गृहपृष्ठ सुन तस्करी रोक्न गृहमन्त्रीले मागे चीनसँग सहयोग
सुन तस्करी रोक्न गृहमन्त्रीले मागे चीनसँग सहयोग
काठमाडौं- सुन तस्करी र डलरको अवैध कारोबार फस्टाइरहेका बेला नियन्त्रणका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले चीनसँग सहयोग मागेका छन् । ‘चिनियाँ नाकाबाट सुन तस्करी र डलरको अवैध कारोबार हुने गरेको छ,’ नेपालका लागि चिनियाँ राजदूत यु होङसँगको भेटका क्रममा गृहमन्त्री थापाले भने, ‘नियन्त्रणका लागि चिनियाँ पक्षको सहयोग आवश्यक छ ।’
राजदूत होङले आफ्नो देशको सम्बन्धित निकायमा जानकारी गराउने जवाफ दिएकी छन् । गृहमन्त्री थापाले नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको भन्दै नेपाली भूमिबाट कुनै किसिमका चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरे । भेटमा राजदूत होङले गृहमन्त्रीको रुपमा कार्यभार सम्हालेकोमा चीनका सामाजिक सुरक्षामन्त्रीले पठाएको बधाई तथा सफल कार्यकालको लिखित शुभकामना सन्देश गृहमन्त्री थापालाई हस्तान्तरण गरेकी थिइन् । होङले नेपाली सुरक्षा निकायलाई चीन सरकारले प्रदान गर्ने सहयोग, तालिम र उपकरण आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रकाशित समय १६:१८ बजे

















