गृहपृष्ठ प्रधानमन्त्री रोजगार कार्यक्रम : राउटेलाई नाङ्गा डाँडामा वृक्षारोपणको जिम्मा
प्रधानमन्त्री रोजगार कार्यक्रम : राउटेलाई नाङ्गा डाँडामा वृक्षारोपणको जिम्मा
फाइल तस्बिर
कर्णालीका विभिन्न जिल्लामा जीवनयापन गर्दै आएका लोपोन्मुख राउटे समुदायले रोजगारी पाएका छन् । सामुदायिक वन क्षेत्रको काठ काटेर कलात्मक भाँडाकुँडा बनाएर जीविकोपार्जन गर्दै आएका राउटे समुदायका युवा र महिलालाई दैलेखको गुराँस गाउँपालिकाले रोजगारी प्रदान गरेको हो । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत समुदायका युवा र महिला गरी ५२ जनालाई रोजगारी दिइएको छ ।
कार्यक्रमअन्तर्गत रोजगारी पाएको राउटेलाई नाङ्गो डाँडाहरुमा वृक्षारोपण गर्न लगाइएको छ । उनीहरुले वन संरक्षणको कार्य गर्ने गाउँपालिकाले जनाएको छ । उनीहरुले टिमुर, काउलोलगायतका बिरुवा रोप्नाका साथै वन संरक्षणको कार्य गर्नेछन् । त्यसका लागि गाउँपालिकाले विभिन्न औजारहरुसमेत उपलब्ध गराएको छ । राउटेहरु अब रूख काट्ने र मास्ने मात्र नभई वृक्षारोपण गर्नुपर्छ भन्ने भावना जगाउने गाउँपालिकाले लक्ष्य लिएको छ । उनीहरुलाई काम गरेबापत राष्ट्रिय मापदण्डको आधारमा प्रतिदिन प्रतिव्यक्ति ५१७ रुपैयाँका दरले ज्याला उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गुराँस गाउँपालिकाको स्थायी नागरिकका रुपमा रहेका राउटे समुदायका व्यक्तिहरुको नाम बेरोजगारमा सूचीकृत गरेर रोजगारी दिएको अध्यक्ष ओलीले बताए । गाउँपालिकाभित्र हुने विभिन्न विकास निर्माणका काममा राउटे समुदायलाई पनि समावेश गरेर व्यवस्थित ढङ्गबाट परिचालन गरी कार्यक्रमलाई सफल बनाउने उनको दाबी छ ।
राउटे समुदायको क्षेत्रमा काम गर्दै आएको सोसेक दैलेखका अध्यक्ष हीरासिंह थापाले राउटे समुदायलाई सबैले वन विनाश गर्छन् भनेर बुझ्ने गरेकामा त्यसलाई सकारात्मक चेतना दिनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत राउटेहरुले वृक्षारोपण गर्ने कार्यमा लागेको बताए । ‘यसअघि जथाभावी वन विनाश हुन्थ्यो, वातावरणमा नकारात्मक प्रभाव पर्थ्यो, उनीहरुलाई नै वृक्षारोपणको कार्यमा संलग्न लगाएपछि राउटे समुदायलाई पनि वनप्रति अपनत्व जाग्नेछ,’ उनले भने । यो कार्यक्रमले राउटे समुदायमा वन विनाश रोक्नुपर्छ र वन संरक्षणमा जागरण ल्याउन मद्दत पुग्ने उनको भनाइ छ ।
कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र आयआर्जनका कार्यहरु पनि भइरहेको रोजगार संयोजक मोहन पौडेलले बताए । रोजगारी पाएका राउटे युवामात्र नभई महिलाहरुसमेत वृक्षारोपणको कार्यमा खटिएका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिकाको बेतिनी खोला किनारबाट एक महीनाअघि दैलेखको गुराँस गाउँपालिका–५ कान्छीबजारमा उनीहरुले बस्ती सारेका छन् । राउटे समुदायको जनसङ्ख्या १४६ छ । उनीहरु कल्याल, रास्कोटी र राजवंशी ठकुरी रहेका छन् । (रासस)
प्रकाशित समय १७:१२ बजे

















