गृहपृष्ठ प्रधानमन्त्रीकै प्रस्तावमा सदस्य सचिव बनेँ : सिलवाल
प्रधानमन्त्रीकै प्रस्तावमा सदस्य सचिव बनेँ : सिलवाल
‘क्रिकेट संघको विवाद एक हप्तामा समाधान गर्छु’
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले प्रधानमन्त्रीकै प्रस्तावमा आफू सदस्य सचिव बनेको बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोेखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सदस्य सचिव सिलवालले भने, ‘प्रधानमन्त्रीकै प्रस्तावमा सदस्य सचिव बनेको हुँ, तोकिएको मितिमा साग र राष्ट्रिय खेलकुद गर्न नसके पदबाट राजीनामा दिन्छु ।’
आफू जे कामको निम्ति आएको हो, त्यो गर्न नसके पदमा बस्नुको कुनै अर्थ नरहने उनले बताए । ‘मैले हनिमुन पिरियडमै धेरै काम गरेर देखाउनुछ,’ सिलवालले भने, ‘मलाई पूर्णरुपमा खेलकुदमा सहयोग प्राप्त छ, साग सम्पन्न गर्न चुनौतीपूर्ण छ र जिम्मेवार अनि दायित्व छ, यी सबैलाई सन्तुलन मिलाएर अघि बढाउँछु ।’
सिलवालले १३औं दक्षिण एसियाली खेलकुद (साग) र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा हुने स्पष्ट पारे । १३औं साग डिसेम्बर १ देखि ९ तारिखसम्म नेपालमा हुँदै छ । ‘हामीसँग समय धेरै छैन, मलाई दुईवटा चुनौती छन्, एउटा भौतिक संरचना निर्माण, जुन आधारभूत कुरा हो र अर्को खेलाडीको तयारी ।’
मैदानबिना र खेलाडीलाई समयमै प्रशिक्षण गर्न नसके नतिजा आफ्नो पक्षमा नआउने हुँदा त्यसतर्फ गम्भीर भएर लागिसकेको सदस्य सचिव सिलवालले बताए । ‘नियुक्ति भएकै दिनदेखि यसमा लागेको छु, म प्रायः सुतेकै छैन, हरेक दिन हरेक छिन, सबै क्षेत्रमा गएर काम गरेको छु,’ उनले भने, ‘अर्को चुनौती पनि छ, मलाई धेरै रिबन काट्न नपठाइदिनुहोस् भन्ने हो, एक दिन पोखरा बसाइमा पनि समयको सदुपयोग गरेको छु ।’
पैसाका कारणले साग र राष्ट्रिय खेलकुदको भौतिक संरचना निर्माणमा असर नपर्ने उनको भनाइ छ । ‘प्रधानमन्त्रीले मलाई चार महिनाभित्र साग गर्नुपर्छ भन्ने निर्देशन दिनुभएको छ,’ उनले गर्वसाथ भने, ‘त्यसअनुरुप म लागेको छु, प्रधानमन्त्रीले मलाई बजेटको चिन्ता नलिनुहोस्, बजेट निकासा नभए म कहाँ सिधै आउनुहोस् म निकासा गरिदिन्छु भन्नुभएको छ ।’
पोखरा रंगशालालाई प्राकृतिक सौन्दर्य कायम हुने गरी निर्माण गर्नुपर्ने उनले बताए । ‘प्राकृतिक रुपमा दुबो हुने स्थानमा हामीलाई किन विदेशीको जस्तो कृत्रिम मैदान चाहियो ?’ उनले प्रश्न गरे । पोखराको बहुद्देश्यीय कबर्ड हलको फिनिसिङका लागि राखेपसँग आवश्यक बजेट माग गर्न उनले आग्रह गरे ।
सिलवालले सागका २७ खेलमध्ये एकलतर्फका खेलको प्रशिक्षण सुरु भएको जानकारी दिए । असार ३० गते विभिन्न खेलका अध्यक्ष, महासचिव, प्रमुख प्रशिक्षक, मन्त्री र सचिवसहितको उपस्थितिमा छलफल गरी अघि बढ्ने तयारी भएको उनले बताए ।
‘क्रिकेट संघको विवाद एक हप्तामा समाधान’
सदस्य सचिव सिलवालले क्रिकेट संघको विवादलाई एक हप्ताभित्र समाधान गर्ने प्रतिबद्धता जनाए । ‘क्रिकेटको विवाद समाधानका लागि निर्देशन दिइसकेको छु,’ उनले भने, ‘एक हप्ताभित्र विवादको चुरोमा पु-याउँछु, क्रिकेटमा केही मान्छे भाँड्न व्यस्त छन्, कोही मान्छे सहमतिमा आउँदैन भन्दैमा क्रिकेट विगार्ने हक छैन, सार्वजनिक रुपमा यी अपराधी हुन् भनेर घोषणा गर्छु, अब षड्यन्त्र गरेर हुँदैन ।’ आईसीसीको कार्यालयमा आफैं गएर भए पनि क्रिकेटको विवाद अन्त्य गर्ने उनले घोषणा गरे । समयमै न्यान दिन नसक्नुमा अदालतको पनि दोष रहेको सदस्य सचिव सिलवालले बताए ।
प्रकाशित समय १४:५९ बजे

















