गृहपृष्ठ आगामी वर्षको प्रदेश बजेटका लागि विवेकशील साझाको ६ बुँदे सुझाव
आगामी वर्षको प्रदेश बजेटका लागि विवेकशील साझाको ६ बुँदे सुझाव
काठमाडौं– प्रदेश ३ ले आर्थिक वर्ष २०७५/७६ को बजेट निर्माण प्रक्रियालाई तीव्रता दिइरहेका बेला विवेकशील साझा पार्टीले प्रदेश सरकारलाई ६ बुँदे सुझाव दिएको छ । प्रदेश ३ का प्रवक्ता एवं संसदीय दलका नेता रमेश पौडेलले ३ नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेललाई बजेटमा समेट्न ६ बुँदे लिखित सुझाव दिएका हुन् ।
विवेकशील साझाले काठमाडौं उपत्यकाबाहिरका १० जिल्लामा आउँदो पाँच वर्षभित्र बूढानीलकण्ठ मोडेलको एक–एक वटा आवासीय विद्यालय खोल्नका लागि सम्भाव्यता अध्ययन, जग्गा प्राप्ति एवं डिजाइनका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गर्न सुझाव दिएको छ । त्यस्तै, त्रिभुवन राजपथ, भैंसे–नौबिसे १२० किलोमिटर सडकलाई रमणीय राजमार्ग घोषणा गरी आवश्यक पूर्वाधार तयार गर्न सात करोड रुपैयाँ बजेट छुट्याउन पार्टीले सुझाव पेस गरेको छ ।
त्यसैगरी, राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा ड्रोन प्रविधिको अध्ययन अघि बढाउन १० करोड रुपैयाँ बजेट विनियोजन गर्न आग्रह गरिएको छ । विवेकशील साझाले उद्यम र उद्यमशील क्षेत्रमा आकर्षण ल्याउन हरेक जिल्लामा उद्यमशीलता प्रवद्र्धन समिति गठन गर्न, ७ करोड, काठमाडौं उपत्यकाका तीन जिल्लामा ६ स्थानमा खुला पार्क निर्माण गर्न १२ करोड र लामटाङ उपत्यका पदमार्गलाई पूर्ण सुरक्षित पदमार्ग घोषण गर्ने तथा भूकम्पले क्षतिग्रस्त पूर्वाधार निर्माण एवं जनशक्ति परिचालन गर्न तीन करोड रुपैयाँ बजेट प्रस्तावसहित सुझाव पेस गरेको छ ।
विवेकशील साझाको ६ बुँदे सुझावमा कुल ४९ करोड बजेट प्रस्ताव गरिएको छ । केन्द्रीय सरकारद्वारा आइतबार सार्वजनिक आगामी वर्षको बजेटमा प्रदेश ३ का लागि १६ अर्ब ५८ करोड ५३ लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारले आउँदो असार १ गते बजेट सार्वजनिक गर्नेछन् ।
प्रकाशित समय १७:१५ बजे

















