गृहपृष्ठ पोखरा विमानस्थलको हवाई मार्गमा पर्ने रिठ्ठेपानीको डाँडामा डोजर
पोखरा विमानस्थलको हवाई मार्गमा पर्ने रिठ्ठेपानीको डाँडामा डोजर
राष्ट्रिय गौरवको आयोजनामा स्थानीय नै जुटे, पहिलो चरणमा महानगरलाई ३७ लाख ८० हजार रोयल्टी
पोखरा क्षेत्रीय अन्तर्राट्रिय विमानस्थलको हवाई मार्गमा पर्ने रिठ्ठेपानीको डाँडा कटान सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनालाई सफल पार्न स्थानीयबासीले आफैं डोजर लगाएर डाँडा कटान कार्य सुरु गरेका हुन् ।
२२ जना जग्गाधनीको संयुक्त बैठकले पोखराको विकासका लागि रिठ्ठेपानीको डाँडा कटानमा सहयोग गर्ने निर्णय गरेको जग्गाधनी गोविन्द तिमिल्सिनाले बताए । पोखरा महानगरबाट १० लाख ५० हजार घनमिटर माटो निकाल्ने अनुमति लिएको उनले जानकारी दिए । महानगरलाई हाल ५० हजार घनमिटरको अग्रिम रोयल्टीबापतको रकम ३७ लाख ८० हजार रुपैयाँ बुझाएको उनले बताए ।
माटो निकाल्दामात्र महानगरलाई जग्गाधनीहरुले रोयल्टीबापत करिब ७ करोड बुझाउनेछन् । अर्का जग्गाधनी ठाकुर बरालका अनुसार हाल पहिलो चरणमा माटो कटानका लागि वेस बनाउन रिठ्ठेपानी डाँडाको बामिया पाखाबाट एउटा स्क्याभेटर प्रयोग गरिएको छ । स्थानीयको करिब ९० रोपनी जग्गा कटान क्षेत्रभित्र पर्छ । राष्ट्रिय गौरवको आयोजनालाई सफल पार्न डाँडा कटानमा करिब २० करोड खर्चिन आफूहरु तयार भएको उनले बताए । डाँडाबाट निस्केको ढुंगामाटो बिक्रीबाट केही रकम जुट्ने बरालको विश्वास छ ।
तिमिल्सिना, बरालसहित सुदिप गिरी, सुरेन्द्र श्रेष्ठ, मानव धर्म सेवा समितिलगायतको जग्गा रिठ्ठेपानी डाँडामा पर्छ । पहिलो चरणमा कम्तीमा ८–१० रोपनी क्षेत्रफल मैदानको रुपमा वेस बनाएर निर्माण सामग्री राख्नेदेखि अस्थायी रुपमा मजदुरसहितको व्यवस्थापन सोही क्षेत्रमा गरिने जग्गाधनी बरालले जानकारी दिए ।
पोखरा विमानस्थलको निर्माण कार्य तीव्र गतिले अघि बढिरहेका बेला हवाईमार्गमा पर्ने रिठ्ठेपानीको डाँडा काट्नुको विकल्प नभएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनका प्रमुख विनेश मुनाकर्मीले बताए । विमान उडानमा असर गर्ने भएकाले उक्त डाँडा कटान गर्न विज्ञ टोलीले सुझाव दिएको थियो । पहिलो चरणमा ३० मिटर भाग कटान गर्न स्थानीयलाई अनुमति दिएको उनले जानकारी दिए । ‘स्थानीय जग्गाधनीले उक्त डाँडा आफैं कटान गर्ने र त्यहाँबाट निस्किने ढुंगामाटो पनि आफैं व्यवस्थापन गर्नेछन्,’ उनले भने । रिठ्ठेपानी डाँडामा १२ वटा थुम्का छन् ।
रिठ्ठेपानीको डाँडामा डेढ सय रोपनी सार्वजनिक वनजंगल कटान गर्नुपर्ने देखिए पनि त्यसको वास्तविक लगत निकालेसँगै विभागबाट अनुमति लिएर कसरी कटान गर्ने भन्ने विषयमा प्रक्रिया अघि बढेको बताइएको छ । विमानस्थलको हालसम्म करिब ४२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको आयोजना प्रमुख मुनाकर्मीले बताए । रनवे, ट्याक्सी वे लगायतका भौतिक संरचना तथा टर्मिनल भवन फाउन्डेसनको काम सकिएको छ । अब स्टिल स्ट्याक्चरको काम बाँकी रहेको उनले जानकारी दिए । ‘एक महिनामा स्टिलका सामग्री पोखरा आउनेछन्,’ उनले भने ।
प्रकाशित समय ०७:१८ बजे

















