गृहपृष्ठ विभिन्न पार्टी परित्याग गरी साढे ५३ हजार जना कांग्रेसमा प्रवेश
विभिन्न पार्टी परित्याग गरी साढे ५३ हजार जना कांग्रेसमा प्रवेश
नेपाली काँग्रेसले असोज ७ गते सम्पन्न गरेको दोस्रो चरणको हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियानको उपलब्धिहरु सार्वजनिक गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रवक्ता विश्व प्रकाश शर्माले अभियानबारे सञ्चारकर्मीहरुलाई जानकारी गराएका हुन् ।
सो क्रममा उनले अभियान १५ दिनसम्म उत्साहपूर्वक चलेको, पार्टीका अन्तरिम संरचनाहरु बनेकाले प्रथम चरणको तुलनामा सहज र व्यवस्थित ढंगले कार्यक्रमहरु गर्न सकिएको जानकारी दिए । ३ सय ३० प्रदेशसभा क्षेत्रमा केन्द्रीय प्रतिनिधिको सक्रियता, जिल्ला कार्य समितिको समन्वय, प्रदेशसभा क्षेत्रीय कार्यसमितिको नेतृत्व र संघीय क्षेत्र, गाउँ–नगर–वडा–टोल तहसम्मको वृहत्तर सहभागिताले पार्टी पंक्तिमा थप जागरण अभिवृद्धि भएको प्रवक्ता शर्माले उल्लेख गरे ।
उनले भने, ‘देशभरिबाट हजारौँको सल्लाह, सुझाव, आलोचना र महत्वपूर्ण विचार पार्टीलाई प्राप्त भएका छन् । आगामी दिनमा थप परिस्कृत ढंगले अघि बढ्न प्राप्त सबै भावनाले पार्टीलाई ऊर्जा प्रदान गरेको छ र पार्टीले ती सबै भावनालाई सम्पत्तिका रुपमा ग्रहण गरेको छ ।’
अभियानका क्रममा प्रदेश सभा क्षेत्र र जिल्लाहरुबाट हालसम्म प्राप्त तथ्याङ्क अनुसार नेकपा लगायतका पार्टी परित्याग गरी ५३ हजार ४ सय ७९ जनाले नेपाली कांग्रेसको सदस्यता लिएको प्रवक्ता शर्माले जानकारी दिए । प्रथम चरणको ३१ हजार ६ सय ४२ जना नेपाली काँग्रेसमा प्रवेश गरेको बताइएको थियो । काँग्रेसले भदौ २४ गते जननायक वीपी कोइरालाको जन्म जयन्तीका दिन सो अभियान सुरु गरेको थियो । पन्ध्र दिनको अवधिमा वडा, गाउँ–नगर, क्षेत्र र जिल्ला तह समेतमा गरी ८ हजारभन्दा बढी कार्यक्रमहरु सम्पन्न भएका थिए ।
नेपाली काँग्रेसको पक्षमा रुपान्तरित हुँदै गएको जनमत प्रतिको आक्रोशका क्रममा बाँके र तनहुँमा भएको घटनालाई ‘नवमण्डले चरित्र’को संज्ञा दिइएको छ । ‘बाँकेमा काँग्रेस जिल्ला सभापति किरण कोइराला माथिको आक्रमण र तनहुँमा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल माथिको आक्रमण यही चरित्रको स्वरुप हो,’ प्रवक्ता शर्माले भनेका छन् ।
सोही अवसरमा आगामी असोज २६ गते आइतबार कोजाग्रत पूर्णिमाका दिन अपरान्ह १ बजेदेखि ५ बजेसम्म केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसले चियापान कार्यक्रम आयोजना गर्ने जानकारी गराइएको छ । विगतमा केन्द्रीय रुपमा मात्रै आयोजना गरिने दशै, तिहार र नेपाल सम्वतका अवसरमा कोजाग्रत पूर्णिमाको दिनको चियापन कार्यक्रम गत वर्षबाट एकै दिन देशव्यापी आयोजना गरिएझैं यसपटक पनि काठमाडौँ उपत्यकाका हकमा केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको र उपत्यका बाहिर ७४ जिल्लामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरुको आयोजनामा सम्पन्न हुने तय भएको जनाइएको छ ।
प्रकाशित समय १६:५६ बजे
















