गृहपृष्ठ नागरिक लगानी कोष र हिमालयन बैंकबीच अनलाइन कर्जा भुक्तानी सम्झौता
नागरिक लगानी कोष र हिमालयन बैंकबीच अनलाइन कर्जा भुक्तानी सम्झौता
नागरिक लगानी कोष कर्मचारी बचत वृद्धि अवकाश कोषको अनलाइन कर्जा भुक्तानीका लागि कोष र हिमालयन बैंकबीच सम्झौता भएको छ । सम्झौतापत्रमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमन नेपाल र हिमालयन बैंकका कार्यकारी सञ्चालन अधिकृत मृगेन्द्र प्रधानले नेपाल क्लियरिङ हाउसका पदाधिकारीको उपस्थितिमा हस्ताक्षर गरेका छन् ।
कर्जा भुक्तानी कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीबाट हुनेछ । कनेक्ट आईपीएस नेपाल क्लियरिङ हाउसको विद्युतीय भुक्तानी प्रणाली हो । सम्झौतापश्चात नागरिक लगानी कोषबाट नागरिक लगानी कोष कर्मचारी वचत वृद्धि अवकाश कोषको कर्जा भुक्तानी अनलाइन माध्यममार्फत कनेक्ट आईपीएस प्रणालीमा आबद्ध ५० वटा बैंकका खाताबाट गर्न सकिनेछ । भुक्तानी संकलन भने हिमालयन बैंकमा हुनेछ ।
यसका लागि ऋणीले कनेक्ट आईपीएस विद्युतीय भुक्तानी प्रणालीमा आफूलाई आबद्ध गराई सदस्य बैंकमा रहेको खाता लिङ्क गराउनुपर्नेछ । ऋणीले नेपाल क्लियरिङ हाउसको वेबसाइटमा गई नागरिक लगानी कोष भुक्तानीलाई छनोट गरी आवश्यक विवरण भरेपछि सोझै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।
कनेक्ट आईपीएस विद्युतीय भुक्तानी प्रणालीको सदस्य रहेको हिमालयन बैंक अनलाइन भुक्तानी प्राणालीलाई विस्तार गर्ने क्रममा विभिन्न संस्थासँग आबद्ध हुँदै आएको छ । नागरिक लगानी कोषको स्थापना सर्वसाधारणलाई विभिन्न लगानीका अवसर प्रदान गर्ने उद्देश्यका साथ भएको हो । नागरिक लगानी कोषले आफ्ना सुविधालाई विस्तार गर्ने क्रममा डिजिटल प्रणालीमार्फत सेवा विस्तार गर्ने भएको छ ।
प्रकाशित समय १७:५५ बजे

















