गृहपृष्ठ बुटवलमा राष्ट्रियस्तरको मेयर कप टेबलटेनिस प्रतियोगिता हुने
बुटवलमा राष्ट्रियस्तरको मेयर कप टेबलटेनिस प्रतियोगिता हुने
बुटवल– बुटवलमा प्रथम राष्ट्रिय मेयर कप टेबलटेनिस प्रतियोगिता हुने भएको छ । रूपन्देही जिल्ला टेबल टेनिस संघले आउँदो शुक्रबार र शनिबार बुटवलमा प्रतियोगिता गर्न लागेको हो । संघले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएको छ ।
प्रतियोगितामा दुई इभेन्ट (महिला/पुरुष) रहेको संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिए । ‘प्रतियोगितामा भेट्रान्सदेखि विद्यालय तहसम्मका विद्यार्थीले भाग लिनेछन्,’ उनले भने, ‘प्रतिस्पर्धामा कुनै उमेरको मापदण्ड तोकिएको छैन ।’ पुरूषतर्फको इभेन्टमा ५० जना र महिला इभेन्टमा ३५ जनाको सहभागिता रहनेछ । बुटवल–९, पवित्रनगरको नव दिलिप कर्भड हलमा हुने प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले ५० हजार र दोस्रो हुनेले २० हजार नगद पुरस्कार पाउने खेल संयोजक महेश खनालले जानकारी दिए । त्यस्तै, महिलातर्फ प्रथम हुनेले ३० हजार र द्वितीय हुनेले १५ हजार नगद पुरस्कार पाउनेछन् । खेलकुदको विकास गर्ने उद्देश्यले टेबलटेनिस प्रतियोगिता आयोजना गरिएको संघका उपाध्यक्ष तथा बुटवल–१ का अध्यक्ष महेन्द्र लिगलले जानकारी दिए ।
प्रकाशित समय १७:३२ बजे

















