गृहपृष्ठ चिनी उद्योगहरुबाट भुक्तानी पाएनन् उखु किसानले
चिनी उद्योगहरुबाट भुक्तानी पाएनन् उखु किसानले
सांकेतिक तस्बिर
पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगहरुलाई अघिल्लो वर्ष उधारोमा उखु दिएबापतको रकम अहिलेसम्म पनि पाउन सकेका छैनन् । चिनी उद्योगहरुले २०७५ सालमा करिब ७० करोड र २०६९ सालमा उखु दिएबापत बाँकी रहेकामध्येको करिब ४ करोड रूपैयाँ अझै लिन बाँकी रहेको जिल्लास्थित उखु उत्पादक कृषक समितिको जिकिर छ ।
पश्चिम नवलपरासीमा लुम्बिनी चिनी उद्योग, वागमती चिनी उद्योग, इन्दिरा सुगर मिल्स र मोहिनी चिनी उद्योग गरी चार ठूला उद्योग रहेकामा मोहिनी चिनी उद्योग सञ्चालनमा नआएका कारण किसानलाई रकम तिर्न बाँकी छैन भने अरू सबै चिनी उद्योगले किसानलाई करोडौं रकम भुक्तानी गर्न बाँकी छ ।
इन्दिरा सुगर मिल्सले २०७० सालमा करिब रु १६ करोड र सोभन्दा अघिल्लो वर्षको करिब ४ करोड गरी २० करोड रूपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको उक्त समितिले जनाएको छ । यसैगरी २०७० सालमा लुम्बिनी चिनी उद्योगको करिब १४ देखि १५ करोड र बागमती चिनी उद्योगले करिब ३५ करोड रूपैयाँ किसानलाई तिर्न बाँकी रहेको जनाइएको छ । समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार केही रकम उद्योगले आफ्ना बिचौलियामार्फत कम मूल्यमा किसानलाई रकम भुक्तानी गरे पनि अधिकांश सबै रकम भुक्तानी दिन बाँकी छ । तत्काल रकम भुक्तानी नभए आन्दोलन गरिने उनी बताउँछन् ।
सरकारले उखुको प्रतिक्विन्टल मूल्य ५३६ रूपैयाँ ५६ पैसा निर्धारण गरेकामा चिनी उद्योगले किसानलाई प्रतिक्विन्टल ४७१ रुपैयाँ ३६ पैसा र सरकारले बाँकी ६५.२८ रूपैयाँ प्रतिक्विन्टलका दरले यस वर्ष अनुदान दिने जनाएको छ । चिनी उद्योगहरुले बक्यौता रकम भुक्तानी सुरु गरिसकेको जनाएका छन् । उद्योगहरुले अहिले प्राथमिकताका आधारमा किसानलाई खरिद पुर्जी संकलन गरी भुक्तानी दिन सुरु गरिसकेको उद्योगहरुको भनाइ छ । आफ्नो उद्योगले अहिलेसम्म करिब २० प्रतिशत रकम भुक्तानी गरिसकेको र अब पनि बाँकी रकम क्रमशः भुक्तानी गरिने योजना रहेको वागमती चिनी उद्योगका सञ्चालक राम थापा बताउँछन् ।
उनका अनुसार उद्योगलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारले उद्योगमैत्री नीति बनाउन जरुरी छ । सुस्ता, प्रतापपुर र सरावल गाउँपालिकाको अधिकांश क्षेत्रमा उखु खेती गरिन्छ । पश्चिम नवलपरासीमा वार्षिक करिब १८ देखि २० लाख क्विन्टल उखु उत्पादन हुन्छ । जिल्लामा झन्डै १० हजार परिवार उखु खेतीमा संलग्न छन् । विगत वर्षदेखि जिल्लामा ७ हजार ५ सय हेक्टरमा उखु खेती हुँदै आएको छ । (रासस)
प्रकाशित समय १४:४९ बजे
















