरेको बजार साढे १३ सय अंकआसपासमा पुगेर फेरि सुस्ताएको हो । झन्डै तीन वर्षदेखि ओरालो लागेर करिब ४० प्रतिशत डाउन भएको बजार दुुई महिनामा साढे ३ सय अंक उकालो लागेको थियो ।
बजेटमार्फत अर्थमन्त्रीले पुँजीगत लाभकरलगायतका विषय सम्बोधन गर्दा सबै लगानीकर्ता संघ र विश्लेषकसमेतले मुक्तकण्ठले प्रशंसा गरे । ‘अब बजारले गति लिन्छ’ जस्ता हल्ला चले । तर, जेठ १५ यता बजार झन् सुस्ताएको छ । कारोबार रकम ३० करोडसम्म झरेको छ भने नेप्सेको उतारचढाव पनि सामान्य छ ।
धितोपत्र बजारमा यो साता सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य उतारचढावपूर्ण अवस्थामा रह्यो । साताको पहिलो दिन दोहोरो अंकले घटेको नेप्से सोमबार र मंगलबार झिनो अंकले बढे पनि बुधबार र बिहीबार पुनः ओरालो लाग्यो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार १७२ कम्पनीको १५ लाख ७५ हजार कित्ता सेयर ४८ करोड १८ लाख ५९ हजार मूल्यमा खरिद-बिक्री भयो । गत साताको अन्तिम कारोबार हुने दिन बिहीबार १२६४.३६ अंकमा पुगेको नेप्से यो साताको पहिलो दिन आइतबार १०.०१ अंकले घटेर १२५४.३५ मा झ-यो ।
सोमबार भने नेप्सेमा सामान्य सुधार देखियो । सोमबार नेप्से परिसूचक ५.७५ अंकले बढेर १२६०.१० अंकमा पुग्यो । कुल १७३ कम्पनीको १५ लाख ४ हजार ६७२ कित्ता सेयर ४८ करोड १४ लाख ९२ हजार ८ सय २१ रुपैयाँमा किनबेच भयो ।
मंगलबार पनि नेप्से परिसूचक झिनो अंकले बढ्यो । मंगलबार नेप्से ०.९५ अंकले बढेर १२६१.०७ अंकमा पुग्यो । बुधबार भने बजार बढ्न सकेन । बुधबार नेप्से २.७३ अंकले घटेर १२५८.२९ विन्दुमा झ–यो । साताको दुई दिन सामान्य अंकले उकालो लागेको नेप्से बिहीबार पनि घट्यो । बिहीबार नेप्से १.१४ अंकले घटेर १२५७.१५ अंकमा बन्द हुँदा कुल १७२ कम्पनीको ६२ करोड ७९ लाख ८ हजार ८१२ रुपैयाँमा खरिद-बिक्री भएको हो ।
यसबाट स्पष्ट हुन्छ कि सेयर बजारको गति निकै सुस्त छ । बजारमा कुनै आशा छैन । यही बीचमा ब्रोकर कम्पनीहरुले सिधै सेयर कर्जा दिन पाउने अनुमति पाएका छन् । के यसले सेयर बजारको निराशा चिर्न सक्ला ?
के प्रभाव पर्छ ?
मार्जिन कारोबार भनेको सेयर कारोबारका लागि लिन पाउने कर्जा सुविधा हो । अहिले लगानीकर्ताले पनि ब्रोकरमार्फत सिधै कर्जा पाउने नीतिगत व्यवस्था भएको छ । अब लगानीकर्ताले आफूसँग भएको रकमको दोब्बर मूल्यबराबरको सेयर खरिद गर्न सक्छन् । अर्थात्, लगानीकर्तासँग ५० हजार रुपैयाँ भए ब्रोकरसँग समन्वय गरी १ लाख रुपैयाँबराबरको सेयर खरिद गर्न सक्छन् । ब्रोकर कम्पनीहरुको लामो समयदेखिको मागलाई नेपाल राष्ट्र बैंकले यसै साता सम्बोधन गरेको हो । राष्ट्र बैंकबाट ८ वटा ब्रोकर कम्पनीले मार्जिन कारोबारको स्वीकृति पाइसकेका छन् भने अन्य तीनवटाले चाँडै पाउँदै छन् ।
ब्रोकरबाट सेयर कर्जा लिन पाउने व्यवस्थाले सेयर बजारलाई ‘बुलिस ट्रेन्ड’मा लैजाने अपेक्षा गर्न नसकिने स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट बताउँछन् । ‘व्यक्तिगत रुपमा लगानीकर्ताले भने राम्रै लाभ लिन सक्छन्,’ उनले भने, ‘११ ब्रोकर कम्पनीबाट मार्जिन कारोबार हुँदा केही न केही फरक पर्नु त स्वाभाविक नै हो ।’
बैंकबाट कर्जा लिँदा प्रक्रिया पु-याउन लामो समय लाग्ने र ब्रोकरबाट तुरुन्त हुने भएकाले लगानीकर्तामा सकारात्मक प्रभाव पर्ने अध्यक्ष रानाभाटको बुझाइ छ । ‘छिटो र सजिलो हुने भएकाले लगानीकर्ता मार्जिन लोनका लागि आकर्षित हुन सक्छन्,’ उनले भने, ‘हामीले पनि आफूसँग भएको पैसा अन्यत्र रिस्क मोल्नुभन्दा यतै लगाऊँ भन्ने हुन्छ, हामीसँग कारोबार गर्न लगानीकर्ताले पनि सहज महसुस गर्न सक्छन् ।’
ब्याजदर कस्तो हुन्छ ?
ब्रोकरमार्फत लोन लिँदा सहज र छिटो भए पनि ब्याजदर भने बैंकमा भन्दा कम पर्दैन । ‘हामीले पनि बैंकबाटै लिने हो,’ अध्यक्ष रानाभाट भन्छन्, ‘बैंकबाट ल्याएको पैसामा केही मार्जिन राखेर हामीले दिने भएकाले बैंकमा भन्दा कम ब्याजचाहिँ हुँदैन ।’ नेपालको सेयर बजारको इतिहासमा पहिलो पटक ब्रोकरमार्फत मार्जिन लोनको व्यवस्था भएको हो ।
प्रकाशित समय १२:५० बजे

















