गृहपृष्ठ काठमाडौंका सडकमा झन् धेरै सवारी पार्किङ

काठमाडौंका सडकमा झन् धेरै सवारी पार्किङ

sadak-parking-newskarobar

राजधानीमा सवारी साधनको संख्या दैनिक बढ्दो छ । गत वर्षसम्म ११ लाख हाराहारी रहेको बागमतीमा अहिले साना-ठूला गरी १२ भन्दा बढी सवारीसाधन दर्ता भएका छन् । ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक रविकुमार पौडेलका अनुसार राजधानी काठमाडौंमा एकपटकमा झन्डै ४ लाख सवारी साधन गुड्छन् ।

यति व्यस्त काठमाडौंका लागि पार्किङ स्थलको भने ठूलो समस्या छ । घरबाट निस्किएपछि सवारी धनीका लागि पार्किङ नै टाउको दुखाइको विषय बन्ने गरेको छ । सानो कामका लागि निस्किने अधिकांश मोटरसाइकल चालकले भने ट्राफिक या नगर प्रहरीको आँखा छलेर सडक किनारा, फुटपाथ या ‘नो पार्किङ’ स्टेसनमै सवारी राख्ने गरेका छन् ।

काठमाडौं महानगर प्रहरीले दैनिक औसत ७० देखि ८० वटा मोटरसाइकल सडकबाट उठाउने गरेको छ । ती मोटरसाइकलका धनीलाई १ हजार रुपैयाँ जरिवाता तिराएर छाड्ने गरिन्छ । तर पनि सडकमा पार्किङ गर्नेहरु निरुत्साहित भएका छैनन् । गत वर्षभरमा ९ हजार ३३८ वटा मोटरसाइकललाई जरिवाना तिराएको महानगर प्रहरीले चालू आर्थिक वर्षको असार १२ गतेसम्ममै ११ हजार ७०९ वटा मोटरसाइकललाई कारबाही गरिसकेको काठमाडौं महानगरपालिका नगर प्रहरी पोस्ट बग्गीखानाका इन्चार्ज श्यामप्रसाद तिमल्सिना बताउँछन् ।

कतिपय मोटरसाइकल धनी त आफ्ना मोटरसाइकल लिन पनि आउँदैनन् । चालू आर्थिक वर्षको असारसम्म पनि लिन नआउने २६ वटा सवारी साधन महानगर प्रहरीले महानगरीय ट्राफिक प्रहरी महाशाखामा बुझाएको छ ।

मोटरसाइकल जरिवानाबाटै १ करोड १७ लाख
काठमाडौं महानगरपालिका नगर प्रहरी पोस्ट बग्गीखानाले मोटरसाइकल जरिवानाबापत चालू आर्थिक वर्षको असार १२ गतेसम्ममा १ करोड १७ लाख ९ हजार रुपैयाँ संकलन गरेको छ । नगर प्रहरी पोस्टले सडकमा पार्किङ गर्ने ११ हजार ७०९ वटा मोटरसाइकलबाट जरिवानाबापत सो रकम संकलन गरेको हो । गत आर्थिक वर्ष २०७४/७५ मा महानगर प्रहरीले ९ हजार ३३८ मोटरसाइकलबाट ९३ लाख ३८ हजार जरिवाना उठाएको थियो ।

सडकबाट मोटरसाइकल हटाइदिनुप-यो
महानगर प्रहरी पोस्ट बग्गीखानामा प्रहरी नायब निरीक्षक (सई) श्याम तिमल्सिनासहित १३ जना कार्यरत छन् । सार्वजनिक बिदाको दिनबाहेक ट्राफिक प्रहरीसहित १८ जनाको टोली दुईवटा ट्रक लिएर अनधिकृत पार्किङ गरिएका मोटरसाइकल हटाउन निस्किन्छ । काठमाडौं महानगरपालिकाका ३२ वटा वडा कार्यालय र सर्वसाधारणसमेतले सडकको पार्किङ हटाइदिन फोन गर्ने गरेको सई तिमल्सिनाले बताए । ‘हामीसँग जनशक्ति पनि कम र ट्रक पनि दुईवटा मात्र भएकाले सबैतिर पुग्न समस्या छ,’ उनले भने, ‘तर पनि दैनिक ७-८ ठाउँ पुग्ने गरेका छौं ।’

सामान्य खालको ट्रक भएकाले फिल्डमा खटिने प्रहरीहरुलाई मोटरसाइकल चढाउन निकै समस्या हुने उनले बताए । ‘धेरैतिरबाट फोन आइरहेको हुन्छ,’ तिमल्सिनाले भने, ‘गाडी सहज नभएकाले उठाउन मुस्किल पनि हुन्छ र समय पनि बढी लाग्छ । अलि कम्फर्टेबल र हाइड्रोलिक प्रविधियुक्त गाडीहरु हुने हो भने यही जनशक्तिले धेरै काम गर्न सक्छ ।’

प्रकाशित समय १४:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु