गृहपृष्ठ डुइङ बिजनेस इन्डेक्समा नेपालको उच्च सुधार, व्यावसायिक वातावरण बन्दै
डुइङ बिजनेस इन्डेक्समा नेपालको उच्च सुधार, व्यावसायिक वातावरण बन्दै
डुइङ बिजनेस इन्डेक्समा नेपाल गत वर्षभन्दा १६ अंकले सुधार गर्दै ९४औं स्थानमा उक्लिकएको छ । विश्व बैंकले बिहीबार सार्वजनिक गरेको डुइङ बिजनेस इन्डेक्सअनुसार नेपाल गत वर्षको ११०औं स्थानबाट ९४औं स्थानमा आइपुगेको हो । विश्व बैंकले सन् २०१८ को मेदेखि सन् २०१९ मे महिनासम्मको अध्ययनका आधारमा यो इन्डेक्स सार्वजनिक गरेको जनाएको छ ।
नेपालले निर्माणअघिका प्रक्रियालाई सहज बनाएको, भवन निर्माण इजाजतका शुल्क घटाएको तथा अनलाइनमार्फत प्रक्रियाहरुलाई सुधार गरेको विश्व बैंकले जनाएको छ । विश्व बैंकका अनुसार नेपालले वीरगन्जमा भारतसँग एकीकृत भन्सार चेक पोस्ट सुरु गरेका कारण निर्यात-आयात व्यापारमा लाग्ने समय र लागतसमेत न्यून हुन पुगेको छ । त्यस्तै, नेपालले व्यापार सम्झौताहरु सहज बनाएको तथा कर्जा प्रणाली र त्यसबारे बृहत सूचना दिने संयन्त्र र पहुँच पनि नेपालले स्थापित गरेको पनि अध्ययनमा उल्लेख छ ।
विश्व बैंकका अनुसार चीन, भारत, पाकिस्तान, साउदी अरब, जोर्डन, टोगो, बहराइन, ताजकिस्तान, कुवेत, नाइजेरियालगायतका देश सर्वाधिक सुधार गर्ने २० देशको सूचीमा परेका छन् । भारत १४ अंक सुधार गर्दै इन्डेक्सको ६३औं स्थानमा उक्लिएको छ ।
दक्षिण एसियाली देशमध्ये भारत सबैभन्दा अग्र स्थानमा छ भने दोस्रो स्थानमा भुटान छ । नेपाल तेस्रो स्थानमा छ । चौथो स्थानमा श्रीलंका छ । दक्षिण एसियाको इन्डेक्समा सबैभन्दा तल १७३औं स्थानमा अफगानिस्तान छ ।
सूचीको पहिलो नम्बर न्युजिल्यान्ड, दोस्रोमा सिंगापुर, तेस्रोमा हङकङ, चौथोमा डेनमार्क, पाँचौंमा दक्षिण कोरिया, छैटौंमा अमेरिका, सातौंमा जर्जिया, आठौंमा बेलायत, नवौंमा नर्वे र दसौंमा स्विडेन छन् । सूचीकाको पुछारमा १९०औं नम्बरमा सोमालिया छ ।
डुइङ बिजनेस इन्डेक्स विश्वका १९० देशको समग्र अध्ययनमा आधारित रहेको विश्व बैंकले जनाएको छ । यसमा प्राप्त अंकका आधारमा कुनै पनि देशको अर्थतन्त्रमा व्यावसायिक वातावरण मापन गरिन्छ ।
प्रकाशित समय १२:१९ बजे

















