गृहपृष्ठ लिगलिगे दौड जिते चौथो पटक अनिषले
लिगलिगे दौड जिते चौथो पटक अनिषले
दसौं लिगलिगे दौड प्रतियोगिता ‘२०७६’ को उपाधि जित्दै पर्वतका अनिष थापामगरले श्रीपेच पहिरिएका छन् । गोरखाको पालुङटारमा आज भएको प्रतियोगितामा निर्धारित १३.८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेण्डमा पूरा गर्दै थापामगरले चौथो पटक यो उपाधि जितेका हुन् । भारतीय सेनामा कार्यरत थापामगर उपाधि जितेसँगै एक दिनका लागि लिगलिगे राजासमेत घोषित भएका हुन् ।
प्रथम थापामगरलाई एक वर्षका लागि पालुङटार नगरपालिकाको सद्भाव दूत घोषणा गरिएको पालुङटार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेलले जानकारी दिए ।
प्रतियोगितामा दोस्रो भएका नेपाली सेनाका खगेन्द्रबहादुरले निर्धारित दूरी १ घण्टा १ मिनेट ८ सेकेण्डमा पूरा गरेका थिए । लमजुङका नेपाली सेनाका राम्जी बस्नेतले निर्धारित दूरी १ घण्टा १ मिनेट २४ सेकेण्डमा पूरा गर्दै तेस्रो भए । चौथो भएका गोरखा हर्मीका सन्दीप ढकालले निर्धारित दूरी १ घण्टा २ मिनेट ३४ सेकेण्डमा पूरा गरेका थिए ।
गोरखा र लमजुङको सिमानामा पर्ने मर्स्याङ्दी नदीको दोभानमा रहेको चेपेघाटबाट सुरु भएको दौड प्रतियोगिता ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्यांकी, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीमा पुगेर टुंगिएको थियो । प्रथम थापामगरलाई नगद ६० हजार १ सय रुपैयाँसहित श्रीपेच पगरी, ट्रफी र मेडल प्रदान गरिएको आयोजक लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्ण रानाले जानकारी दिए ।
दोस्रो भएका भाटलाई नगद ३५ हजार १ सय रुपैयाँ, तेस्रो भएका बस्नेतलाई नगद २५ हजार १ सय रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र, प्रदान गरिएको अध्यक्ष पूर्ण रानाले जानकारी दिए । उनले प्रतियोगितामा १० औँ स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई पुरस्कृत गरिएको जानकारी दिए । नेपाली सेना रणसिंह दल गण गोरखा, पालुङटार नगरपालिका र लिगलिगकोट विकास अभियानको संयुक्त आयोजनामा प्रतियोगिताको गरिएको हो ।
यस वर्ष प्रतियोगितामा लाग्ने सबै पुरस्कार रकम भने नेपाली सेनाले उपलब्ध गराएको रणसिंह दल गण गोरखाका प्रमुख सेनानी उज्वल केसीले जानकारी दिए । उनले भने, ‘ देशभरका कोट तथा ऐतिहासिक स्थानको प्रचारप्रचारका लागि नेपाली सेनाले काम सुरु गरिसकेको छ, त्यसैको तयारीस्वरूप लिगलिगे दौड प्रतियोगितामा पनि हाम्रो सहभागिता हो ।’
नेपाल एकीकरण अघिका बाइसे/चौबीसे राज्यमध्ये लिगलिग कोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो । पहिले राजा हुने परम्पराबाट दौड प्रतियोगिता सुरु भएको भए पनि अहिले लिगलिगको आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्र्याउन प्रतियोगिताको आयोजना गरिँदै आएको उनले बताए ।
विसं १६०४ मा सुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः २०६७ बाट निरन्तरता दिन थालिएको अध्यक्ष रानाले जानकारी दिए । राजा द्रव्य शाहले दौडमा विजय हासिल गरी राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ । (रासस)
प्रकाशित समय १३:५४ बजे
















