गृहपृष्ठ काठमाडौंका ३४२ ठेकेदार कम्पनीमाथि कारबाहीको तयारी
काठमाडौंका ३४२ ठेकेदार कम्पनीमाथि कारबाहीको तयारी
काठमाडौं– निर्माणको जिम्मा लिएर समयमा काम सम्पन्न नगर्ने ३४२ ठेकेदार कम्पनीलाई गृह मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएको छ । काठमाडौंका साना–ठूला आयोजना जिम्मा लिएका ५१० ठेकदारमध्ये समयमै काम सम्पन्न नगर्ने ३४२ ठेकेदार कम्पनीलाई गृहको निर्देशनअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको हो ।
सडक, पुल, भवनलगायतका पूर्वाधार निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीले काममा लापर्बाही गर्ने र वर्षौंसम्म सम्पन्न नगर्नेजस्ता समस्या देखिएपछि गृहले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई ढिलासुस्ती गर्ने ठेकेदारको सूची तयार गर्न निर्देशन दिएको थियो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समयमा आयोजना सम्पन्न नगर्ने कम्पनीसँगको सम्झौता रद्द गर्ने, बैंक खाता बन्द गर्ने, नयाँ ठेक्कामा प्रतिबन्ध लगाउने र जेल हाल्नेसम्मको निर्देशन दिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अधिकांश ठेकेदार कम्पनीले तोकिएको अवधिमा २५ प्रतिशतभन्दा कम काम सम्पन्न गरेको पाइएको छ भने केहीले कामै सुरु गरेका छैनन् । गोरखा एप्रोप्रिएट टेक्नोलोजी फर रिकन्स्ट्रक्सन प्रालिले ठेक्का जिम्मा लिएका उपत्यका सहरी सडक (प्याकेज ५०, ५९, ६०, ६१, ६५, ७१) अन्तर्गत सडक निर्माण/सुधार कार्यको प्रगति शून्य छ । त्यस्तै, रानीवन कन्स्ट्रक्सन, बाइसधारा निर्माण सेवा, जागृत निर्माण सेवा, इभांशु–इशा विल्डर्स, वि.कन. कं प्रालि, लुना निर्माण सेवा, रोस्लिन कन्स्ट्रक्सन प्रालिलगायतले जिम्मा लिएका अधिकांश आयोजनाको प्रगति शून्य छ ।
ठेकेदार कम्पनीहरुले भने कतै स्थानीयको अवरोध र कतै निर्माण सामग्रीको अभावमा समयमा काम सम्पन्न हुन नसकेको बताउँदै आयोजनाको अवधि थप गराउँदै आएका छन् । समयमै काम नसक्ने ठेकेदारमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ सबै ग्रेडका छन् । अधिकांश ठेकेदार कम्पनीले राजनीतिक पहुँचका आडमा निर्माणमा लापर्बाही गर्ने गरेका छन् ।
प्रकाशित समय १३:०५ बजे

















