गृहपृष्ठ विराटनगरमा तरकारीको मूल्य चार गुणा बढ्यो

विराटनगरमा तरकारीको मूल्य चार गुणा बढ्यो

उपभोक्ता भन्छन्, 'कृत्रिम अभाव'

तिहार तथा छठ पर्व सुरु भएसँगै प्रदेश १ को राजधानी विराटनगरमा तरकारीको मूल्य आकाशिएको छ । मूल्य अत्यधिक वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् ।

आन्तरिक उत्पादनमा आएको गिरावट र आयातित तरकारीमा व्यापारीहरुले विभिन्न बहानाबाजी गरेका कारण मूल्यमा बढेको उपभोक्ताहरुको आरोप छ । हाल विराटनगरमा सबैभन्दा बढी पहाडी क्षेत्रबाट तरकारी आयात हुने गरेको छ ।

पहाडी जिल्लाबाट तरकारी आयात गर्दा ढुवानी खर्च बढी लागेका कारण र भारतबाट आयात गर्दा सरकारले विषादी परिक्षण गर्न थालेपछि तरकारीको मूल्य बढेको व्यापारीहरु बताउँछन् । ‘ढुवानी लागतका कारण पहाडबाट पर्याप्त तरकारी आउन सकेको छैन । विषादी परीक्षणका कारण भारतबाट पनि कम मात्रामा तरकारी भित्रिरहेको छ । यही कारणले मूल्य बढेको हो,’ विराटनगर–९ स्थित गुद्री बजारका थोक व्यापारी सुनील सिंहले भने ।

तरकारी ल्याइने जिल्लाहरु तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर लगायतका पहाडी क्षेत्रको सडक बिग्रिएका कारणले पनि तरकारी ढुवानीमा समस्या हुने गरेको व्यापारीहरुको भनाइ छ ।

‘टाढाबाट तरकारी आयात गर्दा स्वभाविक रुपमा ढुवानी महँगो पर्छ । अझ सडकको समस्याले लागत बढेको छ । त्यसैले केही हदसम्म मूल्य बढ्नु स्वभाविक हो,’ व्यापारी सिंहले भने ।

विराटनगरमा १० दिनअघि प्रतिकिलो ५० रुपैयाँ रहेको आलुको मूल्य अहिले ८० रुपैयाँ पुगेको छ । त्यस्तै ३० रुपैयाँ प्रतिकिलो पर्ने टमाटर ८० रुपैयाँ, ४० रुपैयाँ प्रतिकिलो पर्नेे भिन्डी ८० रुपैयाँ, १० रुपैयाँ प्रतिकिलो पर्नेे घिरौला ५० रुपैयाँ, ४० रुपैयाँ प्रतिकिलो पाइने काँक्राको मूल्य अहिले ७० रुपैयाँ पुगेको छ । यस्तै ३० रुपैयाँ पर्ने प्याज अहिले ८० रुपैयाँ प्रतिकिलो पुगेको छ ।

मूल्य आकाशिएपछि सर्वसाधारण भने महँगोमा तरकारी किन्न बाध्य छन् । विराटनगर–७ की प्रिती शाहले किन्नै नसकिने गरी तरकारीको मूल्य बढेको बताइन् । ‘हुने खानेलाई त ठिकै छ । तर हामीजस्ता निम्न आय भएका परिवारलाई एकदमै समस्या भएको छ,’ उनले भनिन्, ‘त्यसैले सरकारले मुल्यवृद्धि नियन्त्रण गर्नुपर्छ ।’

विराटनगरको गुद्री बजारमा मात्र दैनिक ४० देखि ५० टन आलु र प्याजबाहेक हरियो तरकारी विक्री हुने गरेको गुद्री बजार व्यवस्थापन समितिले जनाएको छ । तरकारी बजार अनुगमन गर्ने निकाय प्रभावकारी नहुँदा महँगीको मार खेप्नु परेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

व्यापारीहरुको मिलेमतोमा कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरिएको उपभोक्ताहरुको गुनासो छ । सरोकारवाला निकायले बजार अनुगमन गरी कालोबजारी गर्नेहरुलाई कारबाही गर्नुपर्ने उपभोक्ता अधिकारकर्मीहरुले माग गरेका छन् ।

उपभोक्ता अधिकारकर्मी उत्तम ढुंगेलले व्यापारीहरुले कृत्रिम अभाव सिर्जना गरी मनोमानी ढंगले तरकारीको मूल्य बढाएको आरोप लगाए । उनले भने, ‘तरकारी टाढाबाट ल्याउनु परेकाले मूल्य वृद्धि गरेको भन्नु सरासर गलत हो । तिहार र छठ पर्व आउन लागेको छ । यही मौकामा बढी पैसा कमाउने दाउमा व्यापारीहरुले कृत्रिम अभाव सिर्जना गरेर चर्को मूल्य वृद्धि गरेका हुन् ।’

प्रकाशित समय १२:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु