गृहपृष्ठ कांग्रेसको प्रश्न- राष्ट्रवादी सरकार विषादी परीक्षणमा भारतसँग किन झुकेको ?
कांग्रेसको प्रश्न- राष्ट्रवादी सरकार विषादी परीक्षणमा भारतसँग किन झुकेको ?
भारतबाट आउने तरकारीमा बिषादी परीक्षणको विषयलाई सरकारले नागरिकको स्वास्थ्यमाथिको गम्भीर खेलवाडका रूपमा लिएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ । नागरिकप्रति गम्भीर संवेदनशीलता राखेको भ्रम सम्प्रेषण गर्ने तर स्वास्थ र समग्र जीवनप्रति खेलवाड गर्न किञ्चित नहिच्किने वर्तमान सरकारको प्रवृत्ति जनविरोधी भएको कांग्रेसको आरोप छ ।
नेपाल–भारत सीमाको भन्सार विन्दुमा तरकारी फलफूललगायतमा विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति सरकार स्वयंले सूचना प्रकाशित गरेर सार्वजनिक गरेको थियो । तर, अहिले सरकारले एकाएक कुनै परीक्षणबिना भित्रिन दिने आदेश दिनु खेदजनक भएको भन्दै कांग्रेसले यसबारे पारदर्शी र आधिकारिक धारणा तत्काल सार्वजनिक गर्न सरकारसमक्ष माग गरेको छ ।
काठमाडौँ सहरको प्रदूषणको प्राविधिक मापनको ज्ञानबिना एकातर्फ मास्क नलगाई हिँड्न अपिल गर्ने र अर्कोतर्फ विषादीयुक्त तरकारी परीक्षणबिना अन्धाधुन्ध प्रवेश गर्न दिएर सरकारले दोहोरो चरित्र देखाएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
‘निर्वाचनका बेला अभिव्यक्त महान राष्ट्रवादी नारा किन हद दर्जाको नालायकीपनका साथ विसर्जित हुँदैछ ?’ कांग्रेसको प्रश्न छ । नागरिक जीवनमाथि खेलवाड गर्ने सरकारको गैरजिम्मेवार कदमको भर्त्सना गर्दै कांग्रेस विषादीयुक्त तरकारी–फलफूल प्रवेशमा तत्काल कडा परीक्षण र नियन्त्रणको मार्गमा उभिन सरकारलाई सचेत गराएको छ ।
प्रकाशित समय २०:२२ बजे

















