गृहपृष्ठ पुल शिलान्यास
पुल शिलान्यास
पोखरा महानगरपालिका- १९ को भोटीखोलामा मोटरेबल पुल निर्माण हुने भएको छ । साविक लामाचौर र पुरनचौर गाविसको सिमानामा पर्ने भोटीखोलामा निर्माण हुने पुलको बिहीबार शिलान्यास गरिएको छ ।
लामाचौर–माछापुच्छ्रे ग्रामीण सडकअन्तर्गत पर्ने उक्त पुलको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले शिलान्यास गरे । शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख जिसीले जनताले तिरेको करबाट नै महानगरले पुल बनाउन लागेको बताए । ‘महानगरले ढाड सक्नेगरी कर उठायो भन्ने गुनासो सुनिन्छ,’ प्रमुख जिसीले भने, ‘जनताले तिरेको करबाट संकलित रकमलाई महानगरले विकास निर्माण लगायतमा खर्च गरेको छ ।’ कर सही ढंगले सदुपयोग भएको छ कि छैन भनेर खबरदारी गर्ने दायित्व पनि नगरवासीको भएको उनले बताए ।
गुणस्तरीय कामका लागि कुनै सम्झौता नगरिने बताउँदै प्रमुख जिसीले पुल निर्माणको निगरानी गर्न स्थानीय जनतालाई आग्रह गरे । पुल निर्माणलाई त्यहाँका स्थानीयवासीको आर्थिक उपार्जनसँग जोडेर हेर्नुपर्ने समेत प्रमुख जिसीको भनाइ छ । महानगरपालिकाले यस वर्ष ७ वटा पुल निर्माणको कामलाई अगाडि बढाउने उनले जानकारी दिए ।
महानगरका इन्जिनियर ध्रुव भट्टराईले २५ मिटर लम्बाई र साढे सात मिटर चौडाइको आरसीसी पुल निर्माण हुने जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिकाले उक्त पुलको लागत २ करोड ९२ लाख ९७ हजार अनुमान गरेकामा श्री गीता कन्स्ट्रक्सन स्याङ्जाले २ करोड ३८ लाख ५५ हजारमा काम सक्नेगरी ठेक्का सम्झौता गरेको छ ।
निर्माण कम्पनीसँग गत भदौ ५ गते सम्झैता गरिएको छ भने २०७७ मंसिरमा सम्पन्न गर्ने समयसीमा तोकिएको छ । निर्माण कम्पनीका राजेश मल्लले तोकिएको समयभन्दा अगाडि नै पुल निर्माण गरिसक्ने प्रतिवद्धता जनाए । पुल निर्माणपछि साविक लामाचौर, पुरनचौर, माछापुच्छे, सार्दीखोला, करुवा लगायतका क्षेत्रका बासिन्दा लाभान्वित हुनेछन् ।
प्रकाशित समय १६:४१ बजे
















