गृहपृष्ठ प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध
प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध
चीन भ्रमणमा रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले चीनको सिचुवान प्रान्तका उच्च सरकारी अधिकारी तथा उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका छन् ।
भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीनलीले प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच मंगलबार भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको भ्रमणदलका सदस्य तथा उनका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।
अवसरमा मुख्यमन्त्री पोखरेलले यस समझदारीले दुई देशको सम्बन्धलाई अझ उचाईमा पुर्याउन बल पुग्ने विश्वास व्यक्त गरे । सिचुवान प्रान्तका गभर्नर लीले नेपाल र चीनबीचको निकै पुरानो र घनिष्ठ सम्बन्ध रहँदै आएको चर्चा गर्दै यो समझदारीले भविष्यको उज्यालो मार्ग कोरेको विचार व्यक्त गरे ।
मुख्यमन्त्रीले प्रदेश, पालिका र जनताबीचको सम्बन्धले दुई मुलुकबीचको सम्बन्ध बलियो बन्दै जाने प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश पनि सुनाएका थिए । उनले गभर्नर लीलाई प्रदेश ५ र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि निमन्त्रणा गरे । उनले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुन गइरहेको बताउँदै छेन्दु–भैरहवाबीच सिधा हवाई उडान सञ्चालनका लागि आवश्यक सहयोग गर्न आग्रह गरे ।
गभर्नर लीले लुम्बिनी भ्रमणको निम्ता दिएकामा धन्यवाद ज्ञापन गर्दै भैरहवा–छेन्दु सिधा उडानका लागि आगामी दिनमा आवश्यक सल्लाह गरेर जान सकिने बताए । यस्तै, मुख्यमन्त्री पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमहानिर्देशक से सङबीच पनि मंगलबार भेटवार्ता भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा मुख्यमन्त्री पोखरेल १० दिने भ्रमणमा सोमबार छेन्दु पुगेका हुन् ।(रासस)
प्रकाशित समय ११:०१ बजे
















