गृहपृष्ठ मर्जरका लागि पार्टनर खोज्न जुटे बैंक
मर्जरका लागि पार्टनर खोज्न जुटे बैंक
वाणिज्य बैंकहरु मर्जरका लागि पार्टनर खोज्न कस्सिएर लागेका छन् । गर्भनर डा. चिरञ्जीवी नेपालले असार १२ गते सबै वाणिज्य बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई बोलाएर १५ दिनभित्र मर्जरका लागि प्रतिबद्धता पेस गर्न निर्देशन दिएपछि बैंकहरु तातेका हुन् ।
गर्भनरको निर्देशनपछिका विभिन्न बैठकमा बैंकका सीईओले मर्जरका लागि तत्काल पार्टनर खोज्न कठिन हुने खालका अभिव्यक्ति दिँदै आए पनि तयारी भने तीव्र पारेका छन् । साना र कमजोरका अवस्थाका बैंकहरु उपयुक्त पार्टनर खोजेर गाभिने तयारीमा छन् भने बलिया बैंकले साना बैंकलाई गाभ्ने विषयमा छलफल थालेका छन् । यसबाट राष्ट्र बैंकले ल्याउन सक्ने मर्जर नीतिका लागि आधार तयार हुँदै गएको छ ।
गैरआवासीय नेपालीको लगानी रहेको सानिमा बैंकले मर्जरका विषयमा छलफल गर्न बिहीबार सञ्चालक समितिको बैठक बोलाएको छ । बैठकले मर्जर तथा एक्विजिसन कमिटी गठन गर्ने बुझिएको छ ।
समस्याग्रस्त बैंक तथा वित्तीय संस्थालाई आफूमा गाभेर सबल बैंक बनेको प्रभु बैंकले पनि मर्जरका लागि पार्टनर खोज्ने विषयमा छलफल गर्न बिहीबार बैठक बोलाएको छ । प्रभु बैंक आफू अरुमा गाभिने पक्षमा भने छैन । अरुलाई आफूमा गाभेर अझ बलियो बन्ने बैंकको तयारी छ । प्रभु बैंकले साधारण सभाबाटै कुनै बैंक तथा वित्तीय संस्थालाई आफूमा गाभ्न सक्ने तर अन्य बैंक तथा वित्तीय संस्थामा आफू विलय नहुने गरी प्रस्ताव पारित गरिसकेको छ । यद्यपि, भोलिको बैठकमा यस विषयमा गहन छलफल हुने जनाइएको छ । प्रभु बैंकमा आठवटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति भइसकेका छन् । नेपाल विकास बैंक, किष्ट बैंक र ग्राण्ड बैंक तथा जेनिथ फाइनान्स, गौरीशंकर विकास बैंक, वैभव फाइनान्स र समृद्धि विकास बैंक प्रभु बैंकमा मिलेका हुन् ।
ग्लोबल आईएमई बैंकले अर्को वाणिज्य बैंकलाई आफूमा गाभ्न संयन्त्र परिचालन गरिसकेको छ । बैंकले मेगा र सेन्चुरी, कुमारीलगायत बैंकसँग छलफल गरिरहेको छ । मौद्रिक नीतिलगत्तै निर्णय लिने गरी बैंकले उपयुक्त कम्पनीको खोजीलाई तीव्रता दिएको हो । ग्लोबल आईएमई बैंक पनि अर्को बैंकमा विलय नहुने बरु अर्को कम्पनीलाई आफूमा गाभ्ने योनजामा छ ।
एनसीसी बैंकले मर्जरका लागि पार्टनर खोज्न चार सदस्यीय उपसमिति गठन गरिसकेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिअघि नै मर्जरका लागि उपयुक्त पार्टनर खोजेर जानकारी गराउन निर्देशन दिएपछि असार १५ गते बसेको बैंक सञ्चालक समिति बैठकले माधव भट्टको संयोजकत्वमा ४ सदस्यीय मर्जरसम्बन्धी अध्ययन उपसमिति गठन गरेको हो । उपसमितिमा चन्द्र बास्तोला, इमानसिंह लामा र कृष्ण श्रेष्ठ सदस्य छन् । चारै जना बैंक सञ्चालक समितिका सदस्य हुन् । मर्जरका लागि उपयुक्त जोडी खोज्न, सम्भाव्यताबारे अध्ययन गर्न र सञ्चालक समितिमा प्रतिवेदन पेस गर्न उपसमितिलाई अख्तियारी दिइएको छ ।
अर्थतन्त्रको आकारअनुसार बैंकको संख्या धेरै भएको निष्कर्षमा पुगेको राष्ट्र बैंकलाई बैंकको संख्या घटाउन वित्तीय नीतिले थप प्रेरित गरेको छ । आर्थिक वर्ष २०७२÷७३ को मौद्रिक नीतिमार्फत बैंकहरुको संख्या कम गर्ने गरी चुक्ता पुँजी चार गुणा बढाएर आठ अर्ब पु-याएको राष्ट्र बैंकले यसपटक भने मर्जरलाई प्राथमिकतामा राखेको छ । ‘राष्ट्र बैंकको प्राथमिकता मर्जर हो,’ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी भन्छन्, ‘अर्थतन्त्रको आकारअनुसार बैंकहरु मर्जरमा जानुको विकल्पै छैन । हामीले अहिले स्वेच्छिक रुपमा मर्जर पार्टनर खोज्न समय दिएका छौं ।’
स्वेच्छिक रुपमा समय दिँदा पनि उपयुक्त पार्टनर खोजी नगरे राष्ट्र बैंकले फोर्स मर्जरका लागि बाध्य पार्ने नीति अख्तियार गर्ने संकेत गरेकाले पनि बैंकहरुले समयमै प्रतिबद्धता पेस गर्ने गरी तयारी थालेका हुन् । बैंकहरुको प्रतिबद्धताकै आधारमा असार २७ गते आउने मौद्रिक नीतिमा मर्जर नीति अघि सार्ने राष्ट्र बैंकको योजना छ । बैंकरहरु पनि राष्ट्र बैंकले मागेअनुसार प्रतिबद्धता जनाउने र मौद्रिक नीति आएपछि मात्रै मर्जरका लागि ठोस रुपमा अघि बढ्ने तयारीमा छन् ।
प्रकाशित समय १७:०६ बजे

















