गृहपृष्ठ सिंगापुरद्वारा नेपालसामु १ सय ९२ रनको विशाल लक्ष्य
सिंगापुरद्वारा नेपालसामु १ सय ९२ रनको विशाल लक्ष्य
आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गतको निर्णायक खेलमा सिंगापुरद्वारा नेपालसामु विशाल चुनौती पेश गरेको छ ।
टस जितेर पहिले ब्याटिङ सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको हो । अभिनाष बोहोराले ४ विकेट लिनुबाहेक नेपालका अन्य बलर महँगो सावित भए । सिंगापुरका लागि टिम डेभिडले ४३ बलमा ७७ रनको पारी खेले । उनले ३ छक्का र ८ चौका प्रहार गरे । रोहन रंगराजनले ३३ बलमा ४९ रन बनाए । मनप्रित सिंहले ४२ रनको योगदान गरे । ओपनर सुरेन्द्रन चन्द्रमोहन ८ रनमा पेभेलियन फर्किए ।
नेपालका लागि अभिनाष बोहराले ४ ओभरमा ३५ रन खर्चिएर ४ विकेट लिए । करण केसीले २ विकेट लिए । कुवेतविरुद्ध राम्रो बलिङ गरेका बसन्त रेग्मी आज महँगो सावित भए । बसन्तले ४ ओभरमा ५४ रन खर्चिए । तीन ओभर बलिङ गरेका सन्दीप लामिछानेले आजको खेलमा विकेट लिन सकेनन् ।
नेपालले आज कुवेतविरुद्ध खेलेका खेलाडीलाई नै मैदान उतारेको छ । आजको विजेता टोलीले अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोटमा स्थान बनाउने छ । सिंगापुरको नेपालको भन्दा १ अंक बढी छ । ३ खेलमा २ मा जित र एक खेलमा अंक बाढेको सिंगापुरको ५ अंक छ । नेपाल तीन खेलमा २ मा जित र १ मा हारका साथ ४ अंकसहित दोस्रो स्थानमा छ ।
प्रकाशित समय ०९:०१ बजे

















